काठमाडौँ
००:००:००
१ माघ २०८२, बिहीबार

शान्ति सम्झौताका १९ वर्ष

‘आर्थिक समानता तथा समृद्धिका मुद्दा पूरा नभएसम्म जनयुद्ध र शान्ति सम्झौताको मर्म तथा भावना अधुरै रहने’

५ मंसिर २०८२
शान्ति सम्झौतामा हस्ताक्षर गर्दै गिरिजाप्रसाद कोइराला‚ पुष्पकमल दाहाललगायत। फाइल तस्बिर
अ+
अ-

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षतासहितको लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणमा विस्तृत शान्ति सम्झौताले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्।

नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी) बीच विस्तृत शान्तिसम्झौता भएको १९ वर्ष पुगेको अवसरमा आज (शुक्रबार) शुभकामना दिँदै दाहालले सामाजिक न्याय, सुशासन, आर्थिक समानता तथा समृद्धिका मुद्दा पूरा नभएसम्म जनयुद्ध र शान्ति सम्झौताको मर्म तथा भावना अधुरै रहने बताए।

शान्ति सम्झौताका प्रमुख हस्ताक्षरकर्तामध्ये एक तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाप्रति विशेष स्मरण र सम्मान व्यक्त गर्दै संयोजक दाहालले जीवित हस्ताक्षरकर्ताका रुपमा यस प्रक्रियामा योगदान पुर्‍याउनु हुने सबैप्रति सम्मान व्यक्त गरे। “नयाँ एकीकरण र ध्रुवीकरणवाट बनेको नेपाली कम्युनिस्ट पार्टीले शान्ति सम्झौतामा आफ्नो राजनीतिक स्वामित्व र जिम्मेवारी बहन गर्दै बाँकी कार्यभार पूरा गर्न कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गर्दछु‚’ दाहालद्वारा जारी सन्देशमा छ।

शान्ति सम्झौताको मर्म र ‘जेन-जी’ युवाका आवाज एउटै छन्‚ त्यसलाई पूरा गरौं : संयोजक दाहाल

शान्ति सम्झौताको मूल मर्म समानतामूलक, लोककल्याणकारी र भ्रष्टाचारमुक्त समावेशी गणतन्त्रको स्थापना गर्नु रहेको उल्लेख गर्दै उनले अहिले ‘जेन-जी’ युवाले समेत यही मूल्य, भावना र ‘स्पिरिट’का साथ आवाज उठाइरहेको बताए। “शान्ति सम्झौताको आत्माअनुरूप शासकीय प्रणाली, शासन सञ्चालन तथा संविधानको आवश्यक परिमार्जन गर्न सके मात्र युवाको आकांक्षा सम्बोधन हुन सक्छ भन्ने दृढ विश्वास छ‚” उनले भनेका छन्।