फलोअप
अख्तियारको चिठी आएलगत्तै जग्गा रोक्का राख्यौँ : मालपोत काभ्रे प्रमुख शाही
काठमाडौँ। मालपोत कार्यालय काभ्रेले पनौती नगरपालिका-९ खोपासीस्थित सीजी होल्डिङ्स कम्पनीको जग्गा रोक्का राखेको छ। सीजी होल्डिङ्सको ११५ रोपनी १० आना २ पैसा जग्गा शुक्रबार रोक्का राखिएको मालपोत प्रमुख रामबहादुर शाहीले बताए।
“गैरकानुनी तरिकाले किनबेच भएको देखिएको छ, यो जग्गा रोक्का राखेर अन्य कारोबार हुनबाट रोकेका छौँ,” शाहीले नेपालन्युजलाई भने।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार मालपोत काभ्रेलाई जग्गा रोक्का राख्न पत्र पठाएको थियो। शाहीका अनुसार पत्र शुक्रबार प्राप्त भएलगत्तै जग्गा रोक्का गरिएको हो। “पत्र आजै प्राप्त भएको थियो, तुरुन्तै रोक्का गरेका छौँ,” शाहीले भने।
त्रिशक्ति सिमेन्टले बिक्री गरेको हदबन्दीभन्दा बढीको जग्गा प्रकरणको अनुसन्धान अख्तियारले गरिरहेको छ। अख्तियारका अनुसार त्रिशक्ति सिमेन्ट उद्योग प्रालिले उद्योगपति विनोद चौधरीलाई हदबन्दीभन्दा बढीको जग्गा बिक्री गरेको देखिएको छ। “यस प्रकरणमा जो-जो संलग्न देखिएका छन्, बयान लिने तयारी छ,” अख्तियारका एक उच्च अधिकारीले भने, “खरिदमा संलग्न मुख्य व्यक्तिको बयान लिँदैछौँ।”
त्रिशक्ति सिमेन्टले २०४७ देखि २०४९ सम्म पनौती नगरपालिका-९ खोपासी र ११ को बल्थलीमा २१४ रोपनी जग्गा खरिद गरेको थियो। त्यसमध्ये त्रिशक्तिले खोपासीको ११५ रोपनी जग्गा उद्योगपति चौधरीलाई बेचेको थियो।
त्रिशक्तिको जग्गा फुकुवा गरी बेच्ने निर्णय २१ साउन २०५५ मा मन्त्रिपरिषद्ले गरेको थियो। उक्त मन्त्रिपरिषद्मा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र भूमिसुधारमन्त्री चिरञ्जीवी वाग्ले थिए।
दुई वर्षभित्र अन्यत्र जग्गा खरिद गरी बिक्री गर्ने सर्तमा मन्त्रिपरिषद्ले खोपासीको जग्गा बिक्री गर्न अनुमति दिएको थियो। तर, त्रिशक्तिले दुई वर्षभित्र अन्यत्र जग्गा किनेन। बरु २३ मंसिर २०५७ मा चौधरीको एकल नाममा पास गर्यो। त्यसबेला भूमिसुधार राज्यमन्त्री सिद्धराज ओझा थिए।
उक्त जग्गा पास भएकै दिन चौधरीले आफू, भाइ अरुण चौधरी र चाँदबाग स्कुलको नाममा पास गरेका थिए। चौधरीले किनेको जग्गामा अहिले सीजी होल्डिङ्सले हाउजिङ बनाइरहेको छ। उक्त जग्गामा २०७८ सालदेखि सीजी होल्डिङ्सले हाउजिङ बनाउन थालेको थियो। त्यहाँ २२० वटा घर बनाउने योजना छ। अहिले उक्त जग्गामा ९१ वटा घर बनिसकेका छन्। ३१ वटा घर बुकिङ भइसकेका छन्।
अख्तियारका ती अधिकारीका अनुसार गत जेठ महिनामा पतञ्जलि योगपीठकै शैलीमा त्रिशक्तिले जग्गा बेचेको भन्दै उजुरी परेको थियो। पतञ्जलि प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको थियो।
निवेदन प्रारम्भिक रूपमा अध्ययनपछि अहिले उक्त प्रकरणलाई विस्तृत अनुसन्धानमा लगिएको अख्तियारले जनाएको छ। उजुरी परेपछि अख्तियारले जग्गा किनबेच हुँदाका कागजात माग्दै मालपोत कार्यालय काभ्रेलाई चिठी लेखेको थियो। “अख्तियारले फाइल मागेपछि हामीले १२ असोज २०८२ मा पठाएका थियौँ, श्रेष्तामा उद्योगको जग्गा सिधै व्यक्तिलाई बेचेको देखिएको छ,” मालपोत प्रमुख शाही भन्छन्, “हदबन्दीभन्दा बढीको जग्गा व्यक्तिले किन्न पाउँदैनन्, उद्योगको नाममा किनेको जग्गा व्यक्तिलाई त्यसरी बेच्न पनि पाइँदैन।”
भूमिसम्बन्धी ऐन २०२१ को आठौँ संशोधन २०७६ अनुसार उद्योगलगायतका सीमित प्रयोजनका लागि कम्पनीले स्वीकृति लिएर हदबन्दीभन्दा बढीको जग्गा राख्न पाउँछन्। हदबन्दीभन्दा बढीको जग्गा प्राप्त गरेका उद्योग, प्रतिष्ठान, कम्पनी, आयोजना, शिक्षण संस्था वा अन्य कुनै पनि संस्थाले जुन प्रयोजनका लागि प्राप्त गरेको हो त्यसैका लागि मात्रै प्रयोग गर्न पाउँछन्। त्यस्तो जग्गा सम्बन्धित उद्योग, प्रतिष्ठान, कम्पनी, आयोजना, शिक्षण संस्था वा कुनै पनि संस्थाले कसैलाई पनि बिक्री–वितरण, कुनै प्रकारले हस्तान्तरण गर्न वा सट्टापट्टा गर्न नपाइने ऐनमा उल्लेख छ। गैरकानुनी तरिकाले किनबेच भए जग्गा सरकारले जफत गर्ने उक्त ऐनमा प्रावधान छ।
उक्त जग्गा प्रतिरोपनी आठ लाख रुपैयाँका दरले बेचेको प्रारम्भिक अनुसन्धानमा खुलेको ती अधिकारीले बताए। किनबेचमा संलग्न सबै पक्षमाथि अख्तियारले अनुसन्धान गरिरहेको उनले बताए। “निर्णयकर्ताको मृत्यु भइसकेको अवस्थामा रहेमा उनीहरूका परिवारका सदस्यबाट समेत असुल उपर गर्न सकिने प्रावधान रहेको हुँदा निर्णयकर्ता नभएको अवस्थाले कुनै असर पार्ने देखिँदैन,” ती अधिकारीले भने।
त्रिशक्तिको बल्थलीमा रहेको ९८ रोपनी जग्गा भने अहिलेसम्म बिक्री गरिएको छैन। उक्त जग्गा २०५७ र २०६६ सालमा फुकुवा गर्ने मन्त्रीस्तरीय निर्णय थियो। २०६७ का भूमिसुधार राज्यमन्त्री ओझा र २०६६ का भूमिसुधारमन्त्री डम्बर श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गरी उक्त जग्गासमेत फुकुवा गरी बेच्ने निर्णय गरेका थिए।
तर, मालपोतले ती निर्णय प्रक्रियामा नलगेका कारण बल्थलीको जग्गा बिक्री भइसकेको छैन। रोक्का रहेको उक्त जग्गासमेत त्रिशक्तिले गैरकानुनी रूपमा लिजमा लगाएको छ। त्रिशक्तिले उक्त जग्गा कमलादेवी खनिज उद्योग प्रालिलाई २०७५ सालमा २० वर्ष लिजमा दिएको थियो। कमलादेवीले अहिले उक्त खानीबाट चुनढुंगा उत्खनन् गरिरहेको छ।
त्रिशक्ति सिमेन्टले उद्योगपति विनोद चौधरीलाई हदबन्दीभन्दा बढीको जग्गा बेचेको बारे नेपालन्युजले २५ कात्तिकमा एक्सक्लुसिभ समाचार प्रकाशन गरेको थियो। हेर्नुहोस् सम्बन्धित समाचार :
EXCLUSIVE: काभ्रेमा त्रिशक्ति सिमेन्ट र सीजी होल्डिङ्स जोडिएको अर्को पतञ्जलि प्रकरण