काठमाडौँ
००:००:००
२९ मंसिर २०८२, सोमबार

५ मंसिर २०८२
तस्बिरहरू : सफलप्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। बेलायतबाट फर्काइएको तोरण कुमारी घरमा पुन:स्थापना गरिएको छ।

वसन्तपुरमा रहेको जीवितदेवी कुमारीको बासस्थान (कुमारी घर) बाट चोरी भएकामध्ये एक तोरण बेलायतको बाराकाट ग्यालरीमा फेला परेर फिर्ता ल्याई राष्ट्रिय संग्रहालयमा राखिएको थियो।

२०५६ सालतिर चोरिएको तोरण बेलायतको बाराकाट संग्रहालयमा भेटाइएपछि फिर्ता गरेर राष्ट्रिय संग्रहालय छाउनीमा राखिएको थियो।

कुमारी घरका संरक्षक गौतम शाक्यका अनुसार ०५६/५७ मा बेलुकाको समय पारेर ट्याक्सीमा राखेर तोरण चोरिएका हुन्। “तोरण निकाल्दा निकाल्दै देखेर प्रश्न गर्नेलाई चोरले, मर्मत गर्न लगेको भनेर जवाफ दिएछन्‚” उनले भने‚ “३ महिनाभित्र तीनवटै तोरण हराएका हुन्। यसरी चोरी भएको विषय पुरातत्त्व विभागमा जानकारी दिएको र नेपाल प्रहरीमा खोजी गर्न निवेदन दिइएको थियो। तोरण हराएपछि बुच्चै भएका ढोकामा करिब ३ वर्षपछि प्रतिकृति तोरण बनाउन लगाएर स्थापना गरिएका हुन्। ती तोरण बनाउँदा प्रतिगोटा करिब ८० हजार रुपैयाँ खर्च भएको थियो।’

कुमारी बहालको तोरण र मञ्जुश्री नकःमहाविहारका दाताको मूर्ति ४ चैत २०७८ मा बेलायतस्थित नेपाली दूतावासमा हस्तान्तरण गरिएको थियो। त्यसपछि नेपाल ल्याएर छाउनी संग्रहालयमा बुझाइएको थियो।

यसरी हराएका चोरिएका कलाकृति तथा मूर्तिहरु फिर्ता गराउन सन् १९७० को युनेस्को महासन्धिको व्यवस्था प्रयोग गर्ने गरिएको छ। यसले सांस्कृतिक सम्पत्तिको अवैध आयात, निकासी तथा स्वामित्व हस्तान्तरणलाई निषेध र रोकथाम गरेको छ। यो महासन्धिलाई विश्वका १४५ देशले स्वीकार गरेका छन्।

प्राचीन स्मारक ऐन २०१३ अनुसार एक सय वर्ष अवधि पूरा गरेका सांस्कृतिक संरचनालाई सम्पदाका रुपमा ग्रहण गरिन्छ। कुमारी बहाल राजा जयप्रकाश मल्लको पाला (विसं १८१४) मा निर्माण भएको हो ।

बाजा बजाएर पूजा गरेपछि कुमारी घरको मुख्य ढोकाको दायाँपट्टि रहेको झ्यालमाथिको उक्त तोरण पुन:स्थापना गरिएको छ।
हेर्नुहोस् थप तस्बिर :