पोखरा। पृथ्वी राजमार्गअन्तर्गत विजयपुर खोलामा ग्रिडर लन्चिङका लागि दैनिक चार घण्टा सडक बन्द हुने भएको छ। पृथ्वी राजमार्गको पोखरास्थित विजयपुर पुलमा ग्रिडर लन्च गर्न आंशिक र पूर्ण रूपमा सडक बन्द गर्न लागिएको हो।
यो समयमा वैकल्पिक मार्ग प्रयोग गर्न सवारीसाधनलाई आयोजनाले आग्रह गरेको छ। पुल निर्माणका लागि प्रिकास्ट र प्रि-स्ट्रेस प्रविधिको प्रयोग गरिएको छ।
अहिले पुलमा गर्डरलगायतका संरचना निर्माण भइरहेको आयोजनाले जनाएको छ। १५ वटा गर्डर कास्टिङ भइसकेको बताइएको छ। तिनै गर्डहरूलाई निर्माणाधीन पुलमा ‘लन्चिङ’ गर्न राजमार्ग बन्द गर्न लागिएको हो।
योजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार, बिहान ६ बजेदेखि ८ बजेसम्म र दिउँसो १२ बजेदेखि २ बजेसम्म सडक आंशिक र पूर्ण रूपमा बन्द हुनेछ। प्रत्येक ३० मिनेटमा जम्मा भएका गाडीलाई पास गर्ने गरी व्यवस्था मिलाइएको उनले सुनाए।
उनले भने‚ “पोखरादेखि विजयपुर हुँदै तालचोक जाने र सोही रुट हुँदै आउने सवारीसाधनलाई पूर्ण रूपमा बन्द गरी काम गर्नुपर्ने भएकाले ट्राफिक व्यवस्थापनका लागि सम्बन्धित सबैमा आग्रह गरेका छौँ। सवारी चालकलाई तोकिएको समयमा वैकल्पिक सडक हुँदै यात्रा गर्न अनुरोध गरिएको छ।”
मुग्लिन-पोखरा सडक योजनाले दुई पाङ्ग्रे तथा साना सवारीसाधनका लागि बूढीबजारबाट बेलचौतारा हुँदै चाउथे आउने र जाने दुईतर्फी वैकल्पिक व्यवस्था गरिएको जनाएको छ।
यसैगरी ठूला सवारीका लागि लेखनाको पावरहाउसचोकदेखि बागमारा हुँदै बिरौट आउने/जाने दुई तर्फी रुट प्रयोग गर्न आग्रह गरिएको छ।
देशको पर्यटकीय राजधानी पोखरालाई सङ्घीय राजधानी काठमाडौँसम्म जोड्ने प्रमुख सडक पृथ्वी राजमार्ग स्तरोन्नतिका लागि मुग्लिङ-पोखरा सडक योजनाअन्तर्गत काम भइरहेको छ।
मुग्लिङ-पोखरा सडकलाई दुई खण्डमा विभाजन गरी योजनाको काम भइरहेको हो। जामुनेदेखि आँबुखैरेनीसम्मको पूर्वी खण्डमा अधिकांश काम सकिए पनि पोखरादेखि जामुनेसम्मको पश्चिम खण्डमा हालसम्म ५९.७६ प्रतिशत भौतिक प्रगति भएको योजना प्रमुख कुँवरले जानकारी दिए।
यस खण्डको ३८.८८ किमिमा हालसम्म ३७.४ किमिमा एकतर्फी रूपमा पहिलो तहको कालोपत्र सकिएको छ। त्यसमध्ये २९.६१ किमि खण्डमा चार लेन र ७.७९ किमिमा दुई लेन कालोपत्र सम्पन्न भएको छ। यसैगरी यस खण्डमा १२ मध्ये ११ पुल निर्माण सम्पन्न भइसकेका जनाउँदै आयोजना प्रमुख कुँवरले सेती नदीमा पुल निर्माणाधीन अवस्थामा रहेको जानकारी दिए।