नवलपरासी। पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका १६‚ डन्डा बजारमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा अरु दुईजना सख्त घाइते भएका छन्।
डन्डाबाट कावासोतीतर्फ जाँदै गरेको ना.४३प ३४३६ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले गएराति १० बजे ठक्कर दिँदा तीनजना सख्त घाइते भएका थिए। एकजनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए।
मोटरसाइकल चालक कावासोती नगरपालिका १६‚ गैँडाचोकका ४२ वर्षीय हीराबहादुर परियारको उपचारका क्रममा गएराति नै मृत्यु भएको हो। मोटरसाइकलको पछाडि बसेका कावासोती नगरपालिका ३ की ३२ वर्षीया सुनीता जोहार्जा र कावासोती नगरपालिका १४ की २४ वर्षीया मीना मगरको मध्यविन्दु प्रादेशिक अस्पताल डन्डामा उपचार भइरहेको छ।
मोटरसाइकललाई ठक्कर दिने सवारीसाधनको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक नेपालले जानकारी दिए।