सात सवाल
रंगकर्मी, निर्देशक तथा लेखक घिमिरे युवराज सातामा तीन दिन साइकल चढ्छन्। शिल्पी थिएटरका संस्थापक उनी औसतमा २० किमि र शनिबार ५० किमिसम्म साइकलमा यात्रा गर्ने बताउँछन्।
डेनमार्क पढ्न बस्दा मस्तले साइकल कुदाएका उनीसँग काठमाडौँमा साइकल चलाउँदाका तीतामीठा अनुभव छन्। अहिले ट्रिङ्स साइकल चलाउने घिमिरे युवराजसँग नेपाल न्युजको साइकलविशेष सात सवाल :
तपाईंले साइकल चलाएको सबैभन्दा पुरानो सम्झना?
सानैमा विराटनगरमा मामाको एटलस साइकलको डन्डीभित्र खुट्टा छिराएर (कैँची मारेर) कुदाएको सम्झना आउँछ। साइकल सिक्दा कति लडियो कति!
साइकल चलाउँदा धेरै गुनगुनाउने गीत?
उहिले गोविन्दा र जुही चावला अभिनीत भाभी फिल्मको ‘चाँदीकी साइकल सोनेका सिट, आओ चले डार्लिङ चले डबल सिट।’ अहिले बर्तिका एम राईको ‘बिहान सबेरै जुरुक्क उठेर, दगुर्छौ खै के लक्ष्य समात्न।’
साइकल चढ्नुका फाइदा र घाटा के के छन्?
नेपालमा धेरैका लागि साइकल चलाउनु बाध्यता हो, मजस्ता थोरैका लागि स्वास्थ्यकर पनि छ। साइकल चलाउँदा शरीरसँगै दिमाग पनि ‘फ्रेस’ हुन्छ। तर काठमाडौँ सहरमा साइकल चलाउँदा ज्यानै जाने खतरा छ, किनकि साइकल चलाउनेलाई यो सहर मान्छे नै गन्दैन।

साइकल चलाउनु तपाईंको रहर कि आवश्यकता?
स्वास्थ्य र वातावरण दुवै हिसाबले आवश्यकता हो।
गाडीमा यात्रा गर्दा र साइकलमा गुड्दा काठमाडौँका सडक र मान्छे उस्तै देखिन्छन् कि फरक?
धेरै फरक। साइकल चलाउँदा बाटोमा हिँड्ने सबैप्रति सम्मान जाग्छ।
सहरको साइकल लेनको अवस्था के छ?
अवस्था? लेन नै छैन। यस सहरमा कस्ता मान्छे बस्छन् भन्ने विम्ब हो– साइकल लेन। सहरमा हजारौँ मजदुर साइकल चलाउँछन्, तर शासकहरूमा साइकल लेन बनाउनुपर्छ भन्ने चेतना छैन।
ट्राफिक र सरकारलाई केही सुझाव छ?
ट्राफिक विवश छन्, सरकार मूर्ख। साइकल लेनयुक्त सहर स्वस्थ सहरको नमुना हो भन्ने पनि शासनमा बसेकाहरूलाई महसुस छैन।