साताको सट
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण सोमबार १ मंसिरबाट सुरु भइसकेको छ। आठवटा फ्रेन्चाइज टोलीको यो महाभिडन्तको महाउत्सवको उद्घाटन समारोह भव्य बनाउन कुनै कसर छोडिएन।
पहिलोपटक दर्शका लागि पारापिट र रात्रिकालीन खेलका लागि त्रिवि क्रिकेट रंगशालामा फ्लडलाइटको व्यवस्था गरिएको यो संस्करणको उद्घाटन प्रधानमन्त्री सुशीला कार्कीले गरेकी थिइन्। उद्घाटन समारोहमा हेलिकोप्टरबाट पुष्पवृष्टिसमेत गरिएको थियो।
रंगशालामा हेलिकोप्टरबाट खसिरहेका फूलमा अपराह्न ४ बज्नै लाग्दा अस्ताउनै लागेको सूर्यको प्रकाश परेर चम्किलो देखिएको थियो। त्यतिबेलै मेरो १००-४०० को जुम लेन्समा कैद भएको थियो यो तस्बिर, जसले साँच्चै ‘हिमालयको क्रिकेट महोत्सव’ को झल्को दिइरहेको थियो।