व्यक्तिवृत्त
क्रिकेटरबाट सेफ बनेका प्रेमलाई साथीहरू जिस्क्याउँदै भन्छन्- “यसले आफ्नै रेस्टुराँ खोल्यो भने खानाको मेनुमा यस्तो आइटम हुन्छ होला– गुगली चिकेन, इन्सुइङ करी, छक्का बिरयानी”
२०६२ सालमा मलेसिया खेल्न जाने नेपाली क्रिकेट टोलीमा आफ्नो नाम समावेश हुने कुरामा उनी ढुक्क थिए। छनोट समितिका केही सदस्यले पनि अन्तर्राष्ट्रिय डेब्युका लागि अग्रिम शुभकामनासमेत दिइसकेका थिए।
भोलिपल्ट नाम सार्वजनिक हुनु थियो, तर राति नै नरेश बुढाऐरसँगै उनको नाम पनि १५ सदस्यीय टोलीबाट काटियो। यसपछि मन कुँडाएका उनी नेपालमा क्रिकेट खेल्नु सबैका लागि सहज छैन भन्ने निर्णयमा पुग्दै भविष्यको खोजीमा भारत हानिए।
उनी अर्थात् प्रेम सिंह। कुनै बेला बैतडी जिल्लाका प्रारम्भिक बलर। अहिले स्थापित सेफका रूपमा नाम कमाइरहेका छन्। उनी भारतीय खाना बनाउने नेपालका प्रमुख १० सेफमध्ये पर्छन्।
तर, उनको शरीरबाट क्रिकेटको ज्वरो अहिलेसम्म हटेको छैन। कामको सिलसिलामा जुन ठाउँ पुग्छन्, त्यहाँ क्रिकेट गतिविधि छ कि छैन, खोजिहाल्छन्। अहिले त्रिवि मैदानमा एनपीएल-२ (नेपाल प्रिमियर लिग)को सिजन चलिरहँदा उनको आँखा खानाको मेनुमा भन्दा टेलिभिजन स्क्रिनमा डुलिरहेको हुन्छ।
त्यसैले होटलका सहकर्मीहरू उनलाई जिस्क्याउने गर्छन्– कुन दिन यसले ब्याट र बलकै खिचडी नबनाउला भन्ने छैन। साथीभाइ भन्छन्– उनको हातमा अलग्गै जादु छ। उसले छोएको परिकार त्यसै मीठो बन्छ।
यति मीठो हात भएको मान्छे, कहाँ डन्डा र बल हल्लाउन निस्किएको भनी कहिलेकाहीँ साथीभाइ ठट्टा पनि गर्छन्। तर, क्रिकेटसँग उनको नाता यस्तो छ- कामको सिलसिलामा गत वर्ष विराटनगरको ह्यारिसन होटल पुगेका उनी भुटान-भारतको सीमानजिकै जलपाइगुडीमा आयोजना भएको क्रिकेट प्रतियोगिता खेल्न गाउँमा आफन्त बिरामी भएको बहाना बनाउँदै एक साताको छुट्टीमा निस्किए।

क्रिकेट खेल्दा प्रेम
प्रेमको घर भारत, उत्तराखण्डको राजधानी पिथौरागढनजिकै जोडिएको नेपालतर्फ खडेनीबुढा गाउँपालिका हो। जहाँ सिंहहरूको १६० परिवार बसोबास गर्छन्। नेपाली राष्ट्रिय टोलीका सुपरस्टार दीपेन्द्रसिंह ऐरीले पनि यही ठाउँबाट प्रतिनिधित्व गरेका हुन्। दीपेन्द्रको सफलताप्रति यस गाउँका सबै गर्वबोध गर्छन्।
प्रेम तीनपल्ट युथ-१९ क्रिकेट टोलीको क्याम्पमा परे। तर, हरेकपल्ट अन्तिममा नाम काटिन्थ्यो। सिनियर टोलीमा पनि यही नियति दोहोरियो। २०६८ सालमा धनगढी र कञ्चनपुरमा आयोजना भएको छैटौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितापछि त उनले राष्ट्रिय खेलाडी बन्ने सपना नै त्यागे।
यसपछि उनको जीवनको दोस्रो इनिङ सुरु भयो। उनी होटल म्यानेजमेन्ट पढ्न राजस्थानको रुबी होटलमा भर्ना भए। स्नातकसम्मको पढाइ गरे।
त्यहाँ रहँदा अर्को गजबको संयोग जोडियो। उनी नियमित मर्निङवाकमा निस्किन्थे। पढिरहेको होटलभन्दा डेढ किलोमिटर दूरीमा एउटा मैदान थियो। जहाँ अमर क्रिकेट क्लबका खेलाडीहरू अभ्यासरत हुन्थे। उनी मैदानमा पुगेपछि नेट प्राक्टिक्स गरिरहेका क्लबका खेलाडीहरूको पछाडि पुगेर एकछिन टक्क अडिन्थे। धेरै दिन यो क्रम चलेपछि प्रशिक्षकले याद गरेछन्। र, सोधेछन्, ‘कहाँबाट आएको? क्रिकेट खेल्न आउँछ?’
त्यो घटना सम्झिँदा रोमाञ्चक हुने प्रेम भन्छन्, “नेपालबाट आएको भनेँ। उसले दुईतीन वटा बल फ्याँक्न दियो। यसपछि त नेपालबाट हुँदै होइन भन्न थाल्यो। मलाई लाग्यो– किन बहस गर्ने? उत्तराखण्ड भनिदिएँ। यसपछि भोलिबाट नेट प्राक्टिसमा बोलायो।”
भारतको घरेलु क्रिकेटको गजबको संस्कार छ। सोमबारदेखि शनिबारसम्म ६ दिन मैदानमा खेलाडीलाई अभ्यास गराउने अनि आइतबार छुट्टीको दिन सधैँ कुनै न कुनै टिमसँग म्याच खेलाउने।
भारतीय क्रिकेटको अर्को सबल पक्ष–आर्थिक व्यवस्थापन हो। त्यहाँ घरेलु क्रिकेट खेल्नेले पनि मजाले पैसा कमाउँछन्। त्यसका लागि नेपालमा जस्तै राष्ट्रिय टोलीमा पर्नैपर्ने बाध्यता छैन।

किचनमा काम गरिरहेका प्रेम
“मलाई पनि क्लबमा आबद्ध भएको एक सातापछि नै मासिक ५० हजार भारु दिन थालिहाले। होटल म्यानेजमेन्ट कोर्सका लागि दुई वर्षमा ८० हजार शुल्क तिर्नुपर्थ्यो। एकमुस्ट तिरिहालेँ नि। घरबाट खेप्नु नै परेन,” गत साता काठमाडौँमा भेटिएका उनी भन्छन्।
अमर क्रिकेट क्लबका कप्तान थिए– विनित पाटिल। उनी रणजी ट्रफीका खेलाडी थिए। उनीसँग क्रिकेट खेल्न मुम्बईदेखि बरौडा पुग्दा प्रेमको भेट मुम्बईको बी डिभिजन क्लब एड्भान्स क्रिकेट एकेडेमीका किशोर वाग्लेसँग भयो।
“राजस्थानमा पढाइ सकिएपछि म किशोरलाई आग्रह गर्दै मुम्बई पुगेँ। त्यहाँ मेरो उद्देश्य क्रिकेट खेल्नुका साथै मुम्बईको ठूलो होटलमा जागिर खोज्नु थियो,” उनी प्रस्ट पार्छन्।
प्रेम लामो समय मुम्बई बसे। यस अवधिमा उनले रमाडादेखि पारामाउन्ट होटलमा काम गरे। भारतको चर्चित चेन होटल आइटीसीमा गरेको कामलाई उनले भुल्न सकेका छैनन्। “त्यहाँ मैले मीठो खाना कसरी बनाउने भनी सिक्ने अवसर पाएँ। एक जना गढवाली सेफ हुनुहुन्थ्यो, खुब माया गर्ने। उहाँले सिकाउनुभयो,” उनी भन्छन्।
मुम्बईमा हुँदा उनले क्लबबाहेक होटलको क्रिकेट टिमबाट पनि खेले। “क्रिकेट खेल्न राम्रो जानेको छ भने भारतमा मजाले बाँच्न सकिन्छ। स्टार नै हुनुपर्दैन। जहाँ काम गर्नुस्, अलिक व्यवस्थित बिजनेस हाउस छ भने उसको आफ्नै क्रिकेट टिम भइहाल्छ। तीन तीन महिना, ६/६ महिनामा उनीहरूको ठूल्ठूलो प्रतियोगिता हुन्छ,” उनी भन्छन्।
उनले हैदराबाद र बेङ्लोरको होटलमा पनि सहायक सेफ बनेर काम गरे। पछि भारतको म्यारियट होटलमा काम गरिरहेको बेला नेपालमा पनि म्यारियट होटलबाट सेफको आवेदन खुल्यो। लामो समय भारत बस्दा घरसँग दुरी बढ्न थालेको थियो। त्यसैले उनी सन् २०१८ को अन्त्यतिर काठमाडौँ आए। तर, कोभिड-१९ महामारीका कारण लकडाउन हुँदा केही समय त्यत्तिकै बस्नुपर्यो।
लगत्तै सोल्टी होटलले झापामा मेची क्राउन स्थापना गर्यो। उनी भारतीय खाना बनाउन उतै लागे। झापा आएपछि उनले क्रिकेटका आफ्ना पुराना साथी खोज्ने कार्यलाई तीव्र बनाइहाले। क्रिकेट पनि खेले। मेची क्राउनबाट विराटनगरको ह्यारिसनमा आबद्ध हुँदासमेत उनी क्रिकेट खेल्ने अर्को टिमको खोजीमा छन्।
“होटलमा क्रिकेट खेल्ने कुनै खेलाडी भेटिइहाल्छ। फेरि म फिटनेसका लागि बिहान रंगशाला धाउने गर्छु। जिममा भन्दा मलाई खुला मैदानमा दौडिँदा आनन्द लाग्छ,” उनी फिस्स हाँस्छन्।

बलिउड अभिनेता गोविन्दासँग प्रेम
मेची क्राउनमा कार्यरत रहनुअघि उनी दिल्लीमा आयोजना भएको होटल फेस्टिभलमा भाग लिन गएका थिए। गुडगाउँको एउटा स्कुलमा पाकिस्तानबाट एक प्रशिक्षक आएका छन् भन्ने थाहा पाएपछि उनी दुई महिना त्यतै बसे। ती प्रशिक्षकसँग ‘रिस्ट’ बाट बलिङ गर्ने कला सिके।
प्रेम चार दिदी र एक दाजुपछि कान्छा छोरा हुन्। बुवा पहिले भारतीय आर्मीमा जागिरे थिए। उनका ५ वर्षीय छोरी र श्रीमती काठमाडौँको माछापोखरीस्थित गोलढुंगामा बस्छन्।
३४ वर्षको उमेरमा पनि उनले क्रिकेटलाई आफ्नो जीवनबाट अलग गर्न सकेका छैनन्। त्यसैले साथीहरू ठट्टा गर्दै भन्छन्, “यसले आफ्नै रेस्टुराँ खोल्यो भने खानाको मेनुमा यस्तो आइटम हुन्छ होला– गुगली चिकेन, इन्सुइङ करी, छक्का बिर्यानी।”