त्यो काण्ड
७४ वर्षअघिको एक खेलमा रेफ्रीको निर्णयको विरोध गर्दा सात खेलाडीले हिरासत भोग्नुपरेको थियो, त्यो पनि नरशमशेरको आदेशमा
२००७ सालको क्रान्तिपछि नेपालमा पहिलोपल्ट आधिकारिक रूपमा लिग सञ्चालन हुँदै थियो। नेपाल फुटबल संघ (एनएफए)को स्थापनासँगै २००८ सालबाट सुरु भएको लिगको नाम थियो– रामजानकी कप।
लिगमा नेपाल पुलिसको रक्षा दल, नेपाल आर्मी, ठमेल, ब्वाइज–११, भैरव टिम (इन्द्रचोक), संयुक्त दल, आजाद टिम (नक्साल) लगायत अन्य दुई क्लब पनि सहभागी थिए, डिल्लीबजारको महावीर क्लब र त्रिपुरेश्वरको न्युरोड कर्नर टिम (एनआरटी)।
एनआरटी उबेला नेपाली कांग्रेसको क्लबका रूपमा परिचित थियो। उसै त प्रजातन्त्र स्थापना भएको समय, कसले छुने यस क्लबलाई। जनताको अपार समर्थन पाएको थियो।
महावीर र एनआरटीबीच खेल हुँदा डिल्लीबजार र न्युरोडका प्रायः सबै पसल बन्द थिए। त्यस खेललाई राणा र कांग्रेसबीचको भिडन्तका रूपमा पनि हेरिएको थियो।
यतिबेला विशेषत: तीन वटा क्लब एनआरटी, महावीर र ठमेलको प्रदर्शनलाई लिएर सहरमा ठूलै खैलाबैला मच्चिने गर्थ्यो। किनभने, यी क्लबका आआफ्नै विशेषता थिए।
ठमेल क्लबमा भारतीय दूतावासका कर्मचारी पनि खेल्ने गर्थे। महावीर भने राणाजीको क्लबका रूपमा परिचित थियो। फेरि यस क्लबलाई नरशमशेर राणाको दह्रो समर्थन थियो।
यही पृष्ठभूमिमा १५ असारमा महावीर र एनआरटी भिड्दै थिए। रेफ्रीको भूमिकामा खटिएका थिए, उनै नरशमशेर।
नर केही समयअघि मात्र स्थापित एनएफएका अध्यक्ष चुनिएका थिए। यतिबेला रेफ्रीको ठूलो अभाव थियो। त्यसैले फुटबलका जानकार नेपाली कांग्रेसका महामन्त्री महेन्द्रविक्रम शाह, कृष्णबहादुर बर्मादेखि नरसम्म लिग सञ्चालनका लागि रेफ्रीको भूमिकामा देखिएका थिए।
महावीर र एनआरटीबीचको पहिलो खेल हेर्न दुवै क्लबका समर्थक टिकट काटेर दिउँसै सिंहदरबार प्रवेश गरिसकेका थिए। त्यतिबेला हालको दशरथ रंगशाला अस्तित्वमा आइसकेको थिएन। त्यसैले फुटबलको सबै गतिविधि सिंहदरबारस्थित फुटबल मैदान (हालको गृह मन्त्रालय भएको ठाउँ)मा हुन्थ्यो।
महावीर र एनआरटीबीच खेल हुँदा डिल्लीबजार र न्युरोडका प्रायः सबै पसल बन्द थिए। त्यस खेललाई राणा र कांग्रेसबीचको भिडन्तका रूपमा पनि हेरिएको थियो।
तर, खेलकै क्रममा रेफ्रीको निर्णयलाई लिएर मैदानमा बबन्डर भयो। यसै त एनआरटीका समर्थकलाई नर कसलाई समर्थन गर्थे भन्ने प्रस्ट थाहा थियो। त्यसमाथि उनी नै खेलमा रेफ्रीको भूमिकामा देखिनु झगडाको प्रमुख कारण बन्यो।
वास्तवमा त्यतिबेला फुटबल सञ्चालन गर्नु चानचुने कुरा थिएन। खेलको नियम पूर्ण रूपमा थाहा नभएका दर्शकहरूमाझ खेल खेलाउँदा रेफ्रीले जुनसुकै परिस्थितिको सामना गर्ने तयारीसाथ मैदानमा प्रवेश गर्नुपर्थ्यो। महावीर, एनआरटी र ठमेलका समर्थकहरू कट्टर भएका कारण पहिलेदेखि यी क्लबको खेल सञ्चालन गर्न रेफ्री मान्दैनथे। त्यसका लागि कडा रेफ्रीकै आवश्यकता पर्थ्यो। महावीरको समर्थक हुँदाहुँदै त्यस दिन नर रेफ्री बस्नुको कारण पनि यही थियो।
त्यो दिन नर रेफ्री बसेको कारणले हो या अंकतालिकामा नम्बर जुटाउने जोसमा, महावीरका खेलाडी अलिक जोसिएर खेलिरहेका थिए।
यस्तैमा एनआरटीका सेन्टरब्याक मणिराज उपाध्यायलाई महावीरका एक खेलाडीले नराम्ररी ट्याकल गरे। तर, नरले महावीरका खेलाडीलाई कार्ड देखाउनु त टाढाको कुरा, चेतावनी पनि दिएनन्। यसबाट रिसाएका एनआरटी समर्थकले सिंहदरबारभित्रै नाराबाजी गरे– चकलेट रेफ्री चाहिँदैन, झेल्ली गर्न पाइँदैन!
नाराबाजीबाट नर यति क्रुद्ध भए कि सुरुमा उनले फुटबल हेर्न खुला गरिने सिंहदरबारको एउटै मात्र गेट (पुतलीसडकस्थित टिनको ढोका भएको आर्मी गेट) बन्द गर्न लगाए। यसपछि मैदानमा होहल्ला गर्ने समर्थकलाई पुलिस लगाएर कुटाए।
राजा त्रिभुवन पनि फुटबलका पारखी थिए। दरबारभित्र उनको छुट्टै फुटबल टिम थियो। उनका दुई छोरा हिमालय र बसुन्धराले पछि एनआरटीबाट फुटबल पनि खेले।
रेफ्री नरको यस कार्यको मैदानभित्र रहेका मणिराजले चर्को विरोध गरे। उनी त्यतिबेला प्रजापरिषद्का क्रियाशील सदस्य थिए। २००७ सालको क्रान्तिताका जेल परिसकेका कारण उनलाई नचिन्ने कोही थिएन। उनीसँगै वासुदेव ढुंगानाले पनि खुलेर विरोध गरे।
तर, नरको अगाडि कसको के लागोस्, उनी नेपाल पुलिसको आइजी जो थिए। उनले तत्काल मणिराजसँगै मनिराज नेपाली, शैलेन्द्रनाथ उपाध्याय, नेत्रबहादुर क्षेत्री, केशवप्रसाद रेग्मी, विष्णुराज जोशीलगायत सातजनालाई पक्राउ गर्न आदेश दिए।
खेल सकिएपछि मणिराजलगायत एनआरटीका समर्थकहरू छुटिहाल्ने कल्पना गरिएको थियो। तर, उनीहरूलाई त शान्तिसुरक्षा भंग गरेको आरोप लगाइएको थियो।
दुई दिन बितिसक्दा पनि उनीहरूलाई छोड्न नर सहमत नभएपछि एनआरटीका विजयवरसिंह प्रधान, समरबहादुर मल्ललगायत खेलाडी र पदाधिकारीको टोली राजा त्रिभुवनलाई भेट्न १८ असारमा नारायणहिटी दरबार पुग्यो।
उनीहरूले राजासमक्ष बिन्ती बिसाए। नरको अमानवीय व्यवहारको खुलेर आलोचना गरे। राजा त्रिभुवन पनि फुटबलका पारखी थिए। दरबारभित्र उनको छुट्टै फुटबल टिम थियो। उनका दुई छोरा हिमालय र बसुन्धराले पछि एनआरटीबाट फुटबल पनि खेले।
राजाको निर्देशन पाएपछि नरले १८ असारमा सबैलाई माफी माग्न लगाएर छोडिदिए। उनीहरूलाई आइन्दा शान्तिसुरक्षा भंग नगर्ने सर्तमा भुल स्वीकार गर्न लगाइएको थियो।
राजा त्रिभुवनले सुरुमा त गुनासो बोकेर आएका एनआरटीका पदाधिकारीलाई शान्त पार्न चुरोट बाँडेर स्वागत गरे। त्यो प्रसंग सुनाउँदै केही वर्षअघि मलाई दिएको अन्तर्वार्तामा समरबहादुरले भनेका थिए, ‘म त दंग परेँ। त्रिभुवन सरकार खाऊ खाऊ केही हुँदैन भनेर आफैँ चुरोट बाँड्न थाल्नुभयो।’ नपिऊँ भने राजाको अनादर हुने डर, पिऊँ भने राजाको अगाडि कसरी पिउने? सबैलाई आपत् पर्यो। पछि राजाले नै सबैलाई सलाई कोरिदिए।
त्यसपछि टोलीले राजालाई गुहार्दै भन्यो– सरकार, यसरी पिट्न कहाँ पाइन्छ? बरु मारिदिएको भए हुन्थ्यो!
अनि त्रिभुवनले चुरोटको सर्को तान्दै भनेछन्– म नरलाई भन्छु। सम्झाइदिन्छु।
राजाको निर्देशन पाएपछि नरले १८ असारमा सबैलाई माफी माग्न लगाएर छोडिदिए। उनीहरूलाई आइन्दा शान्तिसुरक्षा भंग नगर्ने सर्तमा भुल स्वीकार गर्न लगाइएको थियो।
‘राणाकालमा नरको आफ्नै क्लब थियो। तर, प्रजातन्त्र स्थापनापछि उनी खेलाडीका रूपमा नभई व्यवस्थापकको भूमिकामा बढी सक्रिय भए,’ २०२० सालको दशकमा महावीर क्लबका ‘खम्बा’ मोहन पाण्डे सम्झन्छन्। राणाकालमा चारजना प्रजातन्त्रवादी (शुक्रराज शास्त्री, दशरथचन्द ठकुरी, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठ)लाई हत्या गरेको आरोपमा नरको ठूलो आलोचना भएको थियो। त्यसैले उनी अन्य क्लबभन्दा महावीरमा बढी सक्रिय भए।