काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

टिपोट

१५ वर्षको पत्रकारिता यात्रामा चुनौतीको चाङले घेरिए पनि रोकिएको छैन मेरो यात्रा

६ मंसिर २०८२
रिपोर्टिङका क्रममा पत्रकार कल्पना भट्टराई
अ+
अ-

२८ भदौ २०७३, मेरो जीवनमा ‘कालो दिन’ बनेर आयो। दुई वर्षदेखि रोगसँग लडिरहनुभएकी आमाले सदाका लागि हामीलाई छोडेर जानुभयो। आमाको भौतिक शरीर माटामा मिलेसँगै मेरो आत्मविश्वास पनि गल्यो।

त्यतिबेला मैले पत्रकारितामा सुनौलो पाँच वर्ष बिताइसकेकी थिएँ। सुनवल नगरपालिका—१२ भूमही, नवलपरासी मेरो कर्मथलो थियो। आमा बिरामी भएपछि पेसा र परिवारबीचको दोहोरो जिम्मेवारी निर्वाह गर्न नसक्दा मैले पत्रकारिता छोड्नुपर्‍यो। अनि आफूलाई आमाको स्याहारमा समर्पण गरेकी थिएँ।

आमाको १३ दिने काजकिरिया सकेपछि मनमा गहिरो रिक्तता बोकेर म दिदीसँगै उहाँको घर रुपन्देहीको मणिग्राम पुगेँ। एउटै कुरा खेलिरहेको थियो– अहँ, अब पत्रकारितामा फर्कन्नँ। बरु लोकसेवाको तयारी गर्छु।

साढे दुई वर्षदेखि थन्किएको ल्यापटप बन्द नै थियो। पत्रकारिताको अध्याय समाप्त भएको महसुस गरिरहेकी थिएँ।

प्रमाण जुटाउन, कागजात संकलन गर्न र राजनीतिक ‘नेक्सस’ केलाउन मलाई आठ महिना लाग्यो। धम्कीको ग्राफ पनि उकालो लाग्दै थियो।

एकदिन धुलो जमेको ल्यापटप टकटक्याउँदा देशको गतिविधि नियाल्ने इच्छा जाग्यो। नवलपरासीका अग्रज पत्रकार हरि शर्मा दाईले जिल्लाका गतिविधि मलाई इमेलमा पठाइदिनुहुन्थ्यो। इनबक्समा जम्मा भएका इमेलहरू स्क्रोल गर्दै जाँदा नवलपरासीमा खोलानालाको अव्यवस्थित उत्खनन, स्थानीय प्रशासन र तस्करको मिलेमतो तथा करोडौँको राजस्व हिनामिना भएको विषयले मेरो ध्यान तान्यो।

लगातार एकै प्रकृतिको समाचार देखेपछि मभित्र रहेको पत्रकारिताको ‘भूत’ जागेर आयो। मलाई त्यस विषयको गहिराइमा पुग्न मन लाग्यो र स्थानीय विकास अधिकारी जीवलाल भुसाललाई फोन गरेँ। कुराकानीपछि मलाई लाग्यो– जसरी पनि यो विषय उजागर गर्नैपर्छ।

एक सातापछि आफ्नै घर फर्किएँ र भोलिपल्टै ‘फलोअप’ मा लागेँ।

पहिले म नागरिक दैनिकमा आबद्ध थिएँ। पत्रकारितामा फर्किने मनस्थिति बनेपछि पुन: नागरिक दैनिकमा फेरि जोडिएँ।

यसपटक मसँग पहिलेभन्दा दोब्बर ऊर्जा थियो। रिपोर्टिङ गर्दै जाँदा घटनामा ठूलो आर्थिक र राजनीतिक चलखेल भेटियो। सामान्य समाचारले विषयको उठान न्यायोचित नहुने लागेपछि मैले खोज पत्रकारिता केन्द्र (खोपके)का तत्कालीन सम्पादक शिव गाउँलेसँग सम्पर्क गरेँ। उहाँको मार्गदर्शन र हौसलाले अघि बढ्न थप आत्मबल मिल्यो।

प्रमाण जुटाउन, कागजात संकलन गर्न र राजनीतिक ‘नेक्सस’ केलाउन मलाई आठ महिना लाग्यो। धम्कीको ग्राफ पनि उकालो लाग्दै थियो। विगतमा पनि राम्रो काम गर्दा कतिपय समकक्षीहरूबाटै मानसिक तनाव र जागिरबाट निकाल्ने धम्की नपाएकी होइन। तर, बुटवल टुडेदेखि नयाँ पत्रिका दैनिकसम्मको यात्रामा मैले कहिल्यै सम्झौता गरिनँ।

जिल्लामा बस्नै नसक्ने अवस्था आएपछि सम्पादककै सल्लाहमा प्रमाणहरू बोकेर काठमाडौँ हानिएँ।

१५ वर्षको पत्रकारिता यात्रामा कहिले आमा गुमाएको पीडा त कहिले तस्करको धम्की, चुनौतीको चाङले घेरिएँ। मिडियामा आर्थिक संकट अझै छ। तर, जस्तोसुकै अवस्थामा पनि मेरो यात्रा रोकिएको छैन। रोकिने पनि छैन।

काठमाडौँ आएपछि होस्टलमा बसेर स्टोरी तयार पारेँ। जसको शीर्षक थियो– क्रसर डनको दबदबा। खोपकेमार्फत स्टोरी प्रकाशित भएपछि यसले राष्ट्रियस्तरमा चर्चा पायो, तर मेरा लागि जिल्ला फर्किने ढोका बन्द भयो। धम्की छल्नकै लागि कहिले कता, कहिले कता भौतारिरहन्थे।

काठमाडौँ मेरो नयाँ कर्मथलो बन्यो। हिमाल खबरपत्रिकानेपाल साप्ताहिक जस्ता प्रतिष्ठित मिडियामा काम गर्ने अवसर जुर्‍यो।

कोभिड-१९ ले सबै ठाउँमा आर्थिक संकट निम्त्यायो। सबैभन्दा बढी संकट मिडियामा देखियो। त्यसैको असर- मैले काम गरिरहेको नेपाल साप्ताहिक  पनि बन्द भयो। संकटका बीच पनि म स्वतन्त्र पत्रकारको हैसियतले आफ्नो कर्ममा लागिरहेँ।

१५ महिना नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्कमा इन्भेस्टिगेटिभ रिपोर्टिङ फेलोका रूपमा काम गरेँ। त्यहाँ काम गर्दा खोज पत्रकारिता र मल्टिमिडियाबारे राम्ररी बुझ्ने र सिक्ने मौका पाएँ। विश्वभर छरिएका खोज पत्रकारहरूको सञ्जालमा जोडिने मौका पाएँ। यसले मेरो सिकाइ र बुझाइ परिष्कृत बनाउँदै लग्यो।

१५ वर्षको पत्रकारिता यात्रामा कहिले आमा गुमाएको पीडा त कहिले तस्करको धम्की, चुनौतीको चाङले घेरिएँ। मिडियामा आर्थिक संकट अझै छ। तर, जस्तोसुकै अवस्थामा पनि मेरो यात्रा रोकिएको छैन। रोकिने पनि छैन।