स्मृति

सारंगी र गन्धर्वको पृथक् गायनशैली स्थापित गर्ने शक्तिशाली आवाज

६ मंसिर २०८२
अ+
अ-

कोभिड कहरका बेला संगीत/सिनेमाजस्ता कला संसारभरिका धेरै मानिसमा आशाको सञ्चार गर्ने स्रोत बनेको थियो। त्यसैबीच बंगाली स्वरमा गाइएका केही पुराना नेपाली लोकगीत सामाजिक सञ्जालमा फैलिन थाले।

तीमध्ये झलकमान गन्धर्वका दुई गीत चर्चित बने– ‘तिम्रै नै माया लाग्दछ साइँली’ र ‘अल्लारे नानी केसी’। स्वर थियो– कलकत्ताका गायक अर्को मुखर्जीको।

नेपाली रियालिटी सो र युट्युबका कभर गीतहरूमा झलकमानका गीतहरू दोहोरिन थालेको सम्भवतः त्यसपछि नै हो।

झलकमान यसै पनि नेपाली लोकसंगीत-संस्कृतिका पर्याय थिए/हुन्। भारतीय गायक अर्कोले झलकमानका गीतहरू गाएपछि उनका श्रोताहरू सीमापारिसम्म फैलिए। र, यो क्रम चली नै रहनेछ।

सानै उमेरदेखि झलकमान र उनका भाइ लालबहादुर बाका औँला समाई हिँड्दाहिँड्दै सारंगी बजाउन र कर्खा सुनाउन सक्ने बने। बिना कुनै औपचारिक सांगीतिक तालिम उनीहरूमा पुर्ख्यौली सीप सरेको थियो।

यही वर्ष सार्वजनिक भएको कोशेढुंगा फिल्ममा समेत उनको गीत ‘आमैले सोध्लिन् नि’ आशिष अविरलको स्वरमा ‘रिक्रिएट’ गरिएको छ।

१२ वैशाख १९९२ मा पोखराको बाटुलेचौरमा जन्मेका झलकमान बितेको आज ठीक २२ वर्ष भएको छ। ६८ वर्षकै उमेरमा ६ मंसिर २०६० मा उनको मृत्यु भएको थियो।

झलकमान केवल व्यक्ति थिएनन्, संगीतमा नेपालकै धनी समुदायका प्रतिनिधि थिए। नेपालको खास भूगोल, खास किसिमको लोकअभ्यास र लोकपरम्पराका संवाहक थिए।

झलकमानबारे आज जुन चासो र सोधखोज भइरहेको छ, त्यो उनका शुभचिन्तक र प्रशंसकका कारण हो। प्रविधिमा बढ्दै गरेको पहुँचका कारण हो। राज्य र सरोकारवालाहरूका नजरमा त उनी अझै एक ‘गाइने’ मात्रै हुन्।

नेपाली संगीतले झेल्दै आएको पहिचानको संकटको एउटा कारण मर्दै गएको गन्धर्व परम्परालाई बेवास्ता गर्नु पनि हो। गन्धर्वको संगीतलाई मात्र प्रवर्द्धन गर्न सकेको भए अहिले हामीमाझ थुप्रै झलकमानहरू हुन्थे।

झलकमान गन्धर्वका लोकगीतहरू पुस्तकको आवरण। तस्बिर : म्युजिक नेपाल

विडम्बना, गन्धर्वहरूलाई एकातिर सारंगी बजाएर जीविकोपार्जन गर्न गाह्रो छ, अर्कातिर उनीहरू सामाजिक छोइछिटोका कारण आफ्नो थर बदल्न बाध्य छन्। यसैले गन्धर्व संगीत/संस्कृति मासिँदै गएको छ। गला र कला हुँदाहुँदै कैयौँ झलकमान गुमनाम र पेसाबाट पलायन हुन अभिशप्त छन्।

झलकमान पनि अभाव र अप्ठ्यारोबीच नै उठेका पात्र थिए। तर, केही संयोग र केही संघर्षले उनको अलग कथा बन्यो।

झलकमानका बुवा दुर्गाबहादुर मिजार सारंगी बजाउन र कर्खा गाउनमा निपुण थिए। उनीजस्ता धेरै गन्धर्वहरूको जीविकोपार्जनको माध्यम यही थियो।

‘आमैले सोध्लिन् नि’ युद्ध मैदानबाट प्रियजनलाई पठाइएको घाइतेको सन्देश थियो। यो सन्देश सुनेर आज पनि देशले सुस्केरा हाल्छ। परदेसिएका नेपालीको छाती चिरिन्छ।

सानै उमेरदेखि झलकमान र उनका भाइ लालबहादुर बाका औँला समाई हिँड्दाहिँड्दै सारंगी बजाउन र कर्खा सुनाउन सक्ने बने। बिना कुनै औपचारिक सांगीतिक तालिम उनीहरूमा पुर्ख्यौली सीप सरेको थियो।

राज्यले खेतीपाती र शिक्षादीक्षाबाट निरुत्साहित गरेका गन्धर्वहरू रोजीरोटीको समस्या सुल्झाउन कालीखोलामा दुवाली थुनेर माछा मार्ने काम पनि गर्थे।

झलकमानकै गाउँले थिए– कवि तथा गायक धर्मराज धापा। उनीबारे झलकमानले भनेका छन्, ‘धर्मराजजीले हामीले मारेका माछा हाक्कहुक्क पारेर लिइदिनुहुन्थ्यो र हाम्रो चित्त दुख्थ्यो।’ तर, यो दुखाइ लामो समय रहेन। रेडियो नेपालमा ‘लोकलहरी’ कार्यक्रम चलाउने थापा नै झलकमान, उनका भाइ र बाटुलेचौरका गन्धर्वहरूलाई रेडियो नेपाल पुर्‍याउने सेतु बने। लालबहादुर भने अल्पायुमै बिते।

भनिन्छ, झलकमान धर्मराजकै प्रोत्साहनमा २०२२ सालमा रेडियो नेपालद्वारा आयोजित देशव्यापी लोकसंगीत प्रतियोगितामा सहभागी भए। प्रतियोगितामा उनले आफ्नै स्वर, शब्द र संकलनमा सुनाएको ‘आमैले सोध्लिन् नि’ प्रथम बन्यो। २०२४ सालको कात्तिकदेखि वाद्यवादकका रूपमा जागिरसमेत पाए।

झलकमान गन्धर्व

‘आमैले सोध्लिन् नि’ युद्ध मैदानबाट प्रियजनलाई पठाइएको घाइतेको सन्देश थियो। यो सन्देश सुनेर आज पनि देशले सुस्केरा हाल्छ। परदेसिएका नेपालीको छाती चिरिन्छ।

यस गीतको रचनागर्भबारे झलकमानले भनेका छन्, ‘एकदिन एक जना गाउँलेको झुपडीमा छोराको चिठी आएको रहेछ। लाहुरे छोरा युद्ध मैदानमा ढलिसकेको खबर पत्रमा थियो। पत्र सुनेर मन थाम्न सकिनँ। त्यही पीडाबोधबाट यो गीत जन्मियो।’

दोस्रो विश्वयुद्धमा करिब एक लाख २० हजार गोर्खाली बेलायती सैनिकको पक्षबाट लडेका थिए, तीमध्ये नौ हजारले ज्यान गुमाएका थिए। लडाइँका कारण नेपालका गाउँघरमा कति ठूलो शोक छाएको थियो, सहजै अनुमान गर्न सकिन्छ।

नियतिको अँध्यारो पक्ष उतार्ने यो गीत नै रेकर्डिङ परम्परामा सारंगी र गन्धर्वको पृथक् गायनशैली स्थापित गर्ने शक्तिशाली धुन बन्यो।

अध्येता तथा संगीतकार बुलु मुकारुङका अनुसार २०१३ सालमा राजा महेन्द्रको राज्याभिषेकका बेला केही गन्धर्व र बादी समुदायका कलाकार पहिलोपटक काठमाडौँ झिकाइएका थिए। त्यहीबेला रेडियो नेपालमा उनीहरूका केही गीत रेकर्डसमेत गराइएको थियो।

क्षमता र लोकप्रियताका बाबजुद गन्धर्व कलाकार र संगीत परम्परा बलियो हुनुको सट्टा आज संकटमा छ।

हुन त इतिहासका पानामा कास्की हेम्जाकी हीरादेवी गाइनेनीले माथवरसिंह थापाको कर्खा गाएको प्रसंगको चर्चा पढ्न पाइन्छ। त्यसै गरी मणिराम गाइनेले कर्खा गाउँदै पृथ्वीनारायण शाहका सन्देशवाहकको काम गरेको प्रसंग पनि छँदै छ।

रेकर्डिङ परम्परा सुरु भइसकेपछि सारंगी र गन्धर्व संगीत परम्परालाई मूलधारमा चिनाउने र चर्चित बनाउने श्रेय झलकमानलाई जान्छ। कुटुम्ब ब्यान्डका पूर्वसदस्य तथा सारंगीवादक किरण नेपाली भन्छन्, “गन्धर्व संगीत/संस्कृतिलाई मूलधारमा लोकप्रिय बनाउने सबैभन्दा ठूलो योगदान झलकमानकै देख्छु। त्यसको सुरुआत आमैले सोध्लिन् निबाटै भयो।”

गन्धर्व संस्कृतिभित्र गाथा, कर्खा, झ्याउरेलगायत विविध शैलीका गीति परम्परा अभ्यासमा छन्। झलकमानले ‘आमैले सोध्लिन् नि’ पछि यिनै विविध शैलीका गीत गाए। जसमध्ये ‘अल्लारे नानी’, ‘तानसेन घमाइलो’, ‘बाला जोबन’, ‘डाँफेचरी’, ‘निर चरी घुमेर डाँफे’, ‘धानको बाला मस्यामले जेलेको’, ‘आऊ बसम् थकाइ मारम्’ आदि चर्चित बने।

झलकमान गन्धर्व। तस्बिर : द काठमाडौँ पोस्ट

‘सीप चल्ने, पानी नचल्ने’ भोगाइका साक्षी झलकमान राष्ट्रिय कलाकारका रूपमा स्थापित हुनु गन्धर्व समुदायकै लागि गर्व र आत्मसम्मानको कुरा थियो। झलकमानकै कारण गन्धर्वहरूलाई रेडियोमा स्थापित हुन ठूलो संघर्ष गर्न परेन। श्रोताहरूले समेत उनीहरूको कलाशैली रुचाए। तर, क्षमता र लोकप्रियताका बाबजुद गन्धर्व कलाकार र संगीत परम्परा बलियो हुनुको सट्टा आज संकटमा छ।

सारंगीवादक नेपाली भन्छन्, “गन्धर्वको सांस्कृतिक अभ्यासलाई राज्यले धरोहर भनेर बुझ्न र संरक्षण गर्न सकेन। यही कारण अथाह सम्भावना हुँदाहुँदै मौलिक नेपाली गीतसंगीतको त्यो प्रभाव छैन।”

गन्धर्वप्रतिको राज्यको दृष्टिकोण र व्यवहार थाहा पाउन उबेलाको समाजलाई बुझ्‍नुपर्छ। त्यसबखतको नेपाल पुस्तकमा भीमबहादुर पाँडे यही लेख्छन्, ‘पहाडी गाउँमा गाइनेहरूको नाममा कुनै जग्गा-जमिन दर्ता हुँदैनथ्यो। त्यसैले उनीहरूलाई आजीवन सुकुम्बासी हुनु अनिवार्य थियो।’

गाइने भनिने गन्धर्वहरू लाहुरेका सन्देशवाहक मात्र थिएनन्। माग्नेको भेषमा गाउँ गाउँ, घर घर र हाटबजारमा सारंगीको लय मिलाउँदै पुर्खाहरूको पौरखबारे कर्खा गाउँँदै हिँड्थे। नेपाल एकीकरण, कोतपर्व, अंग्रेज, भोट, सिक्किम र भारतीय रजौटादेखि विश्वयुद्धका लडाइँका किस्साहरू सुरिलो भाकामा सर्वसाधारणलाई सुनाउँथे। उनीहरूका गीत नै गाउँलेका लागि नेपाल, नेपाली राष्ट्रियता र बाहिरी संसारको खबर बुझ्ने माध्यम थिए। पाँडेका नजरमा, ‘त्यसबखत नेपाली राष्ट्रियता र कुलीन चालचलनको दियो गाउँघरमा निभ्न नदिने खास श्रेय यदि नेपालमा कसैलाई छ भने त्यही बिचरो छातीकोरा गाइनेलाई छ।’

तर, तत्कालीन शासक र रेडियो नेपालको वर्चस्वमा रहेको तप्का र नीतिनिर्माताहरूले गन्धर्व संगीत/संस्कृतिलाई ‘टोकन’ का रूपमा मात्र प्रयोग गरे। रेडियो नेपाल लोकविधा र संस्कृतिप्रति अनुदार थियो। आधुनिक संगीत र लोकसंगीतको वर्गीकरण यसको उदाहरण हो जसले आधुनिकतालाई विशिष्ट र लोकलाई दोयम श्रेणीको दर्जा दियो।

लोकसंगीत उन्नत हुन भाका, भाषा, शब्द र बाजाको प्रचार मात्रले पुग्दैन। लोकजीवन र लोकअभ्यासप्रति विशेष संवेदनशीलता पनि चाहिन्छ। तर, तत्कालीन समाजमा विद्यमान छुवाछुतको असर रेडियो नेपालभित्र पनि पर्ने नै भयो।

गणेश प्रसाद ज्ञवालीले त्रिभुवन विश्वविद्यालयका लागि तयार पारेको ‘लोकगायक झलकमान गन्धर्वको जीवनी, व्यक्तित्व र कृतित्व’ शोधमा झलकमानले करिब २०० गीत गाएको उल्लेख छ। तर, तीमध्ये धेरै गीत रेडियोमा बज्नै छोडिसके।

झलकमानसँग दार्जिलिङ, सिक्किम, कालिम्पोङदेखि जर्मनीसम्मको यात्रा गरेका गायक कुमार बस्नेत भन्छन्, “झलकमान दाइहरूलाई त्यतिबेलाका नाम चलेकै कलाकारहरूले हेलाको दृष्टिले हेर्थे। लोकगीत गाउने भएकाले मलाई पनि गाइने भनेर उडाउँथे।”

यस्तो माहोलमा झलकमानलगायत धेरै कलाकारले सम्मान र विभेदको दोसाँधमा बसेर काम गरे भन्ने अनुमान सहजै गर्न सकिन्छ। जातीय विभेद र लोकगीत-संगीतप्रतिको बेवास्ताकै कारण आजपर्यन्त नेपाली संगीतले पहिचानको संकट बेहोर्नुपरिरहेको छ। झलकमानजस्ता मौलिक र सिद्धहस्त लोकस्रष्टाले नेतृत्व गरेको धार नेपाली संगीतको मूलधार हुन नसक्नु त्यसकै परिणाम हो।

यस्तो परिप्रेक्ष्यमा झलकमानहरूको सांगीतिक बिरासतले कसरी निरन्तरता पाउला?

झलकमान गन्धर्व

‘प्रोजेक्ट सारंगी’ मार्फत नयाँ पुस्तालाई सारंगीप्रति आकर्षित गर्ने अभियान चलाइरहेका नेपाली गन्धर्व संस्कृतिका धेरै कुरा नासिइसकेको चिन्ता पोख्छन्। “एउटा बलियो सम्भावना भनेको गन्धर्व कलाकारका सिर्जना रिक्रिएट गरेर नयाँ पुस्तामा पुर्‍याउनु हो,” उनी भन्छन्, “जस्तो कि रामशरण नेपालीको पुरानो गीत उहाँकै छोराले गाएपछि चर्चामा आयो। हीरादेवी वाइबाको गीत पनि उहाँको छोरीले गाएपछि श्रोताले खोजी खोजी सुने।”

गणेश प्रसाद ज्ञवालीले त्रिभुवन विश्वविद्यालयका लागि तयार पारेको ‘लोकगायक झलकमान गन्धर्वको जीवनी, व्यक्तित्व र कृतित्व’ शोधमा झलकमानले करिब २०० गीत गाएको उल्लेख छ। तर, तीमध्ये धेरै गीत रेडियोमा बज्नै छोडिसके।

नेपालीले भनेझैँ नयाँ पुस्ताका श्रोताले रुचाउने शैलीमा पुराना गीतहरू पुग्ने हो भने स्मृतिबाट हराउन लागेका धेरै सिर्जनाले पुनर्जीवन पाउँछन्। तर, पुराना गीतहरू नयाँ पुस्तामा पुर्‍याउन प्रतिलिपि अधिकारको झमेला छ।

“पुराना गीत चलायो कि म्युजिक नेपालको कपिराइट लाग्छ। रेडियो नेपालमा रेकर्ड भएका गीतहरूमा म्युजिक नेपालको कपिराइट कसरी लाग्छ, बुझिनसक्नु छ,” नेपाली भन्छन्, “गन्धर्वको उठाउनैपर्ने कुरा, पहिलाको हाम्रो संगीत गीत, कर्खा, इतिहास जुन हामीसँग छ, राज्यस्तरबाट सार्वजनिक गर्नुपर्‍यो।”

झलकमान बितेको १३ वर्षपछि बेलायतको वेल्सकी भ्यालेन्टाइन हार्डिङसँग झलकमानका रचना सुरक्षित रहेको जानकारी आयो। यसले झलकमानका अन्य रचना पनि फेला पर्नसक्ने संकेत गर्छ।

यस्ता माध्यम र प्रयासहरूको आफ्नै सीमा हुन्छ। देशकै मौलिक तथा परम्परागत संगीत उकास्न राज्यले नै पहल गर्नुपर्छ।

नेपाली यस काममा राज्यले पहल र लगानी गर्नुपर्ने जोड दिन्छन्। “हामीकहाँ राज्यले बजेट छुट्याइदिएका भाषा, संगीत तथा नाट्य र ललितकलासम्बन्धी तीन वटा प्राज्ञिक संस्था छन्,” भन्छन्, “तर, ती संस्था संस्कृतिको जगेर्ना गर्नेभन्दा राजनीतिक भागबन्डामै रमाएका छन्। यस्तै हो भने नेपालका धेरै लोकसंगीतसँग जोडिएका अभ्यास र परम्परा शब्दमा सीमित हुनेछन्।”

नेपालको श्रुतिपरम्परामा बाँचेका गीतसंगीतको कुरा गर्दा अर्को पाटो पनि छ। नेपालमा अनुसन्धानका लागि भनेर आएका धेरै विदेशीले यहाँका लोकधुन र गीत रेकर्ड गरेर लगेका छन्। ती रेकर्ड फ्रान्स, जर्मनी, अमेरिका, बेलायत, जापानलगायत देशका संग्रहालय र विश्वविद्यालयका पुस्तकालयमा छन्।

“विदेशीले रेकर्ड गरेर लगेका हाम्रो श्रुतिपरम्परामा रहेका गीतसंगीत हाम्रै सम्पत्ति हो!” सारंगीवादक नेपाली भन्छन्, “ती अमूल्य सम्पदालाई नेपाल ल्याएर उपयोग गर्नेतर्फ राज्यले पहल गर्नुपर्छ।”

झलकमान बितेको १३ वर्षपछि बेलायतको वेल्सकी भ्यालेन्टाइन हार्डिङसँग झलकमानका रचना सुरक्षित रहेको जानकारी आयो। यसले झलकमानका अन्य रचना पनि फेला पर्नसक्ने संकेत गर्छ। झलकमानका रचनाजस्तै अन्य कति नेपाली स्रष्टाका गीतसंगीत विदेशीका संकलनमा होलान्। अझ धेरै झलकमानहरूको पहिचानका लागि ती सामग्रीको खोज, संरक्षण र प्रवर्द्धन हुनैपर्छ।