काठमाडौँ। मकवानपुरको भीमफेदीमा सडकमै पल्टिएको ट्रक हटाएसँगै अहिले कान्ति लोकपथ नियमित सञ्चालनमा आएको छ।
शनिबार बिहान सडकमै पल्टिएपछि सडक नियमित हुन झन्डै ६ घण्टाभन्दा बढी समय लागेको प्रहरीले जनाएको छ।
वीरगन्जबाट औषधि लिएर काठमाडौँ जाँदै गरेको ट्रक शनिबार बिहान ५ बजेतिर भीमफेदी गाउँपालिका ८, बगुवास्थित कान्ति लोकपथमा पल्टिँदा दुवैतर्फ यातायात अवरुद्ध भएको थियो।
ब्रेक फेल भएर ना.३ख ३१९२ नम्बरको ट्रक सडकमै पल्टिएको थियो। सडकमै पल्टिएको ट्रकलाई बगुवामै रहेको क्रसर उद्योगको जेसीभीको सहायताले हटाइएको थियो।