काठमाडौँ। नेपाल आर्मीका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठ दोस्रो गरिमा रोड रेसमा शनिबार च्याम्पियन बनेका छन्। १० किलोमिटर दूरीको दौडमा राजन पुरुष र सन्तोषी महिलामा पहिलो भएका हुन्।
राजनले निर्धारित दूरी २९ मिनेट १२.१२ सेकेन्डमा पूरा गरे। गत संस्करणका विजेता आर्मीकै मुकेशबहादुर पाल २९ मिनेट ५०.९२ सेकेन्ड समयसाथ दोस्रो भए। तेस्रो स्थानका आर्मीकै सञ्जय श्रेष्ठले निर्धारित दूरी ३० मिनेट ०५.०० सेकेन्डमा तय गरे। आर्मीका गणेशसिंह रावत र नरेन्द्रसिंह रावत क्रमशः चौथो र पाँचौँ बने।
साग स्वर्णधारी ओलम्पियन सन्तोषीले निर्धारित दूरी तय गर्न ३४ मिनेट ५४.४ सेकेन्ड समय खर्चिन्। पहिलो संस्करणमा पनि सन्तोषी पहिलो भएकी थिइन्। ३५ मिनेट १५.३ सेकेन्ड समयसाथ आर्मीकी निशा मजाकोटी दोस्रो तथा ३६ मिनेट २१.३ सेकेन्ड समयसाथ आर्मीकै सिर्जना पाण्डेय तेस्रो भए। आर्मीकी निर्मला केसी चौथो र एपीएफकी आशा रावत पाँचौँ स्थानमा रहे।
दुवै समूहमा शीर्ष पाँच स्थान हात पार्नेले क्रमशः ५० हजार, ३५ हजार, २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार हात पारे।
गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरेको दौडको भेट्रान ५० वर्षमाथि पुरुष ५ किलोमिटरमा धर्म महर्जन पहिलो, अभिनारायण अधिकारी दोस्रो, रेवतबहादुर दाहाल तेस्रो, सानुकाजी महर्जन चौथो र देव महर्जन पाँचौँ बने।

भेट्रान महिला ४५ वर्षमाथि कल्पना महर्जन, महेश्वरी थापा रायमाझी, सावित्रा भण्डारी, ज्ञानी महर्जन र सानु अवाले क्रमशः पहिलोदेखि पाँचौँ स्थानमा दौड टुंगाए। पुरुष/महिलामा पहिलो हुनेले ३० हजार, दोस्रोले २० हजार, तेस्रोले १४ हजार, चौथोले १० हजार र पाँचौँले ७ हजार नगद पुरस्कार जिते।
कर्पोरेटतर्फ पुरुष ५ किलोमिटरमा ईश्वर बुढाथोकी पहिलो, अनुप केसी कार्की क्षेत्री दोस्रो र तेजबहादुर गिरी तेस्रो भए। स्पर्धाको महिलामा रजिना दुलाल शीर्ष स्थानमा रहिन्। कर्पोरेटमा पनि भेट्रानसरह नै नगद पुरस्कार थियो।
विजेतालाई विशेष फौज बाहिनी, महाराजगन्जका सहायक रथी दीपेन्द्र गुरुङ, गरिमाका अध्यक्ष दिलीपप्रताप खाँणलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। सबै दौड बालुवाटारस्थित बैंकको प्रस्तावित केन्द्रीय कार्यालय परिसरबाट सुरु भइ पुनः त्यही आएर टुंगिएको थियो। दौडमा १४ सय धावकको सहभागिता रहेको एथलेटिक्स परिवार, नेपालका अध्यक्षसमेत रहेका रेस डाइरेक्टर राजन खत्रीले जनाएका छन्।