बारा। बाराको सिमरामा जेन-जी युवा र नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुबीच बुधबार भएको झडपपछि अशान्त बनेको यो क्षेत्र आज (शनिबार) भने लयमा फर्किन लागेको देख्न सकिन्छ।
बुधबार र बिहीबार सडक अवरोध गरी विरोध प्रदर्शन गरेका जेन-जी युवा र जिल्ला सुरक्षा समिति बाराबीच शुक्रबार साँझ भएको वार्तासँगै अहिले अवस्था सामान्य बन्दै गएको हो। जेन-जी युवाहरुले शान्तिपूर्ण रुपमा गरिरहेको प्रदर्शनीमा नेकपा एमालेनिकट नेता तथा कार्यकर्ताले अवरोध गरी हातपात गरेसँगै सिमरा अशान्त बनेको थियो।
२३ र २४ भदौमा देशव्यापी भएको जेन-जी आन्दोलनका क्रममा तत्कालीन सरकारले शक्तिको चरम दुरुपयोग गरी युवाहरुको हत्या गरेको र सो घटनामा संलग्न तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतलाई कानुनी रुपमा कारबाही गर्नुपर्ने माग राखी शान्तिपूर्ण प्रदर्शनी गर्दै गरेको जेन-जी समूहलाई एमालेनिकट नेता तथा कार्यकर्ताहरु हातपात गरेको बारा जिल्ला जेन-जी युवा संयोजक सम्राट उपाध्यायले जानकारी दिए।

“हाम्रो शान्तिपूर्ण प्रदर्शनी थियो, त्यही समयमा नेकपा एमालेका नेता महेश बस्नेतलगायत अन्य नेता बारा आउने कुरा हामीले सुनेका मात्र थियौं, हामीले कुनै झगडा वा अशान्ति मच्चाउन प्रदर्शनी गरेका गरेका थिएनौं, तर त्यही समयमा प्रहरी प्रशासन र एमालेनिकट नेता तथा कार्यकर्ताहरु हातपात गरेपछि हामी चुप लगेनौँ‚” उनले भने।
शुक्रबार साँझसम्म बसेको वार्तामा जेन-जी युवाले विभिन्न ६ बुँदे माग राखेका छन्। घटनामा संलग्न योजनाकारलाई पक्राउ गरी कारबाही गर्नुपर्ने, जेन-जी घाइतेलाई निःशुल्क उपचार गर्नुपर्ने, तत्कालीक जिल्ला प्रहरी प्रमुख लगायतलाई कारबाही गरिनुपर्ने उनीहरूको माग छ।
यो विषयमा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रलगायत अन्य सुरक्षा निकाय र जेन-जी समूहको सहमति भएसँगै सोमबारसम्मका लागि आन्दोलनका सबै कार्यक्रम स्थगन गरिएको छ।
आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएसँगै शनिबार बिहानैबाट बारा सिमरा क्षेत्रको अवस्था सामान्य बन्दै गएको छ। स्थानीयहरू बिहानैदेखि आफ्नो काममा व्यस्त देखिएका छन्। बुधबार र बिहीबार अवस्था निकै तनाव थियो, सुरक्षाको अवस्था नाजुक थियो, डर थियो अब भने सामान्य भएको छ, एक स्थानीयले बताए।

एकतिर जेन-जी, अर्कोतिर एमालेनिकट नेता तथा कार्यकर्ताहरु र प्रहरी प्रशासन शान्तिको माहोल नै थिएन, स्थानीयहरू त्रासमा बस्नुपरेको थियो। वार्ता राम्रो भएको छ, अब भोलिबाट स्कुल पनि खुला हुन्छ, सामान्य बन्दै गयो अब स्थानीयहरु अहिले भने ढुक्क देखिन्छन्।
हेरौँ सिमरा क्षेत्रका थप तस्बिर :
