काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

के छ स्थायी यो जगत्‌मा? अहंकारका महल खरानी हुन्छन्। को छ अमर? कसले के जित्छ? हार्नेहरू किन अकारण आत्तिन्छन्?

७ मंसिर २०८२
अ+
अ-

जहाज चढ्नुअघि जेसिकले दोहोर्‍याएर सोधेको थियो, ‘किभ हरेक क्रिसमसमा हिउँले सेत्तै हुन्छ, जाडोका कपडा झोलाभरि खाँदेका छौ कि छैनौ?’

डेभिडले त झन् सम्झाउने नै भयो, ‘हिउँमा लगाउने जुत्ताको पनि व्यवस्था गरेर आउनु नि। फेरि उही समर सु लगाएर आउलाउ तिमी त।’

नभन्दै, म म्युनिख-वार्सा हुँदै रेलमा रातभरको कहर सहेर अर्को दिन बिहान जब किभ पुगेँ, राजधानी सहर हिउँले सेताम्मै फुलेको देखेँ। उत्तर रुसतिरको चिसो सोहोरेर डिनिप्रो नदीमाथि बयेली खेल्दै आउने चिसो बतास हिउँका अणुसहित किभका गल्लीमा बजारिँदा त्यस सहरले कति निर्दयी जाडो सहनुपर्दो रहेछ भन्ने कुरा त्यही पुगेपछि मात्र थाहा भयो।

थकित शरीर लिएर होटलमा ‘चेक इन’ गरेपछि मैले केही बेर सुत्ने कोसिस गरेँ। तर, मनको चाहनाले शरीरलाई सुस्ताउन दिएन। मेरो कोठा दसौँ तलामा दक्षिणतिर फर्केको थियो। मैले घुँडासम्मै झरेर वाल टु वालसम्म फैलिएको सिसाको झ्यालमा झुन्डिएको बाक्लो पर्दा खोलेँ अनि कुर्सीनजिकै तानेर बाहिरी दृश्य हेर्न थालेँ। बाहिर बिहानैदेखि प्रकाशको नाममा मधुरो उज्यालो मात्रै थियो। बाटोपारि ग्रीष्म र शिशिर याममा क्रमशः हरिया र रंगीन कोलाजमा मनै हुरुक्क पार्ने रूखहरू यतिबेला काला र नांगा थिए। जमिनभरि खसेका पातहरूलाई हिउँको सेतो तन्नाले सपक्कै ढाकेको थियो। अन्य देशमा जस्तो युद्धग्रस्त युक्रेनको हिउँमा चिप्लेटी खेल्न बालबालिका रमाउँदै बाहिर निस्केका थिएनन्। आकाश धुम्म थियो।

म ढल्किन नपाउँदै छोटो दिन पो ढल्कियो। तर, साँझ पर्दै जाँदा आकाश बिस्तारै खुल्न थालेको थियो। चन्द्रमाको प्रकाशमा हिउँ चम्किँदा दिनभन्दा त रात पो बढी उज्यालो हो कि भन्ने भ्रम केही दिनसम्म मेरो मस्तिष्कमा रहिरह्यो।

अर्को दिन साँझ अफिसबाट होटल फर्कंदै गर्दा नशाले चुर एक अधबैँसे मानिस रेलवे स्टेसनबाहिर युक्रेनियन भाषामा पाखुरा सुर्किंदै कराउँदै गरेको देखेँ। के भनिरहेका थिए, मैले बुझ्न सकिनँ। हुन पनि सक्छ, उनी युक्रेनी सरकारलाई गाली गर्दै थिए या पुटिनलाई या अरू कसैलाई। अरूले पनि खासै ध्यान दिएका थिएनन्। पिएका बेला जतिसुकै आवश्यक र राम्रो कुरा गरे पनि कसैले वास्ता नगर्ने रहेछ। त्यसमाथि समय र स्थान पनि उभिएर सुन्नका लागि उपयुक्त थिएन।

ती अधबैँसेको लरबर र बर्बराहटले मलाई ४५ वर्षअघि गाउँको एउटा घटना सम्झना आयो। त्यतिबेला म १० वर्षको हुँदो हुँ।

औलो उन्मूलनको घोषणालगत्तै हामी तानसेनबाट रुपन्देहीस्थित गौतम बुद्धको मावली देवदहनजिकै झरेका थियौँ। गाउँमा आधाजति थारू, चौधरी र बाँकी पहाड तथा भारतलगायत अन्य देशबाट बसाइँ सरेर आएकाहरू थिए। हरवा, चरवा, कुमाले प्रथा उन्मूलन भइसकेको थिएन। उनीहरूका छाप्रा गाउँ उत्तरतिरको ठूलो चौरछेउमा थिए। चौरको अर्को छेउ सिनो फाल्ने ठाउँ थियो जहाँ गिद्धको लुकामारी चलिरहन्थ्यो।

जसलाई सम्झेँ, ती थिए- नीलकण्ठ भुजेल बाजे।

बर्मेली बज्यैको भट्टीबाट निस्केर नशाले लट्ठ नीलकण्ठ बाजे रातको ९/१० बजे गाउँको चौबाटोमा ढुनमुनिँदै आउँथे अनि धोद्रो स्वर लर्बराउँदै कुर्लन्थे, ‘कोही छ? … माइकालाल?’

गाउँ चुपचाप सुन्थ्यो। गाउँको मौनतालाई सायद उनी गाउँले हारेको र आफूले जितेको ठान्थे। ३० सेकेन्डजति पछि फेरि कराउँथे, ‘आइज साला, बाहिर मात्रै निस्की, मूला गिँडे झैँ गिँड्दिन्छु।’

निदाउन लागेका गाउँलेले एउटा जँड्याहाको हुंकारको के प्रतिक्रिया दिऊन्! कुकुरहरूसमेत कुइँकुइँ गर्दै घर, गोठभित्र छिर्थे।

हजुरआमा भन्नुहुन्थ्यो– रक्सी पिएपछि नीलकण्ठको अमुक निसाना एक व्यक्तिप्रति लक्षित हुन्थ्यो। ती थिए- गाउँका सबैभन्दा धनी, मालिक ताराबहादुर कार्की।

धान कुट्ने मिल र कपडा बुन्ने हाते तान उद्योगबाट मनग्गे धन कमाएपछि नीलकण्ठमा सम्पत्तिको उन्माद पञ्चायती व्यवस्थाका मन्त्रीहरूभन्दा चर्को हुँदै गएको थियो। उनलाई गाउँको नयाँ मालिक बन्नु थियो।

‘बाहुनले जात फालेर रक्सी पिउँदैमा सबै कुरा आफूले खोजेजस्तै कहाँबाट हुँदो हो ?’ अर्को दिन बिहान रक्सीले छाडेपछि रुझेको बिरालोजस्तो हालतमा नीलकण्ठलाई देखेपछि गाउँलेहरू आपसमा साउती मार्थे।

नीलकण्ठ र मालिक ताराबहादुरमा धेरै कुराको फरक थियो। एकरूपता थियो त एउटै कुरामा– दुवै होस नहराउन्जेल पिउँथे। तर, ताराबहादुर पिएपछि जसोतसो घर पुग्थे र सुत्थे। नीलकण्ठ भने पहिले स्वास्नी कुट्थे अनि बाहिर निस्केर गाउँलाई नै खाउँला जस्तो गर्थे।

सन् १९७० को उत्तरार्धमा भारतको उत्तर-पूर्वी नागाल्यान्डमा भाषा र जातको आधारमा दंगा भड्किएपछि नेपालीभाषीहरू ज्यान बचाउने क्रममा नेपाल फर्कने लहर चलेको थियो। त्यही लहरो समातेर नीलकण्ठ पनि अर्धांगिनीसहित दुई छोरा र एक छोरी च्यापेर आएको गाउँलेहरू भन्थे।

नीलकण्ठका दादागिरी भरिएका रातहरू लामो समयसम्म भने रहेनन्।

एक वर्ष हिउँद याममा करेत सर्पले टोकेर कान्छी छोरीको मृत्यु भयो। भएभरको सम्पत्तिले पनि छोरीलाई बचाउन नसकेपछि सायद उनको होस खुल्यो।

उनले पिउन छाडे। सम्पत्तिको तुजुक देखाउन छोडे। पाखुरा सुर्काउन छाडे। जनै लगाउन थाले। बिहान बिहान चापाकलको न्यानो पानीले शरीर नुहाएर चोखा वस्त्र धारण गर्न थाले। दुर्गास्तोत्र, हनुमान् चालिसा जप गर्न थाले। मन्दिर धाउन थाले। सत्संग गर्न थाले। दु:खीलाई दान दिन थाले। छोरीको सम्झनामा मन्दिरनजिकै विश्रामगृह बनाउन लगाए। वरको रूखमुनि महिनाको एकपटक हुने कचहरीमा पनि नचाहिँदा फरक मत राख्न छोडे। पोखरी बचाउ अभियानमा सहमति दिए। सडक चौडा होस् भनेर धान कुट्ने मिल निकै पछाडि सारे। मालिक बाजेसँग बोल्न थाले। थारूहरूलाई हेय दृष्टिले हेर्न छाडे। हरवा, चरवा, चमार, कुम्हाल सबैका झुप्राअगाडि उभिएर कुरा गर्न थाले। ‘अब बालबच्चालाई खेतमा मात्रै होइन, स्कुल पनि पठाउन थाल,’ भन्न थाले।

नीलकण्ठको नयाँ अवतारलाई गाउँले सहजै स्विकार्‍यो। उनी सुध्रिएपछि भड्किन खोजेको समाजमा फेरि एकताको भावना महसुस भयो। समाजको बलमा चौरको पश्चिमछेउमा पञ्चायत भवन बन्यो। दक्षिण-पूर्वीछेउमा प्राथमिक स्कुल बन्यो। सिनो फाल्ने गरेको ठाउँमा मौरियाको प्रहरी चौकीको शाखा खुल्ने कुरा चल्यो। नीलकण्ठले प्रधानपञ्चको चुनाव लडून् भन्ने समाजको चाहनालाई सम्मान गर्दै उनले स्थानीय भलाद्मी बुद्धिराम चौधरीलाई प्रधानपञ्चमा उठाएर जिताए। गाउँमा डाँका लाग्न छाड्यो। राति ‘जागते रहो…’ भन्दै सुरक्षा पहरा दिनुपर्ने अवस्थाको अन्त्य भयो।

बुद्धिरामले एक कार्यकाल नसकाउँदै पञ्चायती व्यवस्था ढल्यो। राजा संविधानको दायरामा आए। प्रजातन्त्र पुन:स्थापना भयो। नीलकण्ठ कांग्रेसमा लागे। तर, त्यतिबेलासम्म उनलाई मधुमेहले गाल्दै लगेको रहेछ। एकदिन अनायासै उनको आत्माले शरीर छाडेको खबर आयो।

नीलकण्ठको अवसानको केही वर्षपछि मालिक ताराबहादुरको इहलीला पनि सकियो। त्यसपछि गाउँमा कोही मालिक रहेनन्। कोही बन्न चाहेनन् पनि। समाज र समयले कोल्टे फेरे।

हरेक मानिस आफू बस्ने समाजको निर्माण अनि विनिर्माणको साक्षी बनिरहेको हुन्छ। समाज निर्माणको रोमान्टिक समय छिटै बित्छ। तर, जब विनिर्माणको घण्टी बज्न थाल्छ, उथलपुथल हुन थाल्छ। कता कताबाट नीलकण्ठहरू टप्कन्छन्। जहाँबाट आएका थिए, त्यतैतिरको स्वभाव भित्र्याउँछन्। आफूलाई स्वागत गरेको समाजले के पचाउँछ, के पचाउन सक्दैन ध्यान दिँदैनन्। चौबाटो ओगटेर कुर्लन्छन्। समाज मूकदर्शकबाहेक केही बन्न सक्दैन। तर, बुद्धले भनेजस्तै त्यो समय पनि गुज्रन्छ।

के छ स्थायी यो जगत्‌‌मा? अहंकारका महल खरानी हुन्छन्। को छ अमर? कसले के जित्छ? हार्नेहरू किन अकारण आत्तिन्छन्?

म गम खान्छु, किनकि बुझेको मैले पनि कहाँ छु र!