काठमाडौँ। लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले सरकारले गठन गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रणय कुमारले उक्त रकमबराबरको भौचर आज (आइतबार) अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई हस्तान्तरण गरे।
यस्तै कोषमा जम्मा हुने गरी एफवान सफ्ट ग्रुपमा आबद्ध एफवान सफ्ट इन्टरनेसनल, इ-सेवा लिमिटेड र फोनपे पेमेन्ट सर्भिस लिमिटेडका कर्मचारी तथा उक्त कम्पनीको संयुक्त योगदान हुने गरी ७५ लाख रुपैयाँको चेक पनि अर्थमन्त्री खनाललाई हस्तान्तरण गरिएको छ।
कोषमा योगदान गरेकामा एलआईसी नेपाललाई अर्थमन्त्री खनालले धन्यवाद दिए। कोषमा हालसम्म ९ करोड ३० लाख रुपैयाँ जम्मा भएको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए।