आचारसंहिता माघको पहिलो सात जारी हुने
काठमाडौँ। आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन र आगामी ११ माघमा तय भएको राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा राजनीतिक दलले निवेदन दिने क्रम जारी छ।
आयोगको स्वीकृत कार्यक्रमअनुसार १ मंसिरदेखि सुरु भएको निवेदन दिने यो क्रम १० मंसिरसम्म जारी रहनेछ। अहिलेसम्म प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नौ दलले निवदेन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
उनले निर्वाचनका लागि जारी हुने निर्वाचन आचारसंहिताको प्रारम्भिक मस्यौदा तयार गरी सुझावका लागि आयोगको वेबसाइटमा राखिएको र आजसम्म सुझाव दिन आह्वान गरिएको जानकारी दिए। विभिन्न चरणबाट सुझाव प्राप्त भएपछि आयोगले आगामी १-२ माघमा आचारसंहिता जारी गर्ने आयोगको तयारी छ। निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीको व्यवस्थापनका लागि खरिद प्रक्रिया र अन्य तयारी भइरहेको आयोगले जनाएको छ।
यो निर्वाचनको पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फमा उम्मेदवारको मनोनयन आगामी ६ माघमा हुने कार्यक्रम छ। आगामी २० फागुनमा राष्ट्रिय सभा रिक्त हुने सदस्यको एकतिहाइ सदस्य १९ मध्ये १८ सदस्यका लागि ११ माघमा निर्वाचन हुँदै छ। राष्ट्रिय सभाको एक सदस्य राष्ट्रपतिबाट मनोनयन हुनेछ। यो निर्वाचनका लागि आगामी २३ पुसमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यसूची छ।
आयोगमा दर्ता कायम रहेका पुराना र नयाँ सबै दलले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बेग्लै निवेदन दिनुपर्नेछ। आयोगको कार्यक्रमअनुसार यही ५ मंसिरमा मतदाता नामावली संकलन र अद्यावधिक सम्पन्न भइसकेको छ।