काठमाडौँ। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी‚ राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल र रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपालले आगामी चुनाव एउटै चिह्नबाट लड्ने सहमति गरेका छन्।
जसपा अध्यक्ष राई, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष महतो र नाउपा नेपालका संरक्षक चौधरीले एउटै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुन आइतबार सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।
साझा चुनाव चिह्नका लागि नाउपा नेपालको चुनाव चिह्न चकिया (जाँतो) प्रयोग गर्ने तीन दलबीच सहमति जुटेको छ। उनीहरुले विचार मिल्ने अन्य पार्टीलाई पनि एकल चुनाव चिह्नमा आउन आह्वान गरेका छन्। सहमतिपछि जारी विज्ञप्तिमा भनिएको छ‚ “विचार मिल्ने अन्य पार्टीलाई पनि एकल चुनाव चिह्नमा आउन आह्वान गर्दछौँ ।”

तीनवटै पार्टी हालै पुनर्गठन भएका हुन्। जसपा नेपालबाट विभाजित भएर भनेको जसपा फेरि विभाजित बनेको छ। राजेन्द्र श्रेष्ठलगायत नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा जाने भएका छन्।
नागरिक उन्मुक्ति पार्टी विभाजन गरेर चौधरीले नयाँ पार्टी गठन गरेका हुन्। त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीबाट अलग भएर महतोले पनि नयाँ पार्टी बनाएका हुन्।
