काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

७ मंसिर २०८२
राम र सीताको विवाह भएको सक्कली विवाह मण्डप। सबै तस्बिर : वीरेन्द्र रमण
अ+
अ-

जनकपुरधाम। अहिले जनकपुरधाममा साताव्यापी विवाहपञ्चमीको उल्लास छ। स्थानीयदेखि भारतबाट समेत आएका आगन्तुकले सहर गुलजार बनेको छ भने रामसीताको विवाहको गीतले माहोल गुन्जायमान छ।

तर, प्रत्येक वर्ष विवाहपञ्चमीमा जानकी मन्दिर र आडैको विवाहमण्डप झकिझकाउ पारिए पनि त्रेता युगमा भगवान् राम र सीताको विवाह भएको सक्कली विवाहमण्डप (मणिमण्डप) भने उपेक्षामा पर्ने गरेको छ।

किंवदन्तीअनुसार त्रेता युगमा भगवान् राम र सीताको विवाह भएको स्थल हो, मणिमण्डप। जनकपुरधाम उपमहानगरपालिका वडा नं. १३ मा रहेको मणिमण्डप जानकी मन्दिरबाट केवल तीन किलोमिटर ‍टाढा छ। तर, यहाँ कुनै उल्लास छैन।

जानकी मन्दिरकै छेउमा बनाइएको मण्डपलाई राम-सीताको विवाह भएको मण्डप मानेर प्रचार गरिएका कारणसमेत यो स्थल ओझेल परेको हो। प्रचार अभावकै कारण जनकपुर आउने धेरैले मणिमण्डप कहाँ छ भन्ने भेउसमेत पाउँदैनन्। जनकपुरधामका स्थानीय योगन्द्र राय जानकी मन्दिरकै कारण मणिमण्डप उपेक्षामा परेको बताउँछन्। उनी भन्छन्, “यहाँ जानकी मन्दिरको २५ बिघा जग्गा छ। यसको प्रचार हुँदा यो जग्गा अन्यको आँखामा पर्छ भनेर जानकी मन्दिरकै छेउमा विवाहमण्डप निर्माण गराइएको हो। त्यसैले पनि मणिमण्डप उपेक्षामा परेको हो।”

अर्को, बजार क्षेत्रबाट टाढा रहेकाले पनि यो स्थल उपेक्षामा परेको रायको बुझाइ छ।

मणिमण्डप क्षेत्रमा पुरातत्त्व विभागले अहिलेसम्म दुईपटक उत्खनन गरेको छ। उत्खननका क्रममा त्रेता युगका विभिन्न कलात्मक भाँडासहितका ऐतिहासिक सामग्री फेला परेका थिए। मणिमण्डपनजिकै विवाहमण्डपमा जानुपूर्व भगवान् रामले खुट्टा धोएको पोखरी, विवाह वेदी, वेदीमा रहेका फूललगायत सामग्री विसर्जन गरिएका पोखरी पनि छन्। ती पनि ओझेल परेका छन्।

जनकपुरधाममा विवाह गर्न आउनेहरूको सुविधाका लागि सहरी विकास मन्त्रालयले भव्य भौतिक संरचना निर्माण गरेको छ। १८ करोड ५३ लाख रकम खर्च गरेर बनाइएका ती संरचना प्रयोगमा भने आएका छैनन्। विवाह प्यालेसमा ७० जना अटाउने हल, अट्याच ट्वाइलेटसहितका १६ वटा बेडरुम, डाइनिङ हल, किचेन, म्युजियमलगायत निर्माण गरिएका छन्। हल बनेर उद्घाटन भए पनि यसलाई कसले सञ्चालन गर्ने टुंगो लागेको छैन।

ऐतिहासिक मणिमण्डप क्षेत्रका तस्बिरहरू