काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

महिला फुटबल

उपाधिको खडेरी तोड्ने अठोटका साथ इन्डोनेसियातर्फ नेपाली महिला फुटबल टोली

७ मंसिर २०८२
इन्डोनेसिया र चाइनिज ताइपेईविरुद्धको खेलका लागि अभ्यासका बेला नेपाली महिला फुटबल टिम। तस्बिर : एन्फा
अ+
अ-

नेपाली राष्ट्रिय महिला फुटबल टोलीको ‘गोल्डेन जेनेरेसन’ अहिले निर्णायक मोडमा पुगेको छ। क्षमताले भरिपूर्ण यस टोलीले १४ वर्षको अन्तरालमा मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। तर, अन्तिम क्षणमा पाएको अवसरमा चुक्नु नै यो टोलीका लागि मुख्य चुनौती हो।

टोलीको अबको लक्ष्य यही कमी पूरा गर्दै अन्तर्राष्ट्रियस्तरमा ‘ब्रेक थ्रु’ हासिल गर्ने रहेको गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा सुनाउँछिन्। यही तयारीको हिस्साका रूपमा नेपाली महिला टोली थ्री नेसन्स कप खेल्न आइतबार इन्डोनेसिया प्रस्थान गर्दै छ। टोलीले २६ नोभेम्बरमा घरेलु टोली इन्डोनेसिया र २ डिसेम्बरमा चाइनिज ताइपेईसँग खेल्ने तय छ।

“हामी राम्रो खेलिरहेका छौँ, तर अन्तिम क्षणमा खेल गुमाइरहेका हुन्छौँ। त्यसैले टोलीलाई एउटा ब्रेक थ्रु आवश्यक छ,” उनी भन्छिन्।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि इन्डोनेसिया जान लागेको टोलीको बिदाइ कार्यक्रम। तस्बिर : एन्फा

टोलीले एक महिनाको अन्तरालमै दोस्रोपल्ट थ्री नेसन्स कप खेल्न लागेको हो। गत महिना नेपालले भारतमा घरेलु टोली र इरानसँग प्रतिस्पर्धा गरेको थियो। सधैँको प्रतिस्पर्धी भारतलाई २–१ ले पन्छाए पनि पहिलो खेलमै इरानसँग ३–१ ले पराजित हुँदा नेपाल उपाधिनजिक पुगेर पुन: चुक्न पुग्यो। यसपल्ट उक्त घाउलाई बिर्संदै इन्डोनेसिया र चाइनिज ताइपेईविरुद्ध उत्कृष्ट नतिजा ल्याउने सुब्बाको दाबी छ।

साफको तयारी

सन् २०१० देखि नेपाली टोलीमा खेलिरहेका अधिकांश खेलाडी नै इन्डोनेसिया जाने टोलीमा छन्। यो १४ वर्षे इतिहासमा ती खेलाडीले नेपाललाई ६ पल्ट साफ महिला च्याम्पियनसिप, तीनपल्ट दक्षिण एसियाली खेलकुद प्रतियोगितासँगै वाफ महिला च्याम्पियनसिप, हिरो गोल्डकप र इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप गरी १२ पल्ट फाइनलमा पुर्‍याएका छन्। तर, १२ पटकमा एकपल्ट पनि उपाधिको स्वाद चखाउन सकेका छैनन्।

एन्फाको मिसनअनुसार उमेरका कारण अधिकांश खेलाडी ‘अनफिट’ छन्। ‘गोल मेसिन’ सावित्रा भण्डारी ‘साम्बा’ सहित अनिता बस्नेत, रेनुका नगरकोटे, सरु लिम्बू, हीराकुमारी भुजेल, दीपा शाही र गोलकिपर अञ्जिला पनि करिअरको उत्तरार्धमा छन्।

अर्को टोली यही वर्ष २०२७ मा अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कपनजिक पुगेर पेनाल्टी सुटआउटमा चुक्न पुग्यो। तर, टोलीले गर्नुपर्ने संघर्ष अझै सकिएको छैन। अखिल नेपाल फुटबल संघ (एन्फा)ले सन् २०३१ मा हुने विश्वकपसहित ओलम्पिक र एएफसी एसियन कप खेल्ने ‘मिसन’ बनाएको छ।

यो मिसन अर्को वर्ष हुने साफ महिला च्याम्पियनसिप र जापानमा हुने २०औँ एसियन गेम्समा राम्रो नतिजा ल्याउँदै सुरु हुने अपेक्षा गरिएको छ। सोही लक्ष्यअनुसार नेपाली टोलीले पछिल्लो समय नयाँ खेलाडीलाई पनि तयार बनाइरहेको मिडफिल्डर प्रीति राई बताउँछिन्। “सबैले हामीलाई गोल्डेन जेनेरेसन भन्नुहुन्छ। यो जेनेरेसन गए पनि नयाँ प्रतिभावान् बहिनीहरू छन्। उनीहरूलाई भविष्यका लागि तयार पार्ने लक्ष्यमा हामी छौँ,” उनी भन्छिन्।

अभ्यासरत नेपाली महिला टोली। तस्बिर : एन्फा

एन्फाको मिसनअनुसार उमेरका कारण अधिकांश खेलाडी ‘अनफिट’ छन्। ‘गोल मेसिन’ सावित्रा भण्डारी ‘साम्बा’ सहित अनिता बस्नेत, रेनुका नगरकोटे, सरु लिम्बू, हीराकुमारी भुजेल, दीपा शाही र गोलकिपर अञ्जिला पनि करिअरको उत्तरार्धमा छन्।

डिफेन्डर गीता रानासहित केही खेलाडी त बारम्बार चोटको सिकार भइरहेका कारण खेल्नसक्ने अवस्थामै छैनन्। त्यसैले पूर्वप्रशिक्षक राजेन्द्र तामाङसहित बेल्जियमका प्रशिक्षक प्याट्रिक डे वाइल्डेले केही पुराना खेलाडीलाई आराम दिँदै युवा खेलाडीलाई ‘एक्सपोजर’ दिने प्रयास गरेका थिए। तर, खेलाडीको विद्रोह र एन्फाकै हस्तक्षेप हुँदा प्रशिक्षक नै फेरिए। यद्यपि, टोलीमा पर्ने खेलाडी फेरिन सकेनन्।

२ जुन २०२५ मा थाइल्यान्डविरुद्ध भएको खेलअगावै तामाङले केही सिनियर खेलाडीलाई विश्राम दिने योजना बनाएका थिए। तर, ती सिनियर खेलाडी सन्न्यासको नजिक रहेको भन्दै एन्फाले नै टोलीमा निरन्तरता दिएर बिदाइ गरिदिन अनुरोध गरेपछि टोलीमा राखेको उनले बताएका थिए। घरेलु टोलीसँगको २–० को उक्त हारपछि तामाङले मुख्य प्रशिक्षकको जिम्मेवारी छाडे। बरु प्याट्रिकलाई अगाडि सार्दै उनी सहायक प्रशिक्षकमा घटुवा भए।

अस्ट्रेलियन लिग निन्जा ‘ए’ खेल्न पुगेकी मुख्य स्ट्राइकर साम्बा घुँडाको चोटका कारण टोलीमा छैनन्। डिफेन्डर गीता पनि घाइते छिन्।

प्याट्रिक नेपाली महिला टोलीले औपचारिक रूपमा पाएको पहिलो विदेशी प्रशिक्षक थिए। तर, उज्वेकिस्तानमा भएको एएफसी एसियन कप छनोटमा गोलकिपर अञ्जिलाबाट कप्तानी र गोलपोस्टको जिम्मेवारी खोसे। गोलपोस्टको जिम्मेवारी २३ वर्षीया अञ्जना रानामगर र कप्तानी जिम्मेवारी साम्बाले पाएपछि टोलीमा कलह नै मच्चियो। त्यतैबाट बेल्जियम फर्किएका प्याट्रिकले उतैबाट राजीनामा पठाए।

यसपटक नवीन न्यौपाने टोली सम्हालिरहेका छन्। साफ महिला च्याम्पियनसिपसम्मका लागि जिम्मेवारी पाएका उनले केही युवालाई सिनियर खेलाडीको विकल्प बनाउने तयारीमा गरिरहेका छन्।

नेपाली महिला टोलीका प्रशिक्षक नवीन न्यौपाने। तस्बिर : एन्फा

त्यसको सुरुआत उनले साफ महिला यु–२० च्याम्पियनसिपमा सर्वाधिक १० गोल गरेकी मिडफिल्डर पूर्णिमा राई र सात गोल गरेकी मिडफिल्डर मीना देउवालाई निरन्तर मौका दिइरहेका छन्। यी दुईको आगमनले टोलीलाई उत्साहित बनाएको रेनुका बताउँछिन्। “केही खेलाडी घाइते छन्। तर, पूर्णिमा र मीनाको आगमनसँगै टोली बलियो बनेको छ,” उनी भन्छिन्।

साम्बा र गीताको अभाव खड्किँदै

भारतमा थ्री नेसन्स कप, लगत्तै झापा गोल्डकप। खेलाडीहरूले विश्रामको मौका नै पाएका छैनन्। अर्कातर्फ टोलीलाई यसपल्ट चोटले पिरोलिरहेको छ। अस्ट्रेलियन लिग निन्जा ‘ए’ खेल्न पुगेकी मुख्य स्ट्राइकर साम्बा घुँडाको चोटका कारण टोलीमा छैनन्। डिफेन्डर गीता पनि घाइते छिन्।

यी दुईबाहेक फरवार्ड सविता रानामगर पनि खेल्ने/नखेल्ने टुंगो नभएको मुख्य प्रशिक्षक न्यौपाने बताउँछन्। “नेपाली टिमको स्पाइनल कर्ड भनेकै साम्बा र गीता हुन्,” उनी भन्छन्।

सन् २०१४ मा डेब्यु गरेकी साम्बा पछिल्लो समय उत्कृष्ट लयमा छिन्। उनले गत महिना मात्रै भारतविरुद्ध दुई गोल गरेकी थिइन्। अन्तर्राष्ट्रिय गोलसंख्या ६६ पुर्‍याएकी उनीबिना नेपालले मैत्रीपूर्ण खेल खेल्दा भारतको युवा टोलीलाई पराजित गर्न पेनाल्टी सुटआउटसम्म पुग्नुपरेको थियो।

मैदानमा गीताको अनुपस्थितिले टोली कमजोर देखिएको थियो। इरानविरुद्धको ३–० को हारमा होस् या भारतविरुद्धको २–१ को जित र १–१ को बराबरीमै किन नहोस्, डिफेन्स लाइनमा उनको अभाव खड्किएको छ।

मुख्य प्रशिक्षक न्यौपाने यस्तोबेला जुन खेलाडीले मौका पाएका छन्, उनीहरूले राम्रो प्रदर्शन गर्नुको विकल्प नरहेको बताउँछन्। “यस्तै मैत्रीपूर्ण खेलमा ठूला टिमसँग नयाँ खेलाडीले राम्रो प्रदर्शन गर्नुपर्छ। मौका सदुपयोग गर्नसके मात्रै टोलीमा स्थान पाइन्छ र हामीले बनाएको साफको टार्गेट पूरा हुन्छ,” उनी भन्छन्।