काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

८ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङको मद्दतमा विराटनगर किङ्ग्स विजयी भएको छ। विराटनगर लगातार आफ्नो तेस्रो खेलमा विजयी भएको हो। आजको खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई ९ रनले हराएको हो।

जितका लागि १३६ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाएर १२६ रन मात्रै बनाउन सक्यो। जनकपुरका लागि निकोल लेफ्टी इटनले ४१, लाहिरू मिलन्थाले २३, सञ्जय कृष्णमूर्तिले २० तथा आशिफ शेखले १३ रन बनाए।

बलिङतर्फ विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए। उनले चार ओभर बलिङ गर्ने क्रममा मात्र ११ रन खर्चिए। यस्तै सूर्य तामाङले दुई तथा मर्चेन्ट डे लाङले र शुभम रन्जनेले एक एक विकेट लिए।

यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३५ रन बनायो। विराटनगरका लागि शुभम् रन्जनेले सर्वाधिक ३७ रनको योगदान दिए। उनले २९ बल खेल्दै दुई छक्का र दुई चौका प्रहार गरे।

यो पनि…

स्पिनरले राम्रो प्रदर्शन गर्दा जित सहज भयो : कप्तान लामिछाने

यस्तै बसिर अहमदले ३५ बलमा तीन छक्काको मद्दतमा ३६ रन बनाए। प्रारम्भिक ब्याटर लोकेश बमले २६ बल खेल्ने क्रममा एक छक्का र दुई चौका हान्दै २८ रनको योगदान दिए। यस्तै मार्टिन गुप्टिलले १३ र जर्ज मुन्सेले १० रन बनाए। विराटनगरका दुई ब्याटर रनआउट भए।

बलिङतर्फ जनकपुर बोल्ट्सका रूपेश सिंह र सङ्गीथ कुरेले दुई दुई तथा आदित्य महताले एक विकेट लिए। यसअघि विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्स र दोस्रो खेलमा काठमाडौँविरुद्ध जित दर्ज गरेको थियो। तेस्रो खेलमा जितेसँगै विराटनगर ६ अङ्कसहित शीर्ष स्थानमा पुगेको छ।