काठमाडौँ। प्रधानमन्त्री भेट्न जाने क्रममा प्रवेश नपाएपछि सिंहदरबारको दक्षिण गेटमै मागपत्र टाँसिएको छ।
प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न मिराज ढुंगाना नेतृत्वको जेन-जीका अगुवाहरू सिंहदरबार पुगेका थिए। सिंहदरबार प्रवेश नपाएपछि आफ्नो मागपत्र उनीहरुले गेटबाहिरको भित्तामा टाँसेर फर्किए।
यस्ता छन् माग :
१. हाल सम्मका सबै भ्रष्टाचार छानबिन गर्न अधिकार सम्पन्न आयोग गठन गर।
२. स्थिर सरकारका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको निर्वाचन गर।
३. विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर।
४. जेन-जी विद्रोहलाई तत्काल राजनीतिक आन्दोलन घोषणा गर।
५. सहिद परिवार र घाइतेको उचित व्यवस्थापन गर।
६. २३ गते शान्तिपूर्ण आन्दोलनमा भएको दमनको निष्पक्ष छानबिन गरी दोषी उपर कडा कारबाही गर। २४ गतेको घटनालाई निष्पक्ष छानबिन गरी दोषीउपर कडा कारबाही गर।
७. जेन-जी आन्दोलनलगायत राजनीतिक प्रतिशोधका आधारमा चलाएका मुद्दाहरू फिर्ता गर र विधिको शासन कायम गर।
८.प्रादेशिक खर्चले देशलाई आर्थिक रूपमा धेरै पछाडि पुर्याएको छ, त्यसैले प्रदेश सरकारका अनावश्यक खर्च व्यापक रूपमा घटाउन प्रदेश सरकारको पुनर्संरचना गर।
९.यी कुरा संविधान पुनरवलोकन र सुधार नगरी नहुने भएकाले तत्काल जनभावना बुझी संविधान सुधार गरी मात्र अर्थपूर्ण चुनावतर्फ लाग।
हेर्नुहोस् थप तस्बिर :

