आवरण
मधेस प्रदेशका सांसदलाई पछिल्लो तीन आर्थिक वर्षमा घरभाडाबापत पाँच करोड रुपैयाँभन्दा बढी भुक्तानी
नेपाली कांग्रेसकी मधेस प्रदेशसभा सदस्य अन्जना पण्डितका पति पेसाले चिकित्सक हुन्। उनको घर जनकपुरधामको वंशीचोकमा छ। कांग्रेसको प्रदेश कार्यालयसमेत पण्डितकै घरमा छ। पार्टी कार्यालयनजिकै उनको अलगै घर पनि छ। अन्जनाका पति मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर हुन्। आफू सांसद, पति चिकित्सक, एउटा घर कांग्रेस पार्टीलाई भाडामा, अर्को घरमा आफ्नो निवास। विडम्बना, आफ्नै घरबाट प्रदेशसभा जाने अन्जनाले प्रदेश सांसदको हैसियतले मधेस प्रदेशसभाबाट नियमित घरभाडा सुविधा लिने गरेकी छन्।
जनकपुरमै घर भएर पनि प्रदेशबाट घरभाडा सुविधा लिने अन्जना एक्ली सांसद चाहिँ होइनन्। महोत्तरीको क्षेत्र नम्बर २ को ‘ख’ बाट निर्वाचित सुरिताकुमारी साहको घर जनकपुरधामको मुटु मानिने भ्रमरपुरा चोकमा छ। उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले टिकट नदिएपछि स्वतन्त्र रूपमा विजय भएकी थिइन्। त्यसपछि जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरिन्। एकपटक उनी संघीय सरकारकी राज्यमन्त्रीसमेत भएकी थिइन्।

मधेस प्रदेशसभा सदस्य अन्जना पण्डितको घरमा रहेको कांग्रेसको प्रदेश कार्यालय। तस्बिर : वीरेन्द्र रमण
सुरिताकुमारी यसअघि जसपा नेपालबाट सरोजकुमार यादव मुख्यमन्त्री बन्दा प्रदेश मन्त्री पनि थिइन्। केही समयअघिसम्म जनकपुरमा रहेको उनको घर राजर्षिजनक विश्वविद्यालयले उपकुलपतिको कार्यालयका लागि भाडामा लिएको थियो। आफ्नो घर भाडामा दिएकी उनी आफू चाहिँ भाडाको घरमा बस्दै आएकी छन्। त्यसबापत उनले प्रदेशसभाबाट घरभाडा बुझ्दै आएकी छन्।
यता, मधेस प्रदेशसभाको महिला बालबालिका तथा सामाजिक न्याय समितिकी सभापति रूपा यादवको घर पनि जनकपुरधामको पिडारीचोकको नमुना बस्तीमा छ। उनी आफ्नै घरमा बस्छिन्। तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीका नेतासमेत रहेका उनका पति अरुण यादवको दुर्घटनामा निधन भएपछि उनी राजनीतिमा आएकी हुन्। पछिल्लो चुनावमा यादव लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट प्रदेशसभा सदस्य चुनिएकी हुन्। विषयगत समितिको सभापति भएकाले उनलाई प्रदेशसभाले गाडी सुविधासमेत उपलब्ध गराएको छ। तर पनि, उनी प्रदेशबाट मासिक १८ हजार रुपैयाँ घरभाडा नियमित लिन्छिन्।

उपकुलपतिको कार्यालय रहेको मधेस प्रदेशसभा सदस्य सुरिताकुमारी साहको घर। तस्बिर : वीरेन्द्र रमण
त्यसो त रूपाको जस्तै अवस्था छ, प्रदेशसभा मामिलाका सभापति रत्नेश्वरलाल गोइतको पनि। उनको घर जनकपुरधामको थापाचोक नजिकै छ। विषयगत समितिका सभापतिले पाउने गाडीको सुविधा उनले पाएका छन्। त्यसमाथि गोइतले प्रदेशसभाबाट घरभाडाबापतको थप सुविधा पनि लिँदै आएका छन्। पत्रकार तथा मधेस मामिलाका जानकार चन्द्रकिशोर प्रदेश सांसदले जनकपुरमै घर भए पनि घरभाडाबापत राज्यस्रोतको दोहन गर्नुले नैतिकता र सामाजिक मूल्यमान्यताको धज्जी उडाएको तर्क गर्छन्। उनी भन्छन्, “राजनीतिमा अनैतिक कृत्यलाई छुट छैन। प्रदेश सांसदले यसरी जनताको पैसाको अपव्यय गर्नु सरासर भष्ट्राचार हो। घर हुने सांसदले लिएको पैसा राज्यकोषमा दाखिला गर्नुपर्छ।”
यता, जनकपुरधामको क्याम्पस चोकमा प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री रामसरोज यादवका घर छ। उनको घरबाट हिँडेर प्रदेशसभा पुग्न लगभग १० मिनेट लाग्छ। जनकपुरधाममा घर हुँदाहुँदै उनले प्रदेशबाट घरभाडा सुविधा लिँदै आएका छन्। उनी २०७९ सालको निर्वाचनमा धनुषा ३ ‘क’ बाट (नेपाली कांग्रेस) प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। यादवले प्रदेशसभाबाट हरेक महिना १५ हजार रुपैयाँ घरभाडा बुझ्छन्। जनकपुरधामको रामसागर रामस्वरूप बहुमुखी क्याम्पसकी प्राध्यापक विनिता ठाकुर भन्छिन्, “जनप्रतिनिधि उच्च आचरणयुक्त हुनुपर्छ। तर, संसदीय राजनीतिमा यस खालको चरित्रको अभाव देखिएको छ। जनकपुरमै घर भएका माननीयले घरभाडाबापतको रकम लिनुजति लाजको पसारो केही होइन।”
जनकपुर घर भएका र घरबाट जनकपुर आउनेजाने सांसदलाई मधेस प्रदेशसभाले उनीहरूको खातामा सोझै रकम पठाउने गरेका छ। घर भए/नभएको कुनै खोजीनिती नगरी सांसदलाई घरभाडा सुविधा दिने गरिएको छ।
मधेस प्रदेशका सांसद तथा सभापति जोडिएका यी केही दृष्टान्तले जनकपुरमै घर भएर पनि प्रदेशका सांसद तथा सभापतिले सामान्यतया भाडामा बस्ने सांसदलाई उपलब्ध गराइने सुविधा लिइरहेको देखाउँछन्। मधेस प्रदेशमा यो विकृति यति मौलाएको छ कि घरभाडा सुविधा नलिने सांसद पाउनै कठिन छ। जस्तो– मधेस प्रदेश संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरको घर जनकपुरको रामानन्द चोकमा छ। तर, उनले घरभाडा बुझ्ने गरेका छन्। जनकपुरकै रैथाने उनको जनकपुरमा एउटा होइन, तीन तीन वटा घर छन्। ठाकुरको रामानन्द चोक र अग्निकुण्ड क्षेत्रमा घर छन्। उनी धनुषा क्षेत्र नम्बर ३ को ‘ख’ बाट निर्वाचित हुन्। निर्माण व्यवसायबाट राजनीतिमा आएका उनलाई जनकपुरमा बस्न आवासको खाँचो छैन। तर, उनले घरभाडाबापत १५ हजार रुपैयाँ बुझ्ने गरेका थिए। तर, विशेष अदालतमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएपछि अहिले उनी निलम्बनमा परेका छन्।
जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामआशिष यादव धनुषा क्षेत्र नम्बर २ ‘ख’ बाट निर्वाचित हुन्। यादव नेपाल पत्रकार महासंघ धनुषाका पूर्वअध्यक्ष पनि हुन्। यादवको घर जनकपुरधाममै छ। तर, उनले मासिक घरभाडाबापत २० हजार रुपैयाँ बुझ्ने गरेका छन्। मधेस प्रदेशका करिब १२ जना सदस्यको घर जनकपुरमै छ। तर, उनीहरूसहित अधिकांशले घरभाडाबापत मासिक १५–२० हजार रुपैयाँ लिएका छन्।

जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादवको घर। तस्बिर : वीरेन्द्र रमण
यो त भयो, जनकपुरमा घर भएर पनि घरभाडा सुविधा लिने सांसदको कथा। एकातिर जनकपुरमा घर हुने सांसदले नै घरभाडा सुविधा लिएकै छन् भने अर्कातिर जनकपुरमा डेरा नभएका र बाहिरबाट जनकपुर धाउने सांसदहरूले पनि घरभाडा लिएका छन्। माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता भरतप्रसाद साह आफ्नै घरबाट जनकपुरधामस्थित प्रदेशसभाको बैठकमा आउने गर्छन्। महोत्तरीको गौशालाबाट जनकपुरधाम आउजाउ गर्ने उनले हरेक महिना घरभाडा बुझ्ने गरेको प्रदेशसभा सचिवालयको रेकर्डमा देखिन्छ।
साहजस्तै नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झा पनि आफ्नै घरबाट प्रदेशसभा आउने गरेका छन्। धनुषाको लक्ष्मिनियाँ घर रहेका उनले घरभाडाबापत प्रदेशसभाबाट मासिक १८ हजार रुपैयाँ बुझ्ने गरेका छन्। यीलगायत मधेस प्रदेशसभाका सबै सदस्य मासिक घरभाडा लिन्छन्। जनकपुरधाममा केही प्रदेशसभा सदस्यहरू घर भाडामा लिएर बस्दै आएका पनि छन्। तर, अधिकांश सदस्यहरू घरबाट जनकपुरधाम आउनेजाने गर्छन्।
जनकपुर घर भएका र घरबाट जनकपुर आउनेजाने सांसदलाई मधेस प्रदेशसभाले उनीहरूको खातामा सोझै रकम पठाउने गरेका छ। घर भए/नभएको कुनै खोजीनिती नगरी सांसदलाई घरभाडा सुविधा दिने गरिएको छ। तर, यो विकृत रोक्न अहिलेसम्म कसैले चासो देखाएको छैन।
मधेस प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७५ ले प्रदेशसभाका सदस्यदेखि सभामुखसम्मका लागि १३ प्रकारको सेवासुविधा तोकेको छ। त्यसैको छिद्रमा टेकेर यसरी सुविधा लिने गरिएको छ। सो ऐनमा प्रदेश सभामुखलाई आवाससमेत उपलब्ध गराउने उल्लेख छ। त्यसमा उपसभामुख, विपक्षी दलको नेता र सत्तापक्षको सचेतकलाई आवासबापत मासिक २० हजार रुपैयाँ दिने भनिएको छ भने सदस्यलाई १५ हजार घरभाडा दिने भनिएको छ। सो ऐनले प्रदेशसभाका पदाधिकारी र सदस्यलाई अलग अलग सुविधा तोकेको छ।
प्रदेश मन्त्रीहरूको आवासको व्यवस्था मख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गर्दै आएको छ। मन्त्रीहरूका लागि जनकपुरधामको जनकपुर चुरोट कारखाना परिसरमा रहेको मधेस भवनमा सरकारी आवासको व्यवस्था छ। प्रदेशसभाका अनुसार मधेस प्रदेशमा सांसद तथा संसदीय पदाधिकारीको सेवासुविधाका लागि वार्षिक २६ करोड हाराहारी खर्च हुन्छ। घरभाडाबापतको सुविधा पनि यसैभित्र पर्छ।
मधेस प्रदेशसभा सचिवालयका अनुसार ९२ जना प्रदेशसभा सदस्यलाई घरभाडाबापत मासिक १४ लाख ३९ हजार रुपैयाँ दिने गरिएको छ।
प्रदेशसभाका १०७ जना सदस्यमध्ये अहिले तीन जना निलम्बित छन्। निलम्बित हुनेमा नेकपा (एमाले)का दीपेन्द्र ठाकुर, जसपा नेपालका सरोज सिंह कुशवाहा र लोसपा नेपालका अभिराम शर्मा हुन्। जनकपुरधाममा घर भए पनि कानुनले आफूहरूलाई घरभाडा लिन नरोकेको सांसदहरूको अनौठो तर्क छ। जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामआशिष यादव प्रदेशसभाको सुविधासम्बन्धी ऐनमा नै घरभाडाबापतको रकम लिने उल्लेख गरिएकाले घरभाडा लिनु अनुचित नभएको जिकिर गर्छन्। उनी भन्छन्, “कानुनअनुसार प्रदेशसभाका सदस्यहरूले सो सुविधा लिएका हुन्। कानुनमा कतै पनि आफ्नो निवास हुनेले घरभाडा सुविधा नपाउने उल्लेख छैन। त्यसैले सबैले लिने गरेका हुन् र यो उचित पनि हो।”
युवा अभियन्ता सरोज मिश्र जनकपुरमै घर भएका र डेरा नलिएका जनप्रतिनिधिले जनताको करबाट उठेको रकमबाट घरभाडा लिनु घोर अनैतिक र लज्जास्पद भएको तर्क गर्छन्। उनी भन्छन्, “यस्तै विकृतिका कारण पनि राजनीतिप्रति एक खालको वितृष्णा उत्पन्न भएको छ। जेन-जी आन्दोलनपछि उठेको सुशासनका मुद्दाहरूलाई राजनीतिक दलहरूले आत्मसात् गरेको देखिएन। जताबाट पनि जसरी पनि सुविधा खाने प्रवृत्ति प्रदेश सांसदमा देखिन्छ।”

मधेस प्रदेशसभा सचिवालयका अनुसार ९२ जना प्रदेशसभा सदस्यलाई घरभाडाबापत मासिक १४ लाख ३९ हजार रुपैयाँ दिने गरिएको छ। २०७९ सालको चुनावपछि अहिलेसम्म प्रदेशसभा सदस्यका लागि घरभाडाबापत करिब पाँच करोड तीन लाख ६५ हजार रुपैयाँ निकासा भएको छ। प्रदेशसभाका सचिव होमनाथ पहाडीका अनुसार घरभाडाका अतिरिक्त निजी सचिवालय बन्दोबस्तबापत ९२ जनालाई मासिक एक लाख ८७ हजार ८००, बिजुली र धाराबापत एक लाख ८५ हजार, सञ्चारबापत दुई लाख ८२ हजार ४०० रुपैयाँ निकासा भएको छ।
कसले कति लिन्छन् घरभाडा?
प्रदेशसभा सचिवालयका अनुसार नेकपा (एकीकृत समाजवादी पार्टी)का संसदीय दलका नेता गोविन्दबहादुर न्यौपाने मासिक १८ हजार घरभाडा लिन्छन्। त्यस्तै, माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साह १८ हजार र जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादव २० हजार लिन्छन्। जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादवले २० हजार, विकास समितिका सभापति शारदा शंकर प्रसाद कलवारले १८ हजार, अर्थ योजना समितिकी सभापति अनिताकुमारी साहले १८ हजार अनि नेकपा (एकीकृत समाजवादी पार्टी)का प्रमुख सचेतक कनिश पटेलले १८ हजार रुपैयाँ बुझ्ने गरेका छन्। नेपाली कांग्रेसका प्रमुख सचेतक कुँवरकान्त झाले १८ हजार, नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवले २० हजार, जनमत पार्टीका प्रमुख सचेतक चन्दनकुमार सिंहले १६ हजार रुपैयाँ घरभाडाबापत बुझ्ने गरेका छन्।
प्रदेशसभा वरिपरि घर भएकाहरूले घरभाडा सुविधा लिँदा त्यसले सांसदको नैतिकता स्वाहा मात्र बनाएको छैन, सुविधाभोगी प्रवृत्ति पनि उदांगो पारेको छ।
माओवादी केन्द्रका सचेतक जवाहरलाल कुशवाहाले १६ हजार, नेपाली कांग्रेसकी जिवछी यादवले १६ हजार, माओवादी केन्द्रकी प्रमुख सचेतक फकिरा महतोले १८ हजार, जनमत पार्टीकी सचेतक भाग्यश्री चौधरीले १६ हजार, सार्वजनिक लेखा समितिकी सभापति मन्जु थापा मगरले १८ हजार रुपैयाँ लिन्छन्। त्यसैगरी, जसपा नेपालकी सचेतक ममता मण्डलले १६ हजार, जनमत पार्टीका संसदीय दलका नेता महेश यादवले १८ हजार, प्रदेशसभा मामिला समितिका सभापति रत्नेश्वरलाल गोइतले १८ हजार, महिला बालबालिका तथा समाजिक न्याय समितिका सभापति रूपा यादवले १८ हजार लिन्छन्। प्राकृतिक स्रोत तथा वातावरण समितिका सभापति शारदादास पहाडीले १८ हजार, कृषि तथा भूमि व्यवस्थापन समितिका सभापति सञ्जयकुमार महतोले १८ हजार, नेकपा (एमाले)का प्रमुख सचेतक हरिनारायण महतोले १६ हजार घरभाडाबापत लिने गरेका छन्। अन्य प्रदेशसभा सदस्यहरूले भने १५ हजार रुपैयाँ लिने गरेका छन्।
२०७९ सालको प्रदेशसभाको चुनावपछि मात्र होइन, २०७४ सालको चुनावपछि पनि प्रदेशसभा सदस्यले घरभाडाबापतको सुविधा लिएका थिए। प्रदेशसभाको पहिलो कार्यकालमा घरभाडाबापत करिब नौ करोड रुपैयाँ खर्च भएको प्रदेशसभा सचिवालयको रेकर्डमा देखिन्छ। पहिलो कार्यकालमा नेकपा (एमाले)का प्रदेशसभा सदस्य किसोरी साह कमलले मात्रा घरभाडाबापतको रकम नलिने घोषणा गरेका थिए। प्रदेशसभामा नै उनले सो घोषणा गरे पनि अन्य कुनै पनि प्रदेशसभा सदस्यहरूले घरभाडाबापतको रकम लिन छाडेनन्। ठेकेदार पृष्ठभूमिका साहको घर जनकपुरको पिडारी चोकमा छ।
प्रदेशसभा वरिपरि घर भएकाहरूले घरभाडा सुविधा लिँदा त्यसले सांसदको नैतिकता स्वाहा मात्र बनाएको छैन, सुविधाभोगी प्रवृत्ति पनि उदांगो पारेको छ। राजनीतिक विश्लेषक रोशन जनकपुरी यस्तो चरित्रले संसद् र सांसद दुवैको साख सकिने बताउँछन्। उनी भन्छन्, “कानुनको कमजोरी टेकेर आफ्नै घर हुनेले यसरी घरभाडा लिनु अनैतिकताको पराकाष्ठ हो।” उनको जस्तै मत छ, अर्थशास्त्री भोगेन्द्र झाको पनि। भन्छन्, “यो तत्काल रोकिनुपर्छ, प्रदेश सांसदहरूमा अलिकति पनि नैतिकता र इमान बाँकी छ भने जनकपुरमा घर हुनेहरूले लिएको राज्यकोषको पैसा फिर्ता गर्नुपर्छ।”