काठमाडौँ। जेन-जी आन्दोलनको दिन २३ भदौमा बुलेट मोटरसाइकल पड्काउँदै हिँडेको समूहबारे प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँले जेन-जी आन्दोलनका क्रममा २३ भदौमा देखापरेका तिब्बतीयन ओरिजिनल ब्लड (टीओबी)का सदस्य तेन्जिङ दावा लामा र उनको समूहबारे सार्वजनिक गरेको हो।
परिसरले सोमबार पत्रकार सम्मेलन गर्दै लामाको पृष्ठभूमि सार्वजनिक गरेको छ। लामा २६ असोजमा बूढानीलकण्ठ नगरपालिका ११‚ कपनबाट पक्राउ परेका थिए। प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार लामाविरुद्ध अभद्र व्यवहार कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा २६ असोजदेखि १९ कात्तिकसम्म मुद्दा चलेको थियो। उक्त कसुरमा उनी सात हजार पाँच सय रुपैयाँ धरौटीमा रिहा भएका थिए।
लामाविरुद्ध लिखतसम्बन्धी कसुर, नागरिकतासम्बन्धी कसुर र राहदानीसम्बन्धी कसुरमा मुद्दा चलिरहेको छ। उक्त मुद्दा हाल अनुसन्धानको क्रममा छ। उनीविरूद्ध गाँजासम्बन्धी मुद्दा अनुसन्धानको क्रममा रहेको भट्टराईले बताए।
टीओबीमा ५७ जना सदस्य
प्रहरीका अनुसार टीओबी ग्रुप १० जुन २०२४ मा बाइकर्स ग्रुपको रूपमा बनेको थियो। लामा आफैं अध्यक्ष हुन् भने सदस्य ५७ जना छन्।
प्रहरी उपरीक्षक भट्टराईका अनुसार यो समूहका २६ जना सदस्यलाई प्रहरीले ‘नोटिस’मा राखेको छ। जेन-जी आन्दोलनको दिन २३ भदौमा २० वटा मोटरसाइकलमा यो समूह बिजुलीबजार हुँदै नयाँ बानेश्वर पुगेको थियो, समूहको नेतृत्व लामाले गरेका थिए। लामा र उनको समूह बौद्धमा रहेको फूलबारी कम्प्लेक्समा सन् २०१७ देखि ‘टीओबी’ नाम गरेको ट्याटु हाउस सञ्चालन गर्छन्। सोही हाउसबाट टीओबीको धारणा सुरुवात भएको देखिएको छ।
टीओबीले नेपालमा फ्रि तिब्बतीयन गतिविधि गरेको भने नभेटिएको प्रहरीले जनाएको छ। यो ग्रुपको उद्देश्य मोटरसाइकल भएका साथीहरूबीच भेटघाट गरी घुम्ने र सामाजिक सेवा गर्ने रहेको देखिएको भट्टराईले बताए।
टीओबीको लोगो डिजाइनर उनै लामा हुन्। उनीहरू सामाजिक सञ्जाल ह्वाट्सएप र इन्स्टग्राममा सक्रिय थिए। टीओबीको ग्रुपको रुपमा सक्रिय रहे पनि हालसम्म आधिकारिक रुपमा कहीँकतै दर्ता छैन।
नागरिकता र पासपोर्ट किर्ते, छैनन् बाबुआमा
प्रहरी उपरीक्षक भट्टराईका अनुसार लामा २१ माघ २०५३ मा जन्मेका विवरण देखिएको छ। विवरणमा उनको स्थायी ठेगाना काठमाडौं महानगरपालिका ६ उल्लेख छ। उनीले १४ असार २०७९ मा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकता लिएको देखिएको छ। त्यसैका आधारमा उनले २५ जुलाई २०२२ मा पासपोर्ट लिएको भेटिएको छ।
नागरिकता अनुसार उनका बुबा कृष्णबहादुर लामा र आमा माया लामा देखिन्छन्। तर, प्रहरीका अनुसार उनका बाबुआमाको पहिचान कहीँ कतैबाट खुलेको छैन। उनले नागरिकता किर्ते गरेर लिएको र त्यसै आधारमा पासपोर्ट लिएको आरोपमा प्रहरीले लिखतसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ।
उनले आफूले एसएलसी पास गरेको बताउँथे। उनको पढाइबारे बुझ्दा सम्बन्धित विद्यालयको रेकर्डमा नभेटिएको प्रहरी उपरीक्षक भट्टराई बताउँछन्।
२२ भदौमा बन्यो योजना, २३ गते आन्दोलनमा
जेन-जी आन्दोलनपछि सामाजिक सञ्जालमा टीओबी लेखिएको टिसर्ट लगाएको र पछाडि पेस्तोलधारी व्यक्तिको भिडिओ भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
उक्त भिडिओ २३ भदौको नभएर ६ महिनाअघि म्युजिक भिडिओ बनाउने क्रममा लामाले बिजुली बजारमै बनाएको भने खुलेको छ। भिडिओमा देखिएको हतियार घातक नरहेको, खेल तथा मनोरञ्जन सामग्रीको खुद्रा पसल चाबहिलबाट लिएको पत्ता लागेको भट्टराई बताउँछन्।
२३ भदौमा बिजुली बजार पुलमा ‘मलाई मेरो देश मलाई फिर्ता चाहियो, मेरो देश मेरो शान’ भन्नेबारे अनुसन्धान गर्दा लामाले ‘तिब्बती भएको कुरा सानैदेखि महसुस गरेको’ बयान दिएका छन्।
२२ भदौमा टीओबीको इन्स्टाग्राम ग्रुपमा भोलिपल्ट २३ भदौको आन्दोलनमा सहभागी हुनेबारे सूचना पोस्ट भएको पाइएको छ। प्रहरीका अनुसार द ओरिजिनल्स ब्रदर (टीओबी) नामक इन्स्टाग्राम ग्रुपमा सोनाम शेर्पाले सूचना पोस्ट गरेका थिए। २३ गते गोपीकृष्ण हलनजिक रहेको चिया बस्तीमा भेला हुने सल्लाह उक्त ग्रुपमा भएको थियो।
दावाको समूह २३ भदौको ११ बजे पूर्वसल्लाहबमोजिम गोपीकृष्ण हलनिजक रहेको चिया पसल ‘चिया बस्ती’मा भेला भएको थियो। उनीहरू २० वटा मोटरसाइकलमा ११:३० बजे बिजुलीबजार पुगेका थिए। उनी र उनको समूह मोटरसाइकल पड्काउँदै नाराजुलुसमा सहभागी भए। भिडलाई उत्तेजित बनाउने काममा सक्रिय भएको प्रहरी उपरीक्षक भट्टराई बताउँछन्। “सोही क्रममा उनले ‘मलाई मेरो देश मलाई फिर्ता चाहियो, मेरो देश मेरो शान’ भनेका थिए‚” भट्टराई भन्छन्।
बिजुलीबजार हुँदै उनी जेन-जी आन्दोलनमै मिसिएर नयाँ बानेश्वरस्थित संसद् भवनबाहिरको आकाशे पुल पुगे। प्रदर्शनकारीको ढुंगा लागेर तेन्जिङको टाउकोमा चोट लागेको थियो। त्यसपछि उनी दिउँसो २ बजे मेडिकल पसलमा गएर औषधी किन्न गए। चिया बस्तीमा पुगेर आफैंले सामान्य उपचार गरे। त्यसपछि उनीहरूको समूह आ-आफ्नो घर गएको थियो।
२४ भदौमा उनीहरू सबै आ-आफ्नो घरमा बसे। लामा समूहका अन्य सबै सदस्य नेपाली नै रहेको खुलेको छ। लामाले ७०० रुपैयाँमा टिसर्ट खरिद गरी एक हजार रुपैयाँसम्म सदस्यहरूलाई बिक्री गरी उक्त नाफाले दैनिकी चलाउने गरेको खुलेको छ।
लामा र उनको समूह प्राय: ६ महिनामा उपत्यकाबाहिर लामो दूरीमा मोटरसाइकल यात्रामा निस्किन्थे। उपत्यकाभित्र भने प्राय: शनिबार मोटरसाइकलमा निस्किन्थे। उनी हालसम्म मुस्ताङ तीनपटक, अपर मुस्ताङ दुईपटक, पोखरा दुईपटक र सिन्धुपाल्चोक तातोपानी दुईपटक गएको देखिएको छ।
उपत्यकाभित्र नारायणथान हुँदै शिवपुरी, सुन्दरीजल, तारेभिर, कालाड्याम, स्वयम्भू हाइट, काभ्रे भकुन्डेबेँसी हुँदै नेपालथोक, गोकर्ण क्षेत्रमा जाने गरेका थिए। प्रदर्शनमा संलग्न व्यक्ति पहिचान गरी प्रहरीले १४ वटा बुलेट र एउटा पल्सर मोटरसाइकल नियन्त्रणमा लिएको थियो। २६ जना मानिसलाई सम्पर्कमा राखेको छ।