काठमाडौँ। देशका विभिन्न जिल्लामा प्रहरीले एकै दिन १३ जनालाई अवैध तथा नियन्त्रित लागुऔषधसहित पक्राउ गरेको छ।
कास्की, दाङ, बर्दिया, मकवानपुर, झापा, सुनसरी, मोरङ र बाँकेमा गरिएको जाँच, निगरानी तथा घर-तलासीका क्रममा ब्राउनसुगर, खैरो हेरोइन, ट्रामाडोल, स्पास्पेनलगायत लागुऔषधसहित उनीहरु पक्राउ परेका हुन्।
कास्कीको पोखराबाट मनोज श्रेष्ठ ब्राउनसुगरसहित पक्राउ परेका हुन्। दाङमा अलग-अलग स्थानबाट कुमार नेपाली, विजय अधिकारी र कर्णबहादुर विकलाई ब्राउनसुगर तथा हेरोइनसहित प्रहरीले पक्राउ गरेको छ।
बर्दियाको गणेशपुर बाइपासमा दीपक थापा क्षेत्री ब्राउनसुगरसहित पक्राउ परेका छन्। मकवानपुरको हेटौँडामा घरतलासी क्रममा सीताराम दोङबाट हेरोइन र ५२ थान ट्रामाडोल बरामद भएको प्रहरीले जनाएको छ।
झापाको मेचीपुलमा जाँचका क्रममा भारतबाट प्रवेश गर्दै गरेको अवस्थामा दिलीपकुमार माझी र रोमा राणा ब्राउनसुगरसहित पक्राउ परेका छन्। सुनसरीमा धरानबाट सनम लिम्बू ट्रामाडोल, स्पास्पेन ट्याब्लेटसहित र इनरुवाबाट सन्तोष राई ब्राउनसुगरसहित पक्राउ परेका छन्।
मोरङको विराटनगरमा भारतबाट पैदल आउँदै गरेका दुर्गानन्द यादव हेरोइनसहित पक्राउ परेका छन्। बाँकेको चिसापानीमा विनोद थापामगर र विकास पाण्डेलाई प्रहरीले ब्राउनसुगरसहित पक्राउ गरेको छ। सबै घटनामाथि सम्बन्धित प्रहरी कार्यालयहरूले आवश्यक अनुसन्धान अघि बढाएको छ।