षडानन्द जयन्ती
षडानन्द अधिकारीलाई बालागुरु बनाउने मटिहानीको संस्कृत पाठशाला तथा तत्कालीन समयमा त्यसको सञ्चालन तथा व्यवस्थापन गर्ने लक्ष्मीनारायण मठ तथा मठाधीशहरूबारे बृहत् अध्ययन भएको छैन।
विसं १७७५ मा महन्थ रामदास तस्मैया बाबाका शिष्य जयकृष्ण दासको नेतृत्वमा सुरु भएको मटिहानीस्थित संस्कृत पाठशाला अहिलेसम्म अनवरत सञ्चालित छ। यस पाठशालालाई मकवानपुरका सेनवंशी राजा मणिक सेन, हेमकर्ण सेन र दिगबन्धन सेनले समेत संरक्षकत्व प्रदान गरेका थिए।
विसं १८१९ मा पृथ्वीनारायण शाहले मकवानपुरलाई गोर्खा राज्यमा समाहित गरेपछि भने पाठशालालाई शाहवंशीय राजा र त्यसपछि राणा प्रधानमन्त्रीहरूले संरक्षकत्व प्रदान गरे। गणतान्त्रिक शासनव्यवस्थामा संघ, प्रदेश र स्थानीय सरकारको सहयोगले पाठशाला सञ्चालित छ।
महन्थ जयकृष्ण व्याकरणका जानकार भएकाले आफूले जानेको विद्या पुस्तान्तरण होस् भनेर पाठशाला खोलेका थिए। मटिहानीका सेवानिवृत्त प्राध्यापक ध्रुव रायका अनुसार पाठशाला सुरु भएको २६ वर्षपछि मात्र यसले आधिकारिकता पाएको हो। १७९० सालमा हेमकर्ण सेन गद्दीमा आसीन भएपछि तमसैया भक्तराम दासलाई १८०१ सालमा विष्णु प्रीतिकुशविर्ता तामपत्र दिएका थिए। यसपछि नै पाठशाला आधिकारिक मान्यतासहित सुरु भएको सूचना प्रवाह भयो।
पाठशाला स्थापनाको १२५ वर्ष अर्थात् १९०० सालसम्म धेरै विद्यार्थीले यहाँ अध्ययन गरे। सोही अवधिका एक विद्यार्थी थिए षडानन्द अधिकारी अर्थात् बालागुरु, जसको आजपर्यन्त चर्चा र स्मरण गरिन्छ। अहिले पनि मटिहानी पाठशाला पुग्नेलाई त्यहाँका प्रधानाध्यापक ईश्वरी पौडेल तथा गुरुहरू शोभाकान्त झालगायतले बालागुरु षडानन्द पढेको ठाउँ भनेर चिनाउने गर्नुहुन्छ।

प्राध्यापक ईश्वरी पौडेल
भोजपुर जिल्लाको दिङ्ला, गढीगाउँमा लक्ष्मीनारायण अधिकारी तथा रुक्मिणीका सन्तानका रूपमा १८९२ साल मार्ग शुक्ल पञ्चमीको दिन षडानन्द अधिकारीको जन्म भएको थियो। वैष्णव सम्प्रदायका लागि महत्त्वपूर्ण मानिने मार्ग शुक्ल पञ्चमीमा जन्मिएका षडानन्दको यज्ञोपवीत संस्कार आठ वर्षको उमेरमा भयो। त्यसपछि शाहवंशीय राजाले वैष्णव सम्प्रदायको प्रमुख स्थानको दर्जा दिएको मटिहानीस्थित संस्कृत पाठशालामा अध्ययन सुरु गरे।
मार्ग शुक्ल पञ्चमीकै दिन मिथिला क्षेत्रमा सीताराम विवाहपञ्चमी सम्झनास्वरूप महोत्सव मनाइन्छ। हरेक घरमा खीरपुरीलगायत मिष्टान्न भोजन खाने परम्परा छ।
तत्कालीन राणाशासकहरूले बालागुरुलाई ‘गुरु महाराज’ भनेर सम्बोधन गर्न थालेपछि सर्वसाधारणले समेत आदर र सम्मान गर्न थाले।
बाल्यकालमा ‘खडु’ समेत भनिने षडानन्दले यही पाठशालामा आबाल ब्रह्मचारी रहने निर्णय गरेका थिए। १८ वर्षको उमेरसम्म उनले यसै पाठशालामा ज्ञान हासिल गरे। आफूले पढेका कुरा अरू विद्यार्थीलाई पनि पढाउने बानीकै कारण उनलाई बालागुरु भनेर सम्बोधन गर्न थालियो।
१० वर्ष मिथिलाका विद्वान् पण्डितहरूको सान्निध्यमा रही षडानन्दले संस्कृत व्याकरणसँगै गीता, ज्योतिष तथा वेदादि अध्ययन गरे। आबाल ब्रह्मचारी रहने निर्णय गरेकाले उनी मटिहानीबाट बनारस गए। मटिहानीमा पढेकाहरूले थप अध्ययन तथा अभ्यास गर्न त्यतिबेला बनारस जानुपर्ने बाध्यता थियो।
बालागुरु षडानन्दले २१ वर्षसम्म बनारसलगायत विभिन्न स्थानमा योग साधनाको गहन अध्ययन र अभ्यास गरेर १९३१ सालमा जन्मस्थान दिङ्ला फर्किए। एक वर्षपछि १९३२ साल चैत्र शुक्ल रामनवमीको दिन दिङ्ला, भन्ज्याङस्थित कैलासमा नर्मदेश्वर शिव मन्दिर निर्माण गरी पाठशाला स्थापना गरे।

बालागुरु षडानन्दको स्मृतिमा जारी गरिएको हुलाक टिकट
पाठशालामा देशभित्रैका देखि सिक्किम र आसामसम्मका विद्यार्थीले अध्ययन गर्ने अवसर पाए। त्यहाँ वेद, व्याकरण, ज्योतिष तथा साहित्य अध्ययन-अध्यापनको व्यवस्था थियो। तत्कालीन राणाशासकहरूले बालागुरुलाई ‘गुरु महाराज’ भनेर सम्बोधन गर्न थालेपछि सर्वसाधारणले समेत आदर र सम्मान गर्न थाले।
बालागुरु षडानन्दले वैष्णव सम्प्रदायको रामानन्दी पथ अर्थात् भगवान् रामलाई अनुसरण गरेको देखिन्छ। रामायणमा रामलाई शिवभक्त दर्साइएकाले उनले शिव मन्दिर निर्माण गरी विद्यालय स्थापना गरेको अनुमान गर्न सकिन्छ।
षडानन्द अधिकारीलाई बालागुरु बनाउने मटिहानीको संस्कृत पाठशाला तथा तत्कालीन समयमा त्यसको सञ्चालन तथा व्यवस्थापन गर्ने लक्ष्मीनारायण मठ तथा मठाधीशहरूबारे बृहत् अध्ययन भएको छैन।
यता, लक्ष्मीनारायण मठमार्फत सञ्चालन भइरहेको मटिहानी संस्कृत पाठशालामा १९६८ सालमा ५४ वटुकका लागि छात्रावासको व्यवस्था भयो। बालागुरुले अध्ययन गरेको यो पाठशाला २००८ सालमा राजकीय संस्कृत प्रधान पाठशाला भयो र आचार्यसम्मको पढाइ हुन थाल्यो। त्यतिबेला प्रधानाध्यापकको जिम्मेवारी शिवशंकर झालाई दिइएको थियो।
तर, २०२५ सालमा तत्कालीन कानुनअनुसार माध्यमिक तहसम्म मात्र पढाउनुपर्ने नियम बन्यो। यसपछि लक्ष्मीनारायण मठका मानमहन्थ कौशलकिशोर दासको संरक्षकत्वमा निजी स्रोतबाट लक्ष्मीनारायण महाविद्यालय स्थापना भयो र अन्ततः पुनः आचार्यसम्मको पढाइ हुन थाल्यो।
सेवानिवृत्त प्राध्यापक रायका अनुसार तत्कालीन शिक्षा योजनाअनुसार एउटा अञ्चलमा एउटा संस्कृत क्याम्पस हुनुपर्ने प्रावधान भएकाले जनकपुरमा निजी स्रोतबाट सञ्चालित याज्ञवल्क्य महाविद्यालयलाई लक्ष्मीनारायण महाविद्यालयमै गाभेर २०३० सालबाट छुट्टै भवनमा सञ्चालन हुन थालेको हो।
बालागुरुले अध्ययन गरेको पाठशालाको पठनपाठन अहिले राजकीय संस्कृत माध्यमिक विद्यालय तथा याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ(क्याम्पस) मा जारी छ। षडानन्द अधिकारीलाई बालागुरु बनाउने मटिहानीको संस्कृत पाठशाला तथा तत्कालीन समयमा त्यसको सञ्चालन तथा व्यवस्थापन गर्ने लक्ष्मीनारायण मठ तथा मठाधीशहरूबारे बृहत् अध्ययन भएको छैन।

मटिहानीमा अवस्थित संस्कृत विद्यालय
लक्ष्मीनारायण मठसँगै जलेश्वर महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन तथा नोट र सिक्कामा तस्बिर छाप्नका लागि स्थानीय र प्रदेश सरकारको पहलसमेत आवश्यक रहेको फोटोपत्रकार विश्वनाथ साहको धारणा छ। यस्तै, पाठशालामा बालागुरुको सालिक राख्न पाए पर्यटक तथा शिक्षाविद्हरू भ्रमणका लागि बढी आकर्षित हुनसक्ने शिक्षक शोभकान्त झा बताउँछन्।
बालागुरु षडानन्दको नामबाटै २०५१ सालमा सात रुपैयाँको हुलाक टिकट प्रकाशनमा आएको थियो। उनको जन्मस्थानलाई षडानन्द नगरपालिका नामकरण गरिएको छ। यसै वर्षबाट लक्ष्मीनारायण मठलाई पनि हुलाक टिकटमा समावेश गरिएको छ।