काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपील)अन्तर्गत आज (मंगलबार) को खेलमा काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सलाई १५८ रनको लक्ष्य दिएको छ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १५७ बनायो। यसमा कप्तान करण केसीले अविजित ३४, आकाश त्रिपाठीले ३२ र सन्तोष यादवले २६ रनको योगदान गरे।
लुम्बिनीका कप्तान रोहित पौडेल, खेलाडी शेर मल्ल, गुल्बादिन नायब रूबेन ट्रम्पलम्यानले दुई/दुई विकेट लिए।

काठमाडौँले तीन खेल खेलेको छ, जसमा दुई हार र एकमा जित निकालेको थियो। काठमाडौँ दुई अङ्कसहित तेस्रो स्थानमा छ। लुम्बिनी पनि तीन खेलमध्ये एक जित निकाल्दै दुई अङ्कसहित चौँथो नम्बरमा छ।
दुवै टोलीलाई प्लेअफ पुग्ने सम्भावना जीवित राख्न आजको खेल महत्त्वपूर्ण मानिएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा १ मंसिरदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी छन्।