काठमाडौँ। काठमाडौंस्थित उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट लुटिएको हतियार दमक र इलाममा फेला परेको छ।
रानीपोखरीबाट लुटिएका दुईथान चिनियाँ पेस्तोलसहित प्रहरीले दमक र इलामबाट तीन जनालाई पक्राउ गरेको छ।
झापाको दमक नगरपालिका ८ र इलामको चुलाचुली गाउँपालिका ४ बाट लुटिएको दुई थान चिनियाँ पेस्तोल र २० राउन्ड गोलीसहित तीन जनालाई सोमबार पक्राउ गरिएको कोसी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। पक्राउ पर्नेमा दमक नगरपालिका ८‚ झापाका २५ वर्षीय सरोज पुरी, दमक ६ का २९ वर्षीय विश्व लिङ्देन र चुलाचुली ४‚ इलामका पवन हाङ्सुरुम्बा छन्।
पक्राउ परेकामध्ये पुरी भदौ २४ मा भएको जेन-जी आन्दोलनका क्रममा उपत्यका प्रहरी प्रहरी कार्यालय रानीपोखरी तोडफोड, आगजनीपछि हातहतियार, गोलीगठ्ठा लुटेर फरार भएका थिए। कोसी प्रदेश प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलका अनुसार फरार भएका पुरी आफ्नै घरमा भेटिएका थिए।
उनलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय दमक र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको टोली पुगेको थियो। पुरीलाई एक थान पेस्तोल र १५ राउन्ड गोलीसहित पक्राउ गरिएको पोखरेलले बताए। पक्राउ परेका पुरीले लुटेर ल्याएको अर्को एक थान पेस्तोल र पाँच राउन्ड गोली विश्व लिङ्देनलाई दिएका थिए।
लिङ्देनले उक्त पेस्तोल र गोली चुलाचुली ४ का पवन हाङ्सुरुम्बालाई राख्न दिएको अनुसन्धानबाट खुलेपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको छ।
हाङसुरुम्बाले उक्त पेस्तोल बारीमा खाल्डो खनेर लुकाएर राखेका थिए। प्रहरी टोलीले खाल्डो खनेर पेस्तोल र गोलीसहित हाङसुरुम्बालाई गरेको पोखरेलले बताए। पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ ल्याइएको छ।