आज विवाहपञ्चमी
मिथिला संस्कृतिको पहिचान नै बनिसकेको जनकपुरधामको विवाहपञ्चमी
आजु मिथिला नगरिया नेहाल सखिया…
चारो दुल्हा मे बडका कमाल सखिया…
(आज मिथिला नगर खुसी छ
चारमध्ये ठूला दुलहा गतिला छन्)
जनकपुरधामका चोक र गल्लीमा हिजोआज विवाहको माहोल झल्काउने यस्तै गीत गुन्जिरहेका छन्। देशभित्रैका र भारतबाट आएका श्रद्धालुहरूको थेगिनसक्नु भिड छ। यी श्रद्धालुहरूको एउटै उद्देश्य छ– भगवान् राम र सीताको विवाहको उत्सवमा सहभागी हुनु।
साताव्यापी विवाहपञ्चमी महोत्सवले अहिले जनकपुरका होटल भरिभराउ छन्। होटल नपाउने श्रद्धालुहरू जानकी मन्दिरको आँगनमा निर्माण गरिएको पन्डालमा बसेर समय बिताइरहेका छन्।
आगन्तुकसँगै जनकपुरवासीमा पनि विवाहपञ्चमीलाई लिएर उत्तिकै उत्साह देखिएको छ। स्थानीय अवधेश कामत विवाहपञ्चमी एउटा उत्सव मात्र नभएर आफ्नो संस्कृतिको पहिचान नै बनेको बताउँछन्। स्थानीय र श्रद्धालुहरूमा विवाहपञ्चमीप्रति अगाध आस्था पनि छ। कथावाचिका साध्वी चञ्चला भन्छिन्, “सीता-राम विवाहपञ्चमी महोत्सवमा जसले सहभागिता जनाउने गरेका छन्, उनीहरूको घरमा सबै मंगल र उत्सव हुन्छ।”
साता दिनको महोत्सवका बेला जनकपुर दुई कित्तामा विभाजित बन्ने गरेको छ। राम मन्दिर बेहुला पक्ष बन्छ भने जानकी मन्दिर बेहुली पक्ष बन्छ।

तिलकोत्सवमा सम्धी मिलन गर्दै राम मन्दिरका महन्थ राम गिरी र जानकी मन्दिरका उत्तराधिकारी महन्त राम रोशन दास। तस्बिर : वीरेन्द्र रमण
जानकी मन्दिरका महन्थ रामतपेश्वर दास छोरीको विवाहजसरी विवाहपञ्चमीको तयारी गर्ने गरेको बताउँछन्। “मैले विवाह नगरेको कारण छोरीको विवाहको अनुभव त मसँग छैन, तर विवाहपञ्चमी आउँदा छोरीको विवाहको जसरी तयारी हुन्छ, त्यसरी नै तयारी गर्ने गरेको छु,” महन्थ दास भन्छन्, “कहिलेकाहीँ त छोरीको बिहेपछि बिदाइ गर्नुपर्छ भन्ने सोचेरै आँसु झर्छ।”
यता, बेहुला पक्षको नेतृत्व गर्दै आएका राम मन्दिरका महन्थ राम गिरी भगवान् रामका बुवा (राजा दशरथ)को भूमिकामा रहने गरेको र यो गौरवको विषय भएको बताउँछन्। उनी भन्छन्, “पूर्वजन्ममा गरेको पुण्यका कारण आज यो सौभाग्य मैले पाएको छु।”
विवाहपञ्चमीमा श्रद्धालुहरूको सुविधाका लागि जनकपुरवासीहरूले वासको व्यवस्था गर्ने गरेका छन्। स्थानीय युवा क्लबहरू स्वयंसेवक राखेर स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि संयुक्त सुरक्षा योजना लागु गरेका छन्। एक हजार ४०० नेपाल प्रहरी तथा ट्राफिक प्रहरीका साथै ७०० भन्दा बढी सशस्त्र प्रहरी परिचालित छन्।

जनकपुरधाममा विवाहपञ्चमीमा भेला भएका श्रद्धालु। तस्बिर : वीरेन्द्र रमण
व्यापक रूपमा सुरक्षाकर्मीको परिचालन गर्नुका साथै पाकेट मार्नेलगायत अपराध रोक्न सादा पोसाकका तालिमप्राप्त प्रहरी परिचालन गरिने धनुषा प्रहरी उपरीक्षक रुगमबहादुर कुँवर बताउँछन्।
सात दिनसम्म यसरी मनाइन्छ विवाहपञ्चमी
नगर दर्शन : विवाहपञ्चमी महोत्सवको सुरुआत ‘नगर दर्शन’ बाट हुन्छ। त्रेता युगमा भारत अयोध्याका राजकुमार भगवान् रामसँगै भाइ लक्ष्मण र गुरु विश्वामित्र मिथिला राजधानी जनकपुरधाममा हुन लागेको सीता स्वयंवर र धनुष यज्ञमा सहभागी हुन आएको सम्झनामा नगर दर्शन गराइन्छ।
गुरु विश्वामित्र, राम र लक्ष्मणको पहिरन तथा साजसज्जा गरी जानकी मन्दिर परिसरभित्र सांकेतिक रूपमा नगर दर्शन गराइन्छ। जनकपुरको भव्यता देखेर रामसमेत चकित भएको रामायणमा उल्लेख छ। जानकी मन्दिरको प्रांगणमा त्यतिबेलाको जनकपुरमा लाग्ने बजारको प्रतिविम्ब पनि निर्माण गर्ने गरिन्छ।
फूलबारी लीला : दोस्रो दिन राम-जानकीको झाँकी बनाएर ऐतिहासिक विवाहमण्डपमा फूलबारी लीला आयोजना गरिन्छ। जनकपुरमा सीतासँग फूल टिपिरहेका बेला फूलबारीमा जम्काभेट भएको स्मरणमा फूलबारी लीला आयोजना गरिन्छ।

राम-जनकलगायतको भूमिका निभाइरहेका कलाकार। तस्बिर : वीरेन्द्र रमण
धनुष यज्ञ : राजा जनककहाँ राखिएको शिवधनुष कसैले उठाउन सकेको हुँदैन। तर, एकदिन सीता बायाँ हातले शिवधनुष उठाएर दायाँ हातले लिपपोत गरिरहेकी हुन्छिन्। यो देखेर राजा जनकले शिवधनुष उचाल्न सक्नेसँग सीताको विवाह गराउने संकल्प गर्छन्।
सीताका लागि योग्य वरको खोजीमा धनुष यज्ञको आयोजना गरिएको विश्वास गरिन्छ। त्रेता युगमा धनुष यज्ञको आयोजना रंगभूमि मैदान १२ बिघामा भएको मानिन्छ। त्यसैकारण अहिले पनि रंगभूमि मैदानमा विवाहपञ्चमीको तेस्रो दिन धनुष यज्ञ आयोजना हुन्छ।
तिलकोत्सव : चौथो दिनमा तिलकोत्सवमा जानकी मन्दिरबाट विभिन्न प्रकारका फलफूल र मिष्टान्न बोकेर पाहुरसहित राम मन्दिरमा पुग्ने गरिन्छ। तिलकोत्सवमा सहभागी महिलाले राम-जानकीको बिहेका गीत गाउँछन् भने हास्य परिहासको माहोलसमेत हुन्छ। दुलही पक्षको प्रतिनिधित्व गर्दै जानकी मन्दिरका महन्थले राम मन्दिरका महन्थलाई ल्याइएका सामग्री हस्तान्तरण गर्छन्।
मटकोर : पाँचौँ दिन मटकोर विधिका लागि जनकपुरमै रहेको गंगासागर पोखरीबाट साँझ मिथिला परम्पराअनुसार गीत गाउँदै माटो खनेर ल्याउने गरिन्छ। सोही माटोबाट विवाहका लागि वेदी तयार गरिन्छ। यसपछि जानकी मन्दिरबाट नाचगान गर्दै शोभा यात्रा निकालिन्छ।
स्वयंवर र विवाह : विवाहपञ्चमी महोत्सव छैटौँ दिन भव्यताका साथ मनाउने गरिन्छ। ऐतिहासिक रंगभूमि मैदानमा स्वयंवर विधि सम्पन्न हुन्छ। सोही दिन राति वैदिक परम्पराअनुसार वैवाहिक कार्यक्रम सम्पन्न हुन्छ।
स्वयंवरका लागि राम मन्दिर तथा जानकी मन्दिरको डोला रंगभूमि मैदान पुग्छन्। जहाँ लाखौँको संख्यामा श्रद्धालुहरूको साथमा दुवै मन्दिरका डोला एकै ठाउँमा राखेर आरती र माला आदानप्रदान गरेर नगर परिक्रमा गराइन्छ।

जानकी मन्दिरबाट स्वयंवरका लागि निकालिएको जानकी मन्दिरको डोला। तस्बिर : वीरेन्द्र रमण
जानकी मन्दिरको प्रांगणमा राम र सीताको विवाहका लागि विवाहमण्डप बनाइएको छ। विवाहका लागि जानकी मन्दिर भव्य रूपमा सिँगारिएको छ। वैवाहिक कार्यक्रममा राजा दशरथको भूमिकामा राम मन्दिरका महन्थ राम गिरी र राजा जनकको भूमिकामा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव हुन्छन्।
जन्तीको बिदाइ (राम कलेवा) : महोत्सवको अन्तिम दिन राम कलेवा आयोजना हुन्छ। राम मन्दिरमा आयोजना गरिने यस कार्यक्रममा जन्तीलाई विभिन्न प्रकारका भोजन गराएर र दक्षिणा दिएर बिदा गरिन्छ। विवाहपछि मिथिलाञ्चलमा बेहुलालाई खिर, मिठाइलगायत परिकार खुवाउने परम्परा छ। जसलाई मौहक भनिन्छ।
राम कलेवामा राम-लक्ष्मणसहित चारै भाइको प्रतीकका रूपमा चार बालकलाई जानकी मन्दिरको प्रांगणमा बनाइएको मडवामा बसाएर भोजन गराइन्छ। राम कलेवा विधि चलिरहेकै बेला मिथिलानी नारीहरूले गीतकै माध्यमले राम, भरत, लक्ष्मण, शत्रुघ्न तथा अयोध्यावासीलाई जिस्क्याउने गर्छन्।