काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणको अगुवाइमा निर्माण गर्न लागिएको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको लगानी मोडालिटी तयार भएको छ।
सङ्खुवासभाको भोटखोला गाउँपालिकामा उक्त आयोजना निर्माण हुन लागेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आयोजनाको वित्तीय विश्लेषणसहित तयार पारिएको प्रस्तावित लगानी मोडालिटीबारे जानकारी लिँदै स्वीकृतिका लागि पेस गर्न निर्देशन दिए।
अरुण जलविद्युत् आयोजना निर्माणको विषय लामो समयदेखि चर्चामा मात्रै रहेकाले अब लगानी मोडालिटी टुंगो लगाएर निर्माणमा लैजाने मन्त्री घिसिङले बताए। आयोजनाको निर्माण अवधिको ब्याज, मूल्यवृद्धिसहित एक अर्ब ७५ करोड डलर (करिब दुई खर्ब १४ अर्ब रुपैयाँ) अनुमानित लागत रहेको छ। अपर अरुणमा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी (इक्विटी) बाट स्रोत जुटाउने गरी लगानी मोटालिटी तयार गरिएको छ।
३० प्रतिशत इक्विटीलाई शत्प्रतिशत मानी त्यसको ५१ प्रतिशत संस्थापन र ४९ प्रतिशत साधारण सेयर रहने प्रस्ताव गरिएको छ। संस्थापक सेयरधनीबाट ३६ अर्ब ६७ करोड र साधारण सेयरधनीबाट ३५ अर्ब २३ करोड रुपैयाँ उठाएर आयोजना निर्माण गर्ने मोडालिटीमा उल्लेख छ।
५१ प्रतिशत संस्थापक सेयरधनीमा प्रदेश सरकार तथा स्थानीय तह, प्राधिकरण, नेपाल टेलिकम, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, एचआईडीसीएल, बिमा कम्पनी र प्राधिकरणका सहायक कम्पनीहरु रहने प्रस्ताव गरिएको छ।
४९ प्रतिशत साधारण सेयरधनीमा वैदेशिक रोजगारमा रहेका तथा गैरआवासीय नेपाली, संस्थापक सेयरधनी संस्थाका कर्मचारी, आयोजना प्रभावित र सर्वसाधारण रहने व्यवस्था गरिएको छ। आयोजना निर्माणका लागि अपर अरुण हाइड्रो-इलेक्ट्रिक लिमिटेड संस्थापन भइसकेको छ।
आयोजना निर्माणका लागि बैंक तथा वित्तीय संस्थाको सहवित्तीयकरणमार्फत एक खर्ब ६८ अर्ब रुपैयाँ लगानी हुनेछ। विश्व बैंकको लगानी अन्योलमा परेपछि सरकारले देशभित्रका बैंक तथा वित्तीय संस्थाहरु र स्वदेश तथा विदेशमा रहेका नेपालीको लगानीमा अपर अरुणलाई अगाडि बढाउन लागिएको हो।
आयोजनामा सहवित्तीयकरणमार्फत करिब ५३ अर्ब रुपैयाँ लगानीका लागि प्राधिकरण, आयोजनाको प्रवर्धक कम्पनी र बैंक तथा वित्तीय संस्थाबीच समझदारी भइसकेको छ।
आयोजनाबाट वार्षिक रूपमा चार अर्ब ५३ करोड युनिट विद्युत् उत्पादन हुनेछ। आयोजनाको अहिले निर्माणपूर्वका काम भइरहेको छ। भौगोलिक रुपमा विकट र जटिल रहेको आयोजनाको विद्युतगृहबाट बाँधस्थलसम्म पुग्ने २१ किलोमिटर पहुँच सडक निर्माण भइरहेको छ।
भोटखोला गाउँपालिका ४‚ गोलाबजारनजिक छोङराङमा प्रस्तावित विद्युतगृहबाट माथिल्लो तटीय क्षेत्रमा पर्ने सोही गाउँपालिकाको वडा नम्बर २‚ चेपुवागाउँनजिक बाँध निर्माणस्थलसम्म पुग्ने पहुँच सडक निर्माणाधीन छ। छोङराङसम्म कोसी राजमार्ग पुगेको छ। कोसी राजमार्गलाई छोडेर आयोजनास्थलतर्फ जान आयोजनाले अरुण नदीमा ७० मिटर लम्बाइ भएको स्टिलको आर्क पुल निर्माण गरिरहेको छ।