दृष्टिकोण
आफूले भोट दिएका व्यक्तिले जित्नैपर्छ, नजिते भोट खेर जान्छ भन्ने सोच विष बराबर किन छ भने, यो सोचले हामीलाई जित्ने सम्भावना भएका खराब पात्रलाई पनि भोट हाल्न उक्साइरहेको छ।
आजकल म सबैभन्दा घोत्लिएको विषय हो- चुनाव। चुनावमा मतदाताको मनोविज्ञानलाई केले प्रभाव पार्छ होला? सार्वजनिक स्थानमा, छिमेकमा, घरपरिवारमा नेताका कामको चर्को विरोध गर्ने मान्छे पनि भोट हाल्ने बेला किन पुरानै नेता चुन्छन्?
२०७९ सालमा मेरो निर्वाचन क्षेत्र झापा-५ का प्रमुख उम्मेदवार थिए, एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली। उनीसँग प्रतिस्पर्धा गर्नेमध्ये एक थिए लेखक-अभियन्ता युग पाठक। स्वतन्त्र उम्मेदवारी दिएका पाठकले चुनावचिह्न पुतली पाएका थिए। स्वयं त पाठकलाई मत हाल्ने थिएँ नै, आफ्नाहरूको मत पनि पाठककै पक्षमा जाओस् भन्ने मेरो कामना थियो। त्यसैले भेटिएका परिवार, साथीभाइ, छिमेकीलाई पुतली चिह्नमा मतदान गर्न आग्रह गरेँ।
आजन्म एमाले वा कांग्रेस भइरहनुपर्ने बाध्यता किन आइलाग्छ? मान्छेहरू समयसँगै तर्क र विचारलाई फैलिन नदिई कसरी बस्न सकेका होलान्? धर्मजस्तै बिनाप्रश्न एउटै दलप्रति अन्धभक्त कसरी भइरहन सकिन्छ होला?
तर, ओलीबाट वाक्कदिक्क केही छिमेकी, आफन्तले मत खसाउने बेला पुतली चिह्न नभेटेर सूर्यमै स्वस्तिक छाप हानेर हिँडेको बताए। यसो भन्नेमा धेरैजसो अधबैँसे महिला थिए। मतपत्रमा भएका अधिकांश चिह्न धेरैका लागि नौला हुन्छन्, जसले गर्दा कतिपय अवस्थामा मतदाता नचाहेरै पनि बानी परेकै चिह्नमा मत खसाउन बाध्य हुने रहेछन्। हुनसक्छ, यो थोरैमा होस्।
२०७४ सालको चुनावमा ओलीलाई नै मत खसाएकी मसँग २०७९ सालमा भने उनीविरुद्ध भोट हाल्ने प्रशस्त कारण थिए– प्रधानमन्त्री हुँदा संसद् विघटनका लागि पटक पटक गरेको दुष्प्रयास, गिरिबन्धु टी इस्टेटको जग्गा प्रकरण, दमकलगायत देशैभरि टावर ठड्याएर ठेकेदार कार्यकर्तालाई पोस्नु, दमक-१० मा सयौँ बिघा खेतीयोग्य जग्गा मरुभूमीकरण गर्नुका साथै उनको दुर्मुखा स्वभाव, गैरजवाफदेही, आफूइतरका नेता-कार्यकर्तालाई पार्टीमा गरेको दुर्व्यवहार, आलोचकविरुद्ध अरिंगाल बनेर खनिन गरेको सार्वजनिक अपिल आदि।
अरू के के गल्ती र अपराध गरेपछि मात्रै नेता मत हाल्न अयोग्य हुन्छ? दलहरूले सच्चिनुपर्ने अवस्था आउँछ?
पञ्चायतकालमा भूमिगत एमाले मेरा बडाबा, पार्टीलाई भरपुर नैतिक र सीमित भौतिक समर्थन गरेका मेरा बाको पृष्ठभूमिले मलाई पनि अन्जानमै एमाले बनाएको थियो। यसो भनौँ, बालखैमा कसैसँग ‘मगनी’ भएजस्तो एमालेसँग निर्दोष साइनो गाँसिएको थियो। २०६२/६३ को दोस्रो जनआन्दोलनपछि स्कुले जीवनले बिदा लियो। भर्खर जुँघाको रेखी बस्दै गरेका किशोर मनपरेजस्तै माओवादीप्रति आकर्षण ह्वात्तै बढ्यो।
झापामा अहिले बालविवाह हजुरआमाको पालाको कुराजस्तो लाग्छ। तर, दल छान्ने मामिलामा मान्छे किन परम्परागत विश्वासमै बाँचिरहेका होलान्? आजन्म एमाले वा कांग्रेस भइरहनुपर्ने बाध्यता किन आइलाग्छ? मान्छेहरू समयसँगै तर्क र विचारलाई फैलिन नदिई कसरी बस्न सकेका होलान्? धर्मजस्तै बिनाप्रश्न एउटै दलप्रति अन्धभक्त कसरी भइरहन सकिन्छ होला?
२०६४ सालमा सानदार रूपमा चुनावमा होमिएको माओवादीलाई भोट खसाउन मेरो उमेर बाधक बन्यो। त्यसपछिको चुनावसम्म पनि माओवादीप्रतिको आशा धिपधिप बलिरहेकै थियो। एमालेको गढ भनेर चिनिने हाम्रो गाउँमा ‘सात सूर्य, सात छाप’ को नारा हरेकको मुखमा झुन्डिएको थियो। मलाई भने प्रत्यक्ष उम्मेदवार हाम्रोलाई होइन, राम्रोलाई छान्नुपर्छ भन्ने लागिरह्यो । सोहीअनुरूप भोट हालेँ। यसरी सोच्नुमा कुनै अमुक दलप्रतिको अन्धभक्त नहुनुले काम गरेको थियो।
हामीकहाँ चुनाव लड्न आउने अधिकांश सांसद स्वयंले सांसदको भूमिका बुझेका छैनन्। बुझेका भए बर्सेनि बजेट आउने बेला विकास बजेटका नाममा यति करोड र उति करोड भन्दै रोइलो नगर्नुपर्थ्यो?
तर, अहिले आएर लाग्दै छ– यस सोचाइका पनि सीमा रहेछन्। राम्रो ठानेको मान्छे पुष्टि गर्ने आधार भने मेरो त्योबेलाको चेतनाले नै निर्धारण गरेको हुँदो रहेछ, जुन संगत, अध्ययन, वातावरणलगायतले तय गर्दो रहेछ। चुनावमा मैले प्रत्यक्षतर्फ भोट हालेका बढी उम्मेदवार एमाले पार्टीका थिए। अर्थात् मभित्रको एमालेकरण जब्बर भएरै बसेको रहेछ।
अर्को कारण, सक्षम वैकल्पिक उम्मेदवार नहुनु पनि हो। राजनीतिलाई सेवाबाट धकेलेर पेसा मान्ने संस्कार हामीकहाँ स्थापित छ।
उतिबेला ओलीका लागि भोट माग्ने एमाले नेता-कार्यकर्ताको तर्क थियो– मिर्गौला फेरेका मान्छे धेरै बाँच्दैनन्। त्यसैले मर्ने बेला लोभपाप हुँदैन, सन्तान नभएकाले भ्रष्टाचार पनि गर्दैनन् आदि आदि। भोट माग्ने यति हास्यास्पद तर्क सायदै अन्त कतै गरिएला!
ओली संविधानसभाको चुनावमा भोट माग्न गाउँ आएको दिन मलाई सम्झना छ। ढ्यांग्री खोलाको डिलमा उभिएर उनले भाषण गरिदिए, ‘मैले पुल बनाउने भन्दैमा यहाँ आएर सिमेन्टको बोरा बोक्ने हो र? माथि बसेर निर्देशन पो दिने त।’ परर ताली बज्यो। ओहो! नेताले बाटो, पुल बनाएन भनिरहेको बेला के गतिलो कुरा गरे हाम्रा नेताले! जनता ट्वाँ परे। खासमा उनले बुझाउनुपर्ने त अहिले तिम्रो घरछेउको बाटोभन्दा देशमा संविधान बन्नु किन जरुरी छ भन्ने थियो।
हामीकहाँ चुनाव लड्न आउने अधिकांश सांसद स्वयंले सांसदको भूमिका बुझेका छैनन्। बुझेका भए बर्सेनि बजेट आउने बेला विकास बजेटका नाममा यति करोड र उति करोड भन्दै रोइलो नगर्नुपर्थ्यो? तर, सांसदको भूमिका सांसदलाई थाहा नभएको भन्दा पनि राजनीतिक सुझबुझका साथ प्रपञ्च रचिएको प्रस्ट हुन्छ। अहिले सांसद बनेका हाम्रा प्रतिनिधिले संसद्मा गएर के गरिरहेका छन्? सदनको बहस, छलफलमा भाग नलिने, बसिहाले मस्त निदाउने वा उँघ्ने, पार्टीको आदेशपालक बनेर टेबल ठोक्ने र भत्ता पचाउने। दलले यस्तै ‘यस म्यान’ लाई टिकट दिन्छ जो जीहजुरी गर्नबाहेक केही जान्दैनन्।
हामीले जिताएका सांसदको प्रमुख काम कानुन बनाउनु हो। झट्ट हेर्दा शब्दको थुप्रोजस्तो देखिने कानुनले विकास भनेर हामीले बुझेको सडक, पुल, भवनभन्दा बढी महत्त्व राख्दछ।
हामी जनताले सक्षम र जवाफदेह सांसद नछानेसम्म देश अघि बढ्नेवाला छैन। त्यसैले मत हाल्दा भौतिक विकासको होइन, नीतिनिर्माणको कुरा गर्ने, पढेलेखेको, नियमकानुन बुझेको मान्छेलाई चुनौँ। फुइँयाको गफ लगाएर माखो नमारी खान पल्केका नेतालाई २० फुटे चिल्ला बाटा देखाएर भ्रमित पार्ने छुट अब दिनु हुँदैन। सामुन्नेमा चिप्ला कुरा गर्ने कसैले विकासलाई समृद्धि भनेर फलाक्दैमा हाम्रो वर्तमान र भविष्य सुध्रिँदैन।
हामीले बुझ्नुपर्छ, सांसदले जिम्मेवारीपूर्वक काम गरेको भए ७० वर्षमा सातपटक संविधान लेखिएको देशमा देवानी र फौजदारी कानुन परिमार्जन गर्न १०० वर्ष कुर्नुपर्ने थिएन। आज पनि कैयौँ विधेयक सांसदकै अक्षमताले कानुन बन्न नसकेर त्यसै थन्किएका छन्। कति ‘डेट एक्सपायर्ड’ ऐनलाई अझै परिमार्जन गर्न सकिएको छैन। एउटै मुद्दामा दोहोरो, तेहोरो कानुन हुनु, आवश्यक कानुन बनाउन नसक्नुले न्यायिक प्रक्रिया फितलो बनिरहेको छ। यस्ता कुरा किन कुनै नेताले जनतालाई बुझाउँदैनन्? किनकि, यो बुझाउनेबित्तिकै आफूले काम गर्न थाल्नुपर्छ। ‘धन्दा’ छोडेर नीतिनियम बनाउन सोच्नुपर्छ।
हामीले जिताएका सांसदको प्रमुख काम कानुन बनाउनु हो। झट्ट हेर्दा शब्दको थुप्रोजस्तो देखिने कानुनले विकास भनेर हामीले बुझेको सडक, पुल, भवनभन्दा बढी महत्त्व राख्दछ। भोलिको पुस्ताले देशमै गुणस्तरीय शिक्षा लिने वातावरण बनाउने कि विदेश पढ्न पठाउने, जनतालाई सस्तो र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने कि महँगा अस्पताल खोल्न दिएर कर असुल्ने, देशभित्रै जलविद्युत् खपत बढाएर विदेशमा समेत बिक्री गर्ने कि भारतबाट इन्धन आयात गरिरहने, खेर गइरहेको वन सम्पदा उपयोग गर्ने कि मलेसियाबाट काठ र फर्निचर आयात गर्ने, दण्डहीनता अन्त्य र कानुनी राज्य स्थापना गर्न समयसापेक्ष कानुन निर्माण गर्ने कि दोहोरो तथा अस्पष्ट कानुन बनाएर आफ्ना मान्छे उम्काउने छिद्र तयार पार्ने, बढ्दो वातावरण संकटबारे राष्ट्रिय, अन्तर्राष्ट्रिय कानुनअनुकूल नीतिनियम तर्जुमा गर्ने कि आफ्नो मुद्दा होइन भन्दै पन्छिरहने, हरेक कुरामा विदेशी षड्यन्त्र देख्ने कि आत्मविश्वास सबल पार्ने? तर, हाम्रा सांसदले के गरे र अहिले देशमा के भइरहेको छ, त्यो हामी देखि-भोगिरहेकै छौँ।
आउँदो चुनावमा मतदानमार्फत हामी यस्तो क्रान्ति गरौँ, जसले कलिला युवाको बलिदानी होइन, जीवन मागोस्।
मत खसाल्ने बेला आम नेपालीको एउटा मनोविज्ञान मत खेर नजाओस् भन्ने हुँदो रहेछ। अर्थात्, आफूले मत हालेको मान्छेले जित्नैपर्छ। जितोस् भन्ने कामना गलत होइन, तर जित्नैपर्छ वा नजिते मत खेर जान्छ भन्ने सोच विष बराबर छ। यस्तो सोचले हामीलाई जित्ने सम्भावना भएको जस्तोसुकै खराब पात्रलाई पनि मत हाल्न उक्साइरहेको छ। फलस्वरूप हामीले देशलाई विश्वकै कंगाल मुलुकमा पुर्याउने नेताको हातमा बारम्बार सुम्पिरहेका छौँ।
देशको दुर्गति हुनुमा दोष राजनीतिक दल र नेताको मात्रै छैन। ती नेतालाई पाठ नसिकाउने हामी मतदाता, नेतृत्वलाई सही समयमा सही प्रश्न गर्न नसक्ने कार्यकर्ताले पनि आफ्नो भागको जिम्मेवारी लिनुपर्छ। त्यो जिम्मेवारी अबको चुनावमा सक्षम नेतृत्वको चुनाव गरेर पूरा गर्नुपर्छ।
भर्खरै नेपालमा भएको जेन-जी विद्रोहबारे एक नेपाली युवाको प्रश्नमा भारतीय दार्शनिक आचार्य प्रशान्तले भनेका छन्– अधिकांश क्रान्ति किन सफल हुँदैनन् भने हामी बाहिर मात्रै क्रान्ति खोजिरहेका छौँ। वास्तविक परिवर्तन त्यतिबेला हुन्छ, जब हृदयभित्रबाटै क्रान्ति हुन्छ। क्रान्ति भनेको बलिदानी मात्रै होइन, आफूभित्रको ज्ञान, चेतना र जागरणको विस्तार हो। त्यस्तो जागरण जसले असल नेतृत्व पहिचान गर्न सकोस्।
आउनुहोस्, आउँदो चुनावमा मतदानमार्फत हामी यस्तो क्रान्ति गरौँ, जसले कलिला युवाको बलिदानी होइन, जीवन मागोस्।