काठमाडौँ। अध्ययन भिसामा नेपाल आएका केही विदेशीले भिसाको उद्देश्यविपरीत गतिविधि गरेको पाइएको भन्दै अध्यागमन विभागले निगरानी बढाएको छ।
अध्यागमन विभागका निर्देशक एवं सूचना अधिकारी टीकाराम ढकालका अनुसार, अध्ययन भिसामा नेपाल आएका केही विदेशीले कानुन उल्लंघनको गतिविधिमा संलग्न रहेको र अध्ययन भिसाका लागि सिफारिससमेत पाएको खुल्न आएको छ।
त्यसैगरी केही विदेशीले नियमित कक्षामा सहभागी नभएको, अध्ययन भिसाको अवधि थप गर्न नक्कली कागजात पेस गरेको र कोर्स पूरा भए पनि शैक्षिक प्रमाणपत्र पेस नगरेको तथ्यसमेत पाइएको ढकालद्वारा बुधबार जारी सूचनामा उल्लेख छ।
विदेशीलाई अध्ययन गराउने शैक्षिक संस्था र उनीहरूको गतिविधि अनुगमन गर्न शिक्षा मन्त्रालय तथा ७७ वटै जिल्ला अनुगमन समितिलाई पनि जिम्मेवारी दिएको छ।
