काठमाडौँ। इन्डोनेसियाको राजधानी जकार्तामा रेबिज संक्रमण नियन्त्रणका लागि कुकुर, बिरालो र चमेरोको मासु बेच्न र उपभोगमा प्रतिबन्ध लगाइएको छ।
जकार्ताका गभर्नर प्रमोनो अनुङले मंगलबार सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै भने, ‘खानाको उद्देश्यका लागि रेबिज सार्ने जनावरहरूको मासु बेच्न नगर प्रशासनले प्रतिबन्ध लगाएको छ। यसका लागि मैले निर्णयमा हस्ताक्षर गरिसकेको छु।’
एएफपीका अनुसार प्रमोनोले हस्ताक्षर गरेको उक्त नियम ६ महिनापछि लागु हुनेछ। उल्लंघनकर्ताहरूले लिखित चेतावनीदेखि व्यापार इजाजतपत्र रद्द गर्नेसम्मको प्रतिबन्धको सामना गर्न सक्छन्।
‘यो प्रतिबन्ध जीवित जनावर, मासु वा अन्य कच्चा वा प्रशोधित मासुजन्य उत्पादनहरूमा लागु हुनेछ। सम्बन्धित सबै गतिविधिहरू खाद्य उद्देश्यका लागि लक्षित रेबिज सार्ने जनावरहरूको बेचबिखन नियन्त्रणका लागि लागु गर्न लागिएको हो,’ गभर्नरले अनुङले भने।
इन्डोनेसिया कुकुर र बिरालोको मासु बेच्न अनुमति दिने थोरै देशहरूमध्ये एक हो। देशका अन्य स्थानमा पनि मासु बेच्ने अनुमति दिने अभ्यासविरुद्ध अभियानले गति लिएको छ।
पशु अधिकारकर्मीहरूले पनि जकार्ता प्रतिबन्धलाई पशु अधिकारका लागि सही दिशामा अघि बढ्ने एक कदम प्रगतिको रूपमा प्रशंसा गरेका छन्।
विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष रेबिजका कारण धेरै इन्डोनेसियालीहरूको मृत्यु हुने गरेको छ। इन्डोनेसियाको स्वास्थ्य मन्त्रालयले सन् २०२५ जनवरीदेखि मार्चको बीचमा रेबिजका कारण २५ जनाको मृत्यु भएको जनाएको छ।
मुस्लिम बहुल इन्डोनेसियामा कुकुरलाई अशुद्ध मानिएको र घरपालुवा जनावरका रूपमा विरलै राखिएको भए पनि केही समुदायमाझ कुकुरको मासु अझै किनबेच हुने गरेको छ।