काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

१० मंसिर २०८२
अ+
अ-

धादिङ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का पार्टी संयोजक पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्री बन्न आवश्यक नरहेको उल्लेख गर्दै जनताको सेवकका रूपमा सधैँ काम गर्ने बताएका छन्। बेनिघाट रोराङ गाउँपालिकाको नयाँ प्रशासकीय भवन उद्घाटन समारोहमा उनले स्थानीय विकास, राष्ट्रिय राजनीति र वर्तमान परिस्थिति र नेपाली कम्युनिस्ट पार्टीबारे विस्तृत धारणा राखेका थिए।

उनले आफूलाई अब प्रधानमन्त्री बन्ने रुचि नभएको पनि दाबी गरे। “मलाई अब प्रधानमन्त्री नै भएर मात्रै देशको काम गर्न सकिन्छ भन्ने त लागेको छैन। प्रधानमन्त्री बन्ने त्यस्तो धेरै रुचि र त्यसको निम्तिचाहिँ मरिहत्ते इच्छा पनि छैन। तर देशले माग्यो, जनताले माग्यो भने फेरि जिम्मेवारीबाट पन्छिने पनि मेरो प्रकृति होइन‚” उनले भने।

संयोजक दाहालले बूढीगण्डकी जलविद्युत् आयोजनालाई अघि बढाउने विषयमा आफूले प्रधानमन्त्रीका रुपमा गरेको प्रयास र लगानी जुटाउने कोसिस गरेको दाबी पनि गरे। उनले प्रधानमन्त्री भए पनि नभए पनि परियोजनाप्रति आफ्नो जिम्मेवारी कायमै रहने बताए। उनले भने, “म जुनसुकै जिम्मेवारीमा रहे पनि यो परियोजना अघि बढाउन म निरन्तर लागि पर्छु।”

दाहालले गणतन्त्र स्थापनापछि देशले ऊर्जा, भौतिक पूर्वाधार, स्वास्थ्य र जीवन प्रत्याशामा अभूतपूर्व प्रगति गरेको दाबी गरे। ९० प्रतिशत घरधुरीमा विद्युत् पुग्नु, लाखौँ किलोमिटर सडक विस्तार र सरदर आयु ७१-७२ वर्ष पुग्नु जनताको त्याग र राजनीतिक संघर्षको परिणाम भएको उनको दाबी थियो।

तर पछिल्ला वर्षमा भ्रष्टाचार मौलाउँदै गएको, राज्यको ध्यान रोजगारी सिर्जनाभन्दा वैदेशिक श्रममा मोडिएको कारण केही शक्तिहरूले प्राप्त उपलब्धिलाई कमजोर बनाउने प्रयास गरिरहेको उनको भनाइ छ। देशमा २३ र २४ भदौमा भएको घट्नालाई स्मरण गर्दै दाहालले युवा आन्दोलन र त्यसपछिका घटनामा राज्यको लापरबाहीले ‘राज्यविहीनता’ जस्तै अवस्था सिर्जना भएको धारणा राखे।

अहिले देश अप्ठ्यारो परिस्थिति र अराजकतामा रहेको उल्लेख गर्दै यो अवस्थाबाट पार लगाउन ‘निर्वाचन नै उत्तम विकल्प’ भएको उनको भनाइ छ। सुशीला कार्की नेतृत्वको सरकार सर्वदलीय सहमतिबाट गठन भएको स्मरण गर्दै संविधानलाई सही ट्रयाकमा फर्काउने उपाय निर्वाचनमा सरकार केन्द्रित हुनुपर्नेमा दाहालले जोड दिए। उनले तत्कालीन सरकारका प्रमुख एमाले अध्यक्ष केपी ओलीकै सिफारिसमा सुशीला कार्की प्रधानमन्त्री भएको बताउँदै ढाँट झुट र छलछाम गर्नेतिर नलागी संविधानलाई ट्रयाकमा ल्याउन देशमा निर्वाचको वातावरण बनाउने तर्फ लाग्न ओलीलाई आग्रह पनि गरे।