जनकपुरधाम। त्रेतायुगमा भएको भगवान् राम र सीताको विवाहको स्मरणमा मनाइने विवाहपञ्चमी महोत्सव आजदेखि सकिएको छ। जानकी मन्दिरको प्रांगणमा रहेको विवाह मण्डपमा जन्तीहरूलाई विभिन्न प्रकारका भोजनसहित दक्षिणा प्रदान गरी बिदाइ गरेर साताव्यापी विवाहपञ्चमी महोत्सव सकिएको हो।
जानकी मन्दिरका महन्त राम तपेश्वर दासले जन्ती आएका साधुहरूलाई दक्षिणासहित मिष्ठान्न भोजन गराउँदै बिदा गरेका थिए। यसलाई मिथिलामा राम कलेवा भन्ने गरिन्छ। विवाह मण्डपमा भगवान् राम, लक्ष्मण, भरत, शत्रुघ्नको प्रतीकात्मक झाँकीलाई समेत भोजन गराइएको थियो। सो कार्यक्रममा उपस्थित महिलाहरूले हास परिहास गर्दै गीत गाउँदै रमाइलो गरेका थिए।

बिदाइ कार्यक्रममा भोजन गरिरहेका साधुसन्त। तस्बिर : वीरेन्द्र रमण
प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा हरेक वर्ष भव्यतापूर्वक विवाहपञ्चमी पर्व मनाइन्छ। विवाहपञ्चमी महोत्सवका अवसरमा नेपालका विभिन्न ठाउँसहित भारतबाट समेत तीर्थालुहरू ठूलो संख्यामा जनकपुरधाम आएका थिए।

विवाहपञ्चमीको बिदाइ कार्यक्रममा भोजन गरिरहेका साधुसन्त। तस्बिर : वीरेन्द्र रमण