काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबीच आइतबार एकता हुने भएको छ। विवेकशील साझा पार्टीको बुधबार सम्पन्न केन्द्रीय समितिको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गर्ने निर्णय गरेको हो।
“पार्टीको आज जारी केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारको वैकल्पिक राजनीतिक दलबीचको बृहत्तर ध्रुवीकरण/एकीकरण प्रस्तावलाई सर्वसम्मत अनुमोदन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गर्ने निर्णयलाई पारित गरिएको हो,’ साझा पार्टीका प्रवक्ता आषुतोष प्रधानद्वारा जारी विज्ञप्तिमा छ।
“वैकल्पिक राजनीतिक शक्तिको अपरिहार्यताको महसुस भइरहेको बेला नवयुवाहरुको आन्दोलन (जेन-जी विद्रोह) ले विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको एकीकरणलाई तीव्रतर बनाइदियो, निर्वाचनमा पहिलो शक्ति भएर नेपाली जनताको विकास, समृद्धि र सुशासनको उत्कट चाहनालाई परिणाममुखी बनाउने राजकीय दायित्वलाई सफल बनाउने प्रतिबद्धताका साथ एकीकरण गरिएको हो। यसले राष्ट्रिय सन्देश दिन्छ,” संयोजक एवं उपाध्यक्ष परियारले नेपालन्युजसँग भने।
एकीकरणको घोषणाका लागि आगामी १४ मंसिरमा राष्ट्रिय सभागृहमा कार्यक्रम गरिने भएको छ।