विराटनगर। कोसी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले उच्च मनोबलका साथ काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्। बिहीबार जिम्मेवारी सम्हाल्दै डीआईजी घिमिरेले संगठनको गरिमा उच्च राखेर काम गर्न निर्देशन दिएका हुन्।
घिमिरेले राज्यको उपस्थिति नै प्रहरी भएको बताउँदै जेन-जी आन्दोलनपछिको विषम् परिस्थितिअनुसार कार्यसम्पादन गर्न निर्देशन दिए। उनले अपराध रोकथाम, तस्करी, लागुऔषध नियन्त्रणमा अग्रपंत्तिमा काम गर्न निर्देशन दिए। घिमिरेले राम्रो काम गर्ने प्रहरीलाई पुरस्कार दिने र खराब काम गर्नेलाई तत्काल कारबाही गरिने बताए।
घिमिरे गृह मन्त्रालयको ८ मंसिरको निर्णयअनुसार कोसी प्रदेश प्रहरी प्रमुख भएका थिए। ईश्वर कार्की प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा भएसँगै कोसी प्रदेश प्रहरी कार्यालय प्रमुखविहीन हुँदा घिमिरेलाई जिम्मेवारी दिइएको थियो। घिमिरे प्रहरी प्रधान कार्यालय प्रशासन विभागबाट कोसी प्रदेश प्रमुखको रूपमा सरुवा भएका थिए।
पदभार ग्रहणपछि कार्यालयको सभाहलमा उपस्थित प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूलाई उनले निर्देशन दिएका थिए। उपस्थित हुन नसकेका जिल्ला प्रहरी प्रमुखहरू तथा मुद्दा चल्ने एकाइका प्रमुखहरूलाई घिमिरेले भर्चुअल रूपमा सम्बोधन गरेका थिए।
“७० वर्षको लामो इतिहास बोकेको प्रहरी सङ्गठन विभिन्न प्रकारका आरोह अवरोहको सामना गर्दै कानुन कार्यान्वयन गरी देश र जनताको सेवामा समर्पित रहँदै आएको छ। राज्यको उपस्थिति नै प्रहरी हो, प्रहरीबिनाको समाज अकल्पनीय हुन्छ,” घिमिरेले सम्बोधनका क्रममा भने, “त्यसैले समय परिस्थितिअनुसार आफूमा बदलाव ल्याई सामूहिक भावना, भातृत्व, सहकार्य, समन्वयका साथ प्रविधिको उच्चतम् प्रयोग गर्दै संगठनको गरिमा उच्च राखी प्रहरी सेवा प्रदान गर्न निर्देशन दिन्छु।”
उनलाई प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारी, प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, कोसी प्रदेश प्रहरी गण रानीलगायतमा कार्यरत प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए।
साथै, डीआईजी घिमिरेले राजनीतिक आवरणमा हुने गुन्डागर्दी नियन्त्रण गर्ने बताए। उनले राजनीतिक संरक्षणमा हुने गुन्डागर्दी नियन्त्रणमा प्रहरीले आक्रामक कारबाही गर्ने बताए।