काठमाडौँ। जेन-जी आन्दोलनको क्रममा इटहरीस्थित इलाका प्रहरी कार्यालय आगजनी, तोडफोड, लुटपाट गरेको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–३ का २९ वर्षीय विजय लिम्बू, भोजपुर याङपाङ घर भई इटहरी–४ बस्ने ४७ वर्षीय मदन खत्री, इटहरी–४ का २४ वर्षीय सोनम कार्की, इटहरी–५ का ४४ वर्षीय दीपेन्द्रकुमार कार्की र इटहरी–८ का २४ वर्षीय आभाष कार्की रहेका छन्। उनीहरूलाई सुनसरीका विधिन्न स्थानबाट पक्राउ गरी बुधबार आपराधिक उपद्रव कसुरमा अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए।
२४ भदौको जेन-जी आन्दोलनका क्रममा प्रहरीको भवन, सवारीसाधन आगजनी, तोडफोड गरी ध्वस्त पारिएको थियो। कार्यालयमा लुटपाट गरी सुरक्षामा खटिएका प्रहरीमाथि दुर्व्यवहार भएको थियो।
घटनासँग सम्बन्धित भिडियो, फोटोलगायतका प्रमाणका आधारमा उनीहरूलाई पक्राउ गरिएको हमालले बताए।