काठमाडौँ। पूर्वाधार योजनाको ड्रइङ, डिजाइनिङ, लागत अनुमानजस्ता प्रक्रियामा डिजाइनरले वातावरण तथा सामाजिक पक्ष समावेश गर्न, काम गरिने ठाउँमा त्यसअघि भएका पूर्वाधारको सूक्ष्म ध्यान दिन काठमाडौँ महानगरपालिका उपप्रमुख एवं अनुगमन समिति संयोजक सुनीता डंगोलले विभागीय निर्देशन दिएकी छन्।
जमल-कमलाक्षी-असन, भोटाहिटी- असन, असन-बालकुमारी-मच्छिन्द्र बहाल हुँदै इन्द्रचोकसम्म ढुंगा बिछ्याउने योजनाको आज (बिहीबार) अनुगमनका क्रममा पानी पुनर्भरण प्रणालीबारे चासो राख्दै यस्तो बताएकी हुन्।
“सडक आफैँलाई पानी पुनर्भरण हुन सक्ने बनाउन सम्भव भएन भने वाटर रिचार्ज पिट राखेर भए पनि पानी पुनर्भरण गराउनुपर्छ। यससँगै त्यो ठाउँमा पहिले नै निर्माण भएका पूर्वाधार, सामाजिक अपेक्षा र आवश्यकतालाई ख्याल गर्नुपर्छ। अनिमात्र योजना दिगो र समुदायले अपनत्व गर्ने खालको हुन्छ‚” डंगोलको भनाइ थियो‚ “यस सडक खण्डमा सतहको पानी कसरी निकास हुन्छ? सडकमा पानी जम्मा भएर पैदल यात्री, स्थानीय बासिन्दा तथा व्यापारिक क्रियाकलापमा असर हुन्छ कि हुँदैन?”
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले योजना तर्जुमादेखि कार्यान्वयन चरणसम्मका प्रक्रियाबारे अधिकारीहरुसँग जानकारी मागे।
यस सडकखण्डमा पानी पुनर्भरण हुने विधिबाट ढुंगा बिछ्याउने योजना थियो। यसका लागि सय मिटर सडकमा करिब एक महिना परीक्षण गरियो। सवारीसाधनको नियमित आवतजावतले पानी पुनर्भरणसहितको सडक निर्माण टिकाउ नहुने भएपछि तर्जुमा गरिएको योजना संशोधन गरेर कार्यान्वयनमा ल्याइएको हो। अनुगमनका क्रममा सार्वजनिक निर्माण विभागका प्रमुख सुरेशकुमार राईले यसबारे जानकारी गराएका थिए।
करिब नौ सय मिटरको यो सडकमा न्यूनतम ४.५ फिट र धेरैमा १२ फिट चौडाइ छ। यहाँ १२ इन्च लम्बाइ, ८ इन्च चौडाइ र ४ इन्च मोटाइ भएका ढुंगा छापिएका छन्। चार करोड ४२ लाख ८३ हजार लागत अनुमान रहेको योजनाका लागि सार्वजनिक खरिद प्रक्रियाबाट तीन करोड ५१ लाख १४ हजार कबोल गर्ने आईएस निर्माण सेवाले काम गरेको हो। २०८२ असोज मसान्तसम्ममा काम सम्पन्न गर्ने गरी २४ असार २०८१ मा निर्माण पक्षलाई कार्यादेश दिइएको थियो। जमिनमा पानी पुनर्भरण गराउने परीक्षण र योजना संशोधनका कारण निर्माण अवधि बढेको विभागीय प्रमुख राईको भनाइ छ।
योजना मूल्यांकन तथा अनुगमन एकाइका उपनिर्देशक गंगाधर गौतमका अनुसार अनुगमनका क्रममा सामान्य त्रुटि देखिएका छन्। यी त्रुटि सुधारका लागि निर्माण पक्षलाई पत्राचार गरिनेछ। अनुगमनका क्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्यहरु, विपत् व्यवस्थापन तथा वातावरण अनुगमन टोलीसहित स्थानीयको सहभागिता थियो।