नेपालगन्ज। रत्न राजमार्ग आसपासमा अतिक्रमण गरी बनाइएका घर-टहरा नेपालगन्ज उपमहानगरपालिकाले आज (बिहीबार) देखि हटाउन सुरु गरेको छ।
उपमहानगरले बीपीचोकबाट धम्बोझी चोकसम्म राजमार्गदेखि २१ मिटरभित्रका घर-टहरा हटाउन सुरु गरेको हो। नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले त्यस क्षेत्रमा अपांगमैत्री संरचना निर्माणका लागि ठेक्का सम्झौता भइसकेकाले अतिक्रमण हटाउन सुरु गरिएको जानकारी दिए।
उनले हरियाली प्रवर्द्धन गर्न रुख-बिरुवासमेत रोपिने उल्लेख गर्दै डेढ वर्षमा गणेशमान चोकदेखि बीपीचोक र धम्बोझी चोकदेखि पुष्पलाल चोकसम्म पूर्वाधार निर्माण गरिने बताए।
यसका लागि ४९ लाख ५० हजार रुपैयाँमा ठेक्का लगाइएकाले अहिले बीपीचोकदेखि धम्बोझी चोकसम्म अतिक्रमण हटाइने उनको भनाइ छ। उपमहानगरले यसअघि सार्वजनिक सूचना जारी गर्दै अतिक्रमण गरेका जग्गा खाली गर्न आग्रह गरेको थियो।