काठमाडौँ। जेन-जी आन्दोलनका क्रममा प्रहरी कार्यालयबाट हतियार लुटेको आरोपमा तीनजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मकवानपुर बागमती नगरपालिका ७ का २५ वर्षीय निकेश विक, सोही ठाउँका २५ वर्षीय सुरज विक र बागलुङ ढोरपाटन नगरपालिका ३ का २५ वर्षीय बालकृष्ण गैरे छन्।
उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट बुधबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। प्रवक्ता काजीकुमार आचार्यका अनुसार विकद्वय काठमाडौं बागबजार र गैरे भृकुटीमण्डप बस्थे।
उनीहरूको साथबाट दुई थान पेस्तोल र एक थान म्यागजिन बरामद भएको आचार्यले बताए।
पक्राउ परेकामध्ये निकेश र सुरज आपराधिक पृष्ठभूमिका व्यक्ति रहेको प्रहरीले जनाएको छ। निकेशविरुद्ध केन्द्रीय अनुसन्धान ब्युरोमा ठगी तथा आपराधिक लाभ लिएको कसुर मुद्दा छ। उक्त मुद्दामा विक फरार थिए।
यसैगरी उनी इलाका प्रहरी कार्यालय गौशाला महोत्तरीमा दर्ता भएको चोरी मुद्दामा फरार देखिएको छ।
निकेश र सुरजले ५ मंसिर राति २ बजे बागबजारमा बरामद पेस्तोल देखाएर नगद तथा जिन्सी लुटपाट गरेको आचार्य बताउँछन्। बागबजारमा भोज डिलको फुड डेलिभरी गर्ने नीरज चौधरीबाट नगद तथा जिन्सी लुटपाटको निवेदन वृत्त सिंहदरबारमा विचाराधीन रहेको आचार्यले बताए।
बरामद भएका पेस्तोल कुन प्रहरी कार्यालयको हो भन्नेबारे प्रहरीले खोजिरहेको छ। पक्राउ परेका सबै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।