काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

नेपाल प्रिमियर लिग

गत संस्करणमा लिग चरणबाटै बाहिरिएको लुम्बिनी लायन्स यसपटक पनि त्यही जोखिममा

१२ मंसिर २०८२
नेपाल प्रिमियर लिगको दोस्रो सिजनमा सुदूरपश्चिमविरुद्धको खेलमा लुम्बिनीका कप्तान रोहित पौडेल। तस्बिर : नेपाल प्रिमियर लिग
अ+
अ-

इज् इट् नट् इनफ् नाउ!

नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइजी लुम्बिनी लायन्सका मालिक ईश्वर जिसीले सामाजिक सञ्जालमा पोस्ट् गरेको यो वाक्यले अहिले यो टोलीको यथार्थ छर्लंग पारेको छ ।

लिगको पहिलो संस्करणमा लुम्बिनीको खराब प्रदर्शनलाई कप्तान रोहितकुमार पौडेलले मात्र होइन, मुख्य प्रशिक्षक शिवनारायण चन्द्रपौलले पनि बिर्सिन चाहेका थिए। सात खेल खेल्दा लुम्बिनीले चितवन राइनोजविरुद्ध मात्र जित निकालेको थियो। लुम्बिनी नै प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्यो।

त्यसैले दोस्रो संस्करणमा लुम्बिनीले नाममा गर्जिने संकल्प राखेर मुख्य प्रशिक्षकमात्र होइन, खेलाडीको ‘बटालियन’ नै परिवर्तन गर्‍यो।

पहिलो खेलमा त्यसको प्रभाव पनि देखियो। गत वर्ष प्लेअफसम्म पुगेको चितवनलाई ६ विकेटले पराजित गरेर टिमले आत्मविश्वास बटुल्यो । तर, त्यसपछिका तीन खेलमा लुम्बिनीले जित हासिल गर्न सकेको छैन । दोस्रो खेलमा कर्णाली याक्ससँग ९ विकेटले हारेको लुम्बिनी त्यसपछि काठमान्डु गोर्खाजलाई २२ रन र सुदूरपश्चिम रोयल्सलाई ७ विकेटको फराकिलो नतिजा सुम्पिन पुग्यो।

यो परिणामले लुम्बिनीलाई पहिलो संस्करणकै अवस्थामा ल्याउने जोखिम बढेको छ । त्यसैले पनि टिम मालिक जिसी स्वयं टिमको प्रदर्शनबाट दिक्क देखिएका हुनसक्छन् ।

कहाँ चुक्यो लुम्बिनी

‘टिम गेम’मा एक खेलाडीले मात्र राम्रो प्रदर्शन गरेर पुग्दैन, सबैले नै योगदान दिनुपर्छ । तर, अहिले लुम्बिनीमा न स्वदेशी खेलाडी चलेका छन् न विदेशी नै। चार खेलमा टोलीले एकपल्ट मात्र १६० रनको स्कोर कटाउन सकेको छ। बाँकी खेलमा निरिह देखिएका छन्। कप्तान रोहित भन्छन्,“टिमको रूपमा हामी दुवै पोइन्टमा चुकिरहेका छौं। विदेशी र स्वदेशी दुवैले स्टेपअप गर्न सकेका छैनन्।”

बाटिङका क्रममा लुम्बिनीका खेलाडी। तस्बिर : नेपाल प्रिमियर लिग

लिगमा जुन हिसाबको सुरुआत थियो, टिमले त्यसमा निरन्तरता दिन सकेन । दोस्रो खेलमा कर्णालीका बलर मार्क वाटले खेल करिअरकै पहिलो शतक प्रहार गर्दै ११४ रन बनाउँदा लुम्बिनीले नौ विकेटको नराम्रो हार बेहोर्नुपर्‍यो। तेस्रो र चौथो खेलमा राम्रो सुरुआत गरेर पनि टिम चुक्न पुग्यो।

बिहीबार सुदूरपश्चिमविरुद्धको खेलमा डीआर्सी सर्ट र सुमित महर्जनले ओपनिङमा समान १८ रन बनाउँदै लुम्बिनीलाई बलियो सुरुआत दिएका थिए। त्यसपछि कप्तान रोहितले दीलिप नाथसँग मिलेर तेस्रो विकेटका लागि ५२ रनको साझेदारी गर्दै १४.१ ओभरमा ३–१०४ रनको स्थितिमा पुर्‍याएका थिए। तर, त्यसपछि ३९ रन बनाउँदा लुम्बिनीले ७ विकेट खर्चियो। दीलिपले २९ बलमा २ चौका र १ छक्का प्रहार गर्नुबाहेक अन्य खेलाडीको प्रदर्शन सम्झनलायक रहन सकेन।

“हामी १५ ओभरमा ११५ रन थियौं। तर, त्यसपछिको ३० बलमा २८ रन बनायौं। कम्तीमा ५० रन त बन्नुपथ्र्यो। नतिजा अर्कै हुन्थ्यो”, चौथो खेलको विश्लेषण गर्दै रोहित भन्छन् ।

हुन त रोहितले भनेजस्तै सुदूरपश्चिमविरुद्धको सुरुआत हेर्दा लुम्बिनीले खेल जोगाउन १७० देखि वा १८० रनसम्म बनाउनुपर्ने थियो। तर, उनी र दीलिपबाहेकका खेलाडीले आवश्यक प्रदर्शन गर्न सकेनन्। विदेशी खेलाडीको प्रदर्शन पनि उल्लेख्य हुनसकेन ।

लुम्बिनी लायन्सका समर्थक। तस्बिर : नेपाल प्रिमियर लिग

लुम्बिनीले यसपटक अलराउन्डरद्वय गुल्बदीन नैब, डीआसीसहित पाँच विदेशी खेलाडी भित्र्याएको छ । ३४ वर्षीय नैब अफगानिस्तानबाट एकदिवसीय अन्तर्राष्ट्रिय, टी–२०आई, फस्र्ट क्लास, लिस्ट ‘ए’ विभिन्न फ्रेन्चाइजी लिगका ४७८ इनिङ्समा ७५ सयभन्दा बढी रन र २५३ विकेट लिएका खेलाडी हुन्।

अस्ट्रेलियाका डीआर्सीको प्रदर्शन पनि उत्तिकै लोभलाग्दो छ। नैबले जस्तै क्रिकेटको लामो ‘फर्म्याट’ टेस्टमा डेब्यु गर्न नपाएका उनले पनि ९ हजार ६ सयभन्दा बढी रन र १३७ विकेट लिइसकेका छन्। उनीसँग पनि ३०० भन्दा बढी खेलको अनुभव छ।

यीबाहेक नामिबियाका जेजे स्मिथ तथा रुबेन ट्रम्पलम्यानको आँकडा पनि बलियो छ । यो टोलीमा कुनै अनुभवविहीन विदेशी खेलाडी छन् भने ती इटलीका थोमस ड्राका मात्र हुन्। उनले सुदूरपश्चिमविरुद्धको खेलमा मात्र डेब्यु गरेका हुन्।

लुम्बिनीमा नेपाली खेलाडी पनि कम क्षमतावान छैनन्। टी–२० फम्र्याटमा प्रतिभावान खेलाडीका रूपमा लिइएका सन्दीप जोरासँगै शेर मल्ल, तिलाराज भण्डारी, सुमित महर्जन र दिनेश अधिकारीजस्ता युवा खेलाडी यो टोलीमा छन्। तर, कुनै खेलाडी खुलेर खेल्नै सकेका छैनन्।

मुख्य प्रशिक्षक चन्द्रपौलले सन्दीपलाई ‘पावर प्ले’मा राम्रो सुरुआत दिन तीन खेलमा शीर्षक्रममा खेलाएका थिए। तर, ‘कम्फर्ट जोन’ बाहिर जाराको प्रदर्शन सम्झनलायक रहेन ।

चितवनविरुद्ध ओपनिङ गरेका उनले १८ बलमा २८ रन बनाएका थिए। तर, कर्णालीविरुद्ध आठ बलमा एक रन र काठमान्डुविरुद्ध सात रनमै क्याच भएपछि उनलाई पछाडि नै फर्काइएको थियो। तर, सुदूरपश्चिमविरुद्धको खेलमा पनि उनले सात बलमा सात रन मात्र बनाए ।

सधैं लयमा रोहित

पछिल्ला दुई संस्करणमा लुम्बिनीका लागि कुनै खेलाडीले एकैखाले प्रदर्शन गरेका छन् भने ति कप्तान रोहित नै हुन्। पहिलो संस्करणमा उनले ७ इनिङ्समा १ अर्धशतकसहित २७९ रन बनाएका थिए।

लुम्बिनीका कप्तान रोहित पौडेल। तस्बिर : नेपाल प्रिमियर लिग

यो जनकपुर बोल्ट्सलाई उपाधि दिलाउँदा सर्वाधिक रनकर्ता बनेका लाहिरु मिलन्था (२९३) भन्दा १४ रन मात्र कम थियो । बलिङमा पनि रोहितले १९ ओभरमा ८ विकेट लिएका थिए। जुन मुख्य बलर साद बिन जाफर र रोमन रोमारियो सिमोन्डाभन्दा एक विकेट मात्र कमी थियो ।

यसपल्ट पनि रोहितले पुरानै लयमा प्रदर्शन गरिरहेका छन्। उनले चार इनिङ्समा १३४ रनको योगदान दिएका छन्। उनीभन्दा अगाडि चितवनका रवी बोपारा र कर्णालीका मार्क वाट मात्र छन्। बलिङमा पनि उनले १९ ओभरमा ५ विकेट लिएका छन्, जुन विराटनगर किङ्सका कप्तान तथा लेगस्पिनर सन्दीप लामिछानेभन्दा ४ विकेट मात्र कम हो। सन्दीप यो संस्करणको सर्वाधिक विकेट लिने बलर हुन्।

यता गुल्बदिनले चार इनिङ्समा ७३ रन मात्र बनाउन सकेका छन्। दीलिपले ७२ र डिआर्सीले ७० रनको योगदान दिएका छन्। बाँकी खेलाडीले भने ५० रन पनि कटाउन सकेका छैनन्।

गर्ला त पुनरागमन?

तालिकामा पुछारका अन्तिम दुईमा रहे पनि अंकमा भने लुम्बिनी धेरै पछि छैन। शीर्ष चार टोली ‘प्लेअफ’ पुग्ने समीकरण हुँदा अहिलेको स्थितिमा चार खेलबाट आठ अंक जोडेको सुदूरपश्चिम र त्यति नै खेलबाट ६ अंक बटुलेका विराटनगर त्यसका बलियो दाबेदार देखिन्छन्।

लुम्बिनी लायन्सको टोली। तस्बिर : नेपाल प्रिमियर लिग

यीबाहेक तीन खेल खेलेको चितवन र चार खेल खेलेको काठमान्डुको समान चार अंक छ। लुम्बिनीलाई नै हराएको कर्णालीले पनि दुई अंक मात्रै छ। पोखरा एभेन्जर्सले पनि साबिक विजेता जनकपुरलाई हराउँदै दुई अंक जोडेको छ।

बाँकी सबै खेलमा जित हात पार्छ र अन्य टोलीले पनि लुम्बिनीकै अनुकुलतामा खेल्छन् भने टोलीका लागि ‘सुनमा सुगन्ध’ हुनेछ । तर, यस्तै सोचेर मुख्य प्रशिक्षक चन्द्रपौल ढुक्क बस्ने मुडमा देखिँदैनन्।

उनी शीर्षक्रमलाई राम्रो प्रदर्शन गर्न दबाब दिइरहेका छन्। शीर्षक्रमले राम्रो गर्न नसक्दा तल्लोक्रममा स्वतः दबाब बढ्ने गर्छ। लुम्बिनीको खेल हेर्दा नै स्पष्ट देखिने गरी शीर्षक्रमबाट टिमलाई चाहिएको योगदान आउन सकेको छैन। यसबाहेक मध्य ओभर ब्याटिङमा पनि उनले चित्त बुझाएका छैनन् । “इनिङ्सको शीर्ष र मध्य दुवैमा ब्याटिङ सुधार्न आवश्यक छ,” उनी भन्छन्।

लगातार तीन खेलको पराजित लुम्बिनी अहिले ‘ब्रेक थु’को खोजिमा छ। ‘ब्रेक थु’ सँगै टिम अघि बढाइने चन्द्रपौलको रणनीति छ। “जे भयो, भइसक्यो । अब हामीले जे अगाडि छ, त्यसैमा ध्यान केन्द्रित गर्नुपर्छ,” उनी भन्छन्।
चन्द्रपौलले भनेजस्तै टोलीले गर्छ, गर्दैन त्यो लिगका बाँकी तीन खेलले प्रमाणित गर्नेछ ।