काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले वरिष्ठ पाइलट विजय लामालाई ग्राउन्डेड गरेको छ। शुक्रबार क्यानले लामालाई उडान अनुशासन उल्लंघन गरेको भन्दै ग्राउन्डेड गरेको हो।
उडानका क्रममा फोटो र भिडिओग्राफी गरेको आरोप उनलाई लगाइएको छ। लामालाई स्पष्टीकरण नबुझाएसम्म उडानमा रोक लगाइएको प्राधिकरणका एक अधिकारीले बताए। “उनले जहाज अवतरणका क्रममा भिडिओ खिचेको पाइएकोले ग्राउन्डेड गरिएको हो,” ती अधिकारीले भने, “आज जापानमा हुने उनको फ्लाइट रोकिएको छ।”
लामाको ग्राउन्डेड अवधि भने खुलाइएको छैन। प्राधिकरणले यसबारे छानबिन गरिरहेको छ। लामा वाइडबडी ३३० जहाज उडाइरहेका छन्। योसहित उनलाई चारपटक प्राधिकरणले ग्राउन्डेड गरिसकेको छ।