काठमाडौँ। पाकिस्तानी प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार राणा सनाउल्लाह तथा पीटीआईका वरिष्ठ नेताहरूले पूर्वप्रधानमन्त्री इमरान खानबारे फैलिएका अड्कलबाजीहरू पूर्णरूपमा गलत रहेको बताएको छ। खानको स्वास्थ्यबारे फैलाइएका अफवाहहरू अस्वीकार गर्दै उनी ‘पूर्णरूपमा ठीक रहेको’ दुवै पक्षले बताएका छन्।
यद्यपि, पीटीआई नेतृत्वले परिवारका सदस्य र कानुनी सल्लाहकारलाई तीन हप्ताभन्दा बढी समयदेखि भेट्न नदिइएका कारण चिन्ता बढिरहेको बताउँदै अदियाला जेलमा रहेका पार्टी संस्थापकसँग भेटका लागि अनुरोध गरेको छ। भ्रष्टाचारसम्बन्धी मुद्दामा जेल सजाय भोगिरहेका इमरानलाई भेट्न माग गर्दै परिवार तथा कार्यकर्ताहरूले पछिल्ला दिनमा जेलबाहिर प्रदर्शन गरिरहेका छन्। पीटीआई प्रतिनिधिमण्डल आज फेरि जेल पुगे पनि प्रवेश अनुमति दिइएन।
७३ वर्षीय इमरानलाई उच्च सुरक्षा सुविधा रहेको स्थानमा सार्न सकिनेबारे सामाजिक सञ्जालमा चर्को चर्चा छ। सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘इमरान खान कहाँ छन्?’ भन्ने प्रश्न अत्यधिक सोधिरहेका छन्। पाकिस्तानको गृह मन्त्रालयले यसबारे कुनै प्रतिक्रिया दिइसकेको छैन।
एआरवाई न्युजसँग कुरा गर्दै प्रधानमन्त्रीका सल्लाहकार सनाउल्लाहले इमरानको स्वास्थ्यबारे जनाइएको चिन्ता निराधार भएको बताए। उनका अनुसार चिकित्सकहरूको टोलीले दैनिक तथा साप्ताहिक रूपमा स्वास्थ्य परीक्षण गर्दै औषधि, आहार तथा आवश्यक सुविधाहरू व्यवस्थापन गरिरहेको छ। उनले इमरान अदियाला जेलमै रहेको र स्थानान्तरणबारेका खबर गलत भएको स्पष्ट पारे।
पीटीआईका वरिष्ठ नेता तथा सिनेटर अली जफरले डन न्युज टिभीमा बोल्दै यी दाबीहरूलाई आधारहीन बताए। उनले ‘इमरानलाई प्रत्यक्ष भेटेर मात्रै आम जनतालाई आश्वस्त गर्न सकिन्छ’ भनेका छन्।
यता इमरानका कान्छा छोरा कासिम खानले सामाजिक सञ्जालमा लेख्दै बुबालाई डेथ सेलमा एकान्तमै राखिएको र अदालती आदेश हुँदाहुँदै पनि नियमित भेट अनुमति नदिइएको आरोप लगाए। उनले कुनै फोन, कुनै भेट, कुनै प्रत्यक्ष सूचना नपाइएको भन्दै ‘पूर्ण ब्ल्याकआउट’ जस्तै अवस्था भएको उल्लेख गरेका छन्।