काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१२ मंसिर २०८२
तस्बिर : सैनिक जनसम्पर्क निर्देशनालय
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण गरेकी छन्। प्रधानमन्त्री कार्कीले जंगी अड्डा पुगेर निर्वाचन सुरक्षा तयारीबारे समेत जानकारी लिइन्।

यसक्रममा सेनाले हालको सुरक्षा अवस्था, प्रमुख चुनौती र आगामी योजनाबारे ब्रिफिङ गरेको थियो। साथै निर्वाचन सुरक्षामा सेना परिचालनको योजना र ढाँचाबारे पनि प्रस्तुतीकरण दिएको थियो।

प्रधानमन्त्री कार्कीले २१ फागुनको प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्‍न गर्न नेपाली सेनालाई प्राप्‍त जिम्मेवारी सफलतापूर्वक पूरा गर्नेसमेत विश्वास व्यक्त गरिन्।

यस्तै उनले जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण, सहयोग र सुरक्षित गर्न तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिहरू बिनाअवरोध सञ्चालन गर्ने वातावरण सिर्जना गर्न पनि स्पष्ट कार्ययोजनासहित अघि बढ्न निर्देशन दिइन्।

उनले आगामी निर्वाचनमा एक थोपा पनि रगत बग्न नहुने र एकजना पनि घाइते हुन नहुने भन्दै सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायहरूसँग समन्वयात्मक र त्रुटिरहित ढंगले काम गर्न निर्देशन दिइन्।

यसैगरी जेन-जी आन्दोलनको क्रममा लुटिएका र हराएका हातहतियारको खोजी तया नियन्त्रणमा लिन प्रहरीलगायत सुरक्षा निकायसँग सहकार्य गरी स्थिति सामान्य पार्ने र फरार अपराधी पक्रन प्रहरीलाई सहयोग गर्न पनि कुनै कसर बाँकी नराखी खट्न पनि कार्कीको निर्देशन थियो।

कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्याल, प्रधानसेनापति अशोकराज सिग्देललगायतको उपस्थिति थियो।