फिल्म समीक्षा
१२ वर्षपछिको स्प्रिचुअल जर्नीमा पनि मेलोड्रामा नै हाबी हुँदा तेरे इश्क मे बन्यो ‘नयाँ बोतलभित्रको पुरानै रक्सी’
फिल्म : तेरे इश्क मे
निर्देशक : आनन्द एल राय
कलाकार : धनुष, कृति सेनन, प्रकाश राज र अन्य।
कथा/पटकथा : अंक (२.५)
‘हिंसालाई प्रेममार्फत रूपान्तरण गर्न सकिन्छ’ भन्ने प्रस्तुति चलिरहेको छ। दिल्लीको एउटा विश्वविद्यालयभित्र यो प्रस्तुति दिँदै छिन् त्यहीँकी छात्रा मुक्ति (कृति सेनन)। उनको थेसिस डिफेन्समा उपस्थित सुपरभाइजरहरूलाई प्रस्तोताको तर्कले चित्त बुझाउन गाह्रो परिरहेको छ। तैपनि आत्मविश्वासले भरिएको मुक्तिको प्रस्तुतिले उनीहरू सोचमग्न छन्।
त्यहीबेला कलेजकै विद्यार्थी संगठनको समूहको पिटाइबाट बच्न एउटा केटा त्यस सभामा आइपुग्छन्। त्यसपछि सभामा चर्चा भइरहेको विषयको ठीक विपरीत दृश्य देखिन्छ। संगठनको नाइके शंकर (धनुष) त्यस केटालाई शिक्षकहरूकै अगाडि पिट्न थाल्छ। त्यसपछि मुक्तिले शंकरको हात समाएर झगडा साम्य पार्छिन्। शंकर पहिलो भेटमै मुक्तिप्रति आकर्षित हुन्छ।
सम्पन्न पृष्ठभूमिकी मुक्ति र गरिब परिवारको शंकरबीच मेल नखाने कुरा धेरै छन्। तर, पीएचडी थेसिस पूरा गर्ने दबाबमा परेकी मुक्तिका नजरमा शंकर ‘केस स्टडी’ बन्छ। मुक्ति यही केस स्टडीका लागि शंकरको सहयोग माग्छिन्। मुक्तिप्रतिको प्रेमका कारण ऊ नाइँ भन्दाभन्दै ल भन्न राजी हुन्छ। मुक्तिले भविष्यमा समेत शंकरसँग प्रेममा पर्ने कुनै सम्भावना नरहेको स्पष्ट पार्छिन्। तर, शंकरसँग डेटमा जान राजी हुन्छिन्।
यो मित्रतामा आफू बहकिने शतप्रतिशत थाहा भए पनि एक न एक दिन आफ्नो प्रेमले जित्ने आशामा ऊ मुक्तिका हरेक कुरा मान्दै जान्छ। बिस्तारै आक्रोश र आवेगले भरिएको युवाको स्वभावमा रूपान्तरण आउन थाल्छ। यही रूपान्तरणले मुक्तिको थेसिस पास हुन्छ। शंकरको आनीबानीमा आएको रूपान्तरणले स्वयं मुक्तिलाई आश्चर्यमा पार्छ। तर, यसको बदलामा उनी शंकरलाई मनैबाट धन्यवाद मात्र भन्न सक्छिन्। प्रेमका बदला प्रेम दिन सक्दिनन्। यो सत्य स्विकार्न शंकर तयार हुँदैन।
मुक्तिसँगै हुँदा शंकर दोहोर्याइरहन्छ– तिमी सँगै हुँदा मेरो क्रोध नियन्त्रण हुन्छ, तर तिमी टाढा भयौ भने म पहिलाजस्तै हुन्छु।

चलचित्र ‘तेरे इश्क मे’को दृश्य
शंकरले यसो पनि भनेका हुन्छन्– म प्रेममा परेँ भने दिल्ली सहरमा आगो लगाइदिन्छु।
तर, मुक्तिलाई थाहा छ, उनी र शंकरको साझा भविष्य छैन। के यो कुरा शंकरलाई बुझाउन सक्लिन्? या, उल्टो शंकरको मायाले मुक्तिको मनमा प्रेम जाग्ला? या, यी दुवै अवस्थाबीच नसोचेको अरू नै केही होला?
सन् २०१३ को राँझनाको स्प्रिचुअल सिक्वेल भनिएको तेरे इश्क मेको मूल कथा यही हो। कथा ‘ब्याक एन्ड फोर्थ’मा प्रस्तुत गरिएको छ। संवादहरू चोटिला छन्। जस्तै– बनारसको घाटमा एक पण्डितले बोल्ने एउटै वाक्यमा फिल्मको सार अटाएको छ, ‘प्रेममा मृत्यु छ, मुक्ति छैन।’
पहिलो पटकथाले बाँधे पनि दोस्रो हाफमा गएपछि फिल्म लामो लाग्न थाल्छ। चरित्रहरू कमजोर र उद्देश्यविहीन बन्दै जान्छन्। धेरै फिल्ममा आइसकेको वर्गीय विभेदका सन्दर्भले पनि कथालाई उठाउन योगदान दिँदैन। न त सीमापारिको शत्रुविरुद्ध लड्ने राष्ट्रवादी उपकथा आकर्षक लाग्छ। यद्यपि, पात्र र घटनाको ‘ब्याक स्टोरी’ मा काम गरिएको छ।
सराहनीय पक्ष, हिंसा केन्द्रमा भएर पनि फिल्ममा हिंसात्मक दृश्यलाई धेरै बढाइचढाइ गरिएको छैन। अर्को राम्रो पक्ष, शंकर र मुक्तिबीच प्रेम नभएको अवस्थामा पनि उनीहरूबीचको रोमान्स दर्शकलाई महसुस हुन्छ। फिल्मका दुवै मुख्य पात्रका भावनात्मक उतारचढावले कतै कतै छुन्छ पनि। धनुष र कृतिको केमेस्ट्री सुहाएको छ।
अभिनय : अंक (३)
दक्षिण भारतीय फिल्मका सशक्त अभिनेता धनुष यस्ता कलाकार हुन् जसको अभिनयले फिल्मका कमीकमजोरी बिर्साइदिन्छन्। यस फिल्ममा धनुषले कलेज पढ्दै गरेको युवा र इन्डियन एअर फोर्सको लेफ्टिनेन्टका रूपमा दुई फरक चरित्र बाँचेका छन्। दुवैमा उनको अभिनय दमदार छ। आत्मनिर्भर सहरिया आधुनिक युवतीको भूमिकामा कृतिको अभिनय पनि कम छैन। तर, उनको बलियो चरित्र मध्यान्तरपछि फितलो बन्दै जान्छ।

चलचित्र ‘तेरे इश्क मे’को दृश्य
‘ट्रमा’ सँग जुध्नुपरेको चरित्रका रूपमा दुवै कलाकार पात्रको मनोदशालाई जीवन्त रूपमा पर्दामा उतार्न सफल छन्। शंकरको बुवाको भूमिका निर्वाह गरेका कलाकार प्रकाश राजको अभिनयले पनि दर्शकलाई प्रभावित पार्छ।
प्राविधिक पक्ष : अंक (३)
कथा कसिलो नभए पनि प्राविधिक पक्ष कसिलै छ। विगत र वर्तमानको कथा सँगसँगै बगाउन सम्पादनले काम गरेको छ। नेभी वारका दृश्यहरूमा प्रयोग भएको भीएफएक्सले पनि रोमाञ्चित बनाउँछ। लद्दाखको सीमा, दिल्ली र बनारसम्मका दृश्य अटाएको फिल्मको छायांकन पक्ष बलियो छ। बनारसको छोटो दृश्य पनि प्रभावकारी छ। साउन्ड डिजाइन र पृष्ठभूमिको संगीतले कथाको मुड विस्तारित गर्छ। एआर रहमानको संगीतमा बनेका गीतहरू फिल्म रिलिजअघि नै हिट छन्। तर, फिल्ममा एकदुई वटा गीत नराखिएकै भए हुन्थ्यो भन्नेसमेत लाग्छ।
निर्देशन : अंक (२.५)
राँझनाको सिक्वलका रूपमा आएको तेरे इश्क मे पहिलाभन्दा अलग के छ? निर्देशक रायप्रति तेर्सिने प्रश्न यही हो। यसको जवाफ फिल्ममा आंशिक रूपमा मात्रै भेटिन्छ। शंकर र मुक्तिबीचको जटिल प्रेमकथा आफैँमा पर्याप्त हुँदाहुँदै पनि कथाभित्र धेरै पक्ष ओगट्ने प्रयास व्यर्थ लाग्छ। यसले फिल्मको जनरालाई गोलमटोल बनाइदिएको छ।
राँझनाजस्तै यो पनि मूल पुरुष पात्रको हिंसा, प्रेम र त्यसपछिको आध्यात्मिक यात्राको कथा हो। फिल्मले शंकरको आमाको जलेर मृत्यु हुनुलाई ऊभित्रको असीमित रिसको मुख्य कारण मानेको छ। बाल्यकालीन ट्रमालाई आधार बनाइए पनि शंकरको बुवासँगको जुन आत्मीय सम्बन्ध छ, त्यसले शंकरको आक्रोशलाई ‘हिरोइज्म’ मा खुम्च्याइदिएको छ।
१२ वर्षपछिको स्प्रिचुअल जर्नीमा पनि मेलोड्रामा नै हाबी हुँदा तेरे इश्क मे ‘नयाँ बोतलभित्रको पुरानै रक्सी’ बनेको छ।