काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

१२ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। प्रहरीले ठूलो परिमाणमा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बारा कलैया नगरपालिका-२० घर भई काठमाडौं महानगरपालिका-१५ डल्लु बस्ने २३ वर्षय मोहम्मद सेफ र रौतहट गरुडा नगरपालिका-४ घर भई काठमाडौं महानगरपालिका-१३ बस्ने २२ वर्षीय विकास साह रहेका छन्।

सेफ र साह दुबैलाई प्रहरीले भद्रकालीबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताए। सेफलाई बुधबार र साहलाई बिहीबार पक्राउ गरिएको उनले जानकारी दिए।

भट्टराईका अनुसार दुबैको मोबाइलमा बाइनान्स एकाउन्ट भेटिएका छन्। ती एकाउन्टमा ठूलो परिमाणमा क्रिप्टो करेन्सीको कारोबार गरेको भेटिएको छ।

सेफले १९ करोड ८१ लाख ४९ हजार ५८१ रुपैयाँ र साहले ६ करोड ७८ लाख ८० हजार ७२५ रुपैयाँ बराबरको कारोबार गरेको पाइएको छ।

दुबैलाई अभौतिक मुद्राको कारोबार गर्न नहुने कसुर अन्तर्ग अनुसन्धान थालिएको छ। पक्राउ परेकामध्ये साहले अनलाइन ठगीसमेत गरेको देखिएकाले अनुसन्धान थालिएको भट्टराईले बताए।