काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

१३ मंसिर २०८२
अ+
अ-

क्यानबेरा। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज शनिबार राष्ट्रिय राजधानी क्यानबेरास्थित आफ्नै आधिकारिक निवास ‘द लज’ मा अत्यन्त गोप्य र आत्मीय वातावरणमा हेडनसँग विवाह गरेका छन्।

अस्ट्रेलियाको सङ्घीय सरकार गठन भएको १२४ वर्षको इतिहासमा कार्यरत प्रधानमन्त्रीको हैसियतमै विवाह गर्ने अल्बानिज पहिलो नेता हुन्। द लजको हरियाली मैदानमा भएको समारोहमा केही क्याबिनेट मन्त्रीहरूसहित करिब ६० जना विशिष्ट पाहुना उपस्थित थिए। नागरिक सेलिब्रेन्टद्वारा सम्पन्न विवाह समारोह प्रायः गोप्य राखिएको थियो र घटना सम्पन्न नहुँदासम्म कुनै पनि मिडियालाई जानकारी दिइएको थिएन।

दम्पतीले जारी गरेको विज्ञप्तिमा भनिएको छ‚ “हामी हाम्रो परिवार तथा निकटतम प्रियजनहरूको सामुन्ने हाम्रो प्रेम, प्रतिबद्धता र भविष्यको संयुक्त जीवनलाई साझा गर्न पाउँदा अनन्त खुसी छौँ। ” दुवैले आफ्ना प्रतिज्ञास्वरूपका शब्दहरू स्वयं लेखेका थियो। साथै उनीहरूको कुकुर ‘टोटो’ औँठी वाहकको भूमिकामा आकर्षक रूपमा प्रस्तुत भएको र जोडी हेडनकी पाँच वर्षीय भतिजी एला फूलको माला लगाएर सहभागी भएकी उल्लेख गरिएको छ।

६२ वर्षीय अल्बानिजको पहिलो विवाह पारपाचुके भइसकेको छ। उनका एक युवा छोरा पनि छन् । गत वर्ष भ्यालेन्टाइन डेका दिन अल्बानिजले द लजमै ४६ वर्षीया हेडनलाई विवाहको प्रस्ताव राखेका थिए। प्रधानमन्त्री अल्बानिजले सन् २०२५ भित्र आफ्नो विवाह हुने बताए पनि कहिले गर्ने भन्ने गोप्य राखेका थिए।

अन्ततः बिहीबार संसद्को कार्यकाल समाप्त भएको दुई दिनपछि दम्पतीले शान्त, सानो तर भावनात्मक समारोहमार्फत वैवाहिक जीवन प्रारम्भ गरेका हुन्। फाइनान्स क्षेत्रमा कार्यरत हेडनले सन् २०२० मा मेलबर्नमा आयोजित एक व्यापारिक रात्रिभोजमा पहिलोपटक अल्बानिजलाई भेटेकी थिइन्।