रिपोर्ट
जति जति आफ्नै कथा भनियो, दर्शक उति नेपाली फिल्मको नजिक पुगे
एक समय थियो, दर्शकहरू नेपाली फिल्म हेर्न हिचकिचाउँथे। समीक्षकहरूको टिप्पणी हुन्थ्यो– नेपाली फिल्म कहिले सुध्रेला?
सिनेमाका कथा, प्रस्तुति, गीतसंगीतदेखि फिल्मको बजार दशकौँसम्म बलिउडको नियन्त्रणमा थियो। लाग्थ्यो– यो दबदबा कहिल्यै तोडिँदैन।
हलवाला र वितरक पनि भारतीय फिल्मकै आश गरेर बस्थे। तर, केही वर्षयता भारतीय फिल्मको एकल वर्चस्व घटिरहेको छ। हलमा नेपाली फिल्म हेर्ने दर्शक बढिरहेका छन्। हलवाला र वितरकहरू भन्न थालेका छन्– हलको व्यवसाय नेपाली फिल्मकै भरमा टिकेको छ।
पूर्णबहादुरको सारंगीले गरेको ऐतिहासिक कारोबारका कारण गत वर्ष नेपाली फिल्महरूको व्यापार एक अर्ब ८० करोड पुगेको थियो। जसमा १२ गाउँले झन्डै २० करोड, छक्का पञ्जा ५ ले १५ करोडमाथि र बोक्सीको घरले १० करोडमाथि कारोबार गरेका थिए।
फिल्म वितरक मनोज राठी भन्छन्, “गत दुई वर्षयता भारतीय फिल्मको व्यापार नेपालमा ५० प्रतिशतले घटेको छ। पहिला हिन्दी फिल्मले ७० र नेपाली फिल्मले ३० प्रतिशत व्यापार गर्थे। अहिले ५०/५० को अवस्थामा पुगिसक्यो।”
यही कारण ‘स्टार भ्यालु’ भएका दुईचार अभिनेताका फिल्मबाहेक अन्य कलाकारको फिल्म चल्न छोडिसके। यो वर्ष सैयारा र कान्तारा च्याप्टर–१ बाहेक अरू फिल्मको व्यापार उत्साहजनक भएन।
वितरक राठी व्यापारकै जोखिम देखेर दे दे प्यार दे २ र मस्त ४ जस्ता फिल्म वितरकले नेपाल भित्र्याउने जोखिम नमोलेको बताउँछन्।
अर्का वितरक प्रचण्डमान श्रेष्ठ पनि नेपालमा ब्लकबस्टरबाहेक अन्य विदेशी फिल्म ल्याउँदा नाफा नहुने जोखिम बढेको स्पष्ट पार्छन्। भन्छन्, “पहिला हिन्दी फिल्महरूले भारतमा गर्ने कुल ग्रस कलेक्सनको १.५ देखि दुई प्रतिशत नेपाली बजारबाट उठाउँथे। अहिले नेपालभित्र भारतीय मध्यम बजेटका फिल्मको व्यापार घट्ने र नेपाली मध्यम बजेटका फिल्मको व्यापार बढ्ने कुरा सँगसँगै भइरहेको देखिन्छ।”

सिने रोयल हल नेपालगन्ज
त्यसैले पहिला फिलरका रूपमा चल्ने अधिकांश हिन्दी फिल्मको ठाउँ अचेल नेपाली फिल्मले लिएको देखिन्छ। नतिजा, नचलेका वा कम चलेका भनिएका नेपाली फिल्मको ग्रस कलेक्सनसमेत करोडमा पुगेको पाइन्छ। जस्तै– कम चलेको मानिने वरिष्ठ बलरामको व्यापार दुई करोड ५० लाखमाथि र मैझारोको एक करोडभन्दा बढी छ। आर्ट हाउस फिल्मकै व्यापार पहिला लाखमा सीमित थियो। गाउँ आएको बाटो र साम्बालाको कारोबार करोडमा छ।
हुन त, पूर्णबहादुरको सारंगीले गरेको ऐतिहासिक कारोबारका कारण गत वर्ष नेपाली फिल्महरूको व्यापार एक अर्ब ८० करोड पुगेको थियो। जसमा १२ गाउँले झन्डै २० करोड, छक्का पञ्जा ५ ले १५ करोडमाथि र बोक्सीको घरले १० करोडमाथि कारोबार गरेका थिए। यो वर्ष त्यही मात्रामा कारोबार हुन गाह्रै छ। तैपनि, २०८२ सालको फिल्म बजार गत वर्षजस्तै चलायमान छ भन्ने आधारहरू धेरै छन्।
चलचित्र विकास बोर्डद्वारा ६ मंसिरसम्मको सार्वजनिक तथ्यांकअनुसार ३२ वटा फिल्म प्रदर्शनमा आइसकेका छन्। तीमध्ये ऊनको स्वीटर, जेरी अन टप र परान गरी तीन वटा फिल्म १० करोडमाथिको व्यापार गर्ने सूचीमा परिसकेका छन्।
वैशाखमा प्रदर्शनमा आएको ऊनको स्वीटरले ११ करोड, असोज मसान्तमा सार्वजनिक जेरी अन टपले १२ करोड र कात्तिक दोस्रो सातादेखि हलमा चलिरहेको परानले १४ करोडमाथिको व्यापार सुनिश्चित गरिसकेको छ।
मनोरञ्जनकेन्द्रित छक्का पञ्जा, जात्रा होस् वा सांस्कृतिक पृष्ठभूमिमा बनेका कबड्डी, जारी, फिल्मका पर्दामा दर्शकले आफूसमान मान्छेका कथा भेटे। आफ्नै परिवेश र भूगोल देखे।
पहिलो भागमा १७ करोड रुपैयाँ कमाएको जारी २ ले तुलनात्मक रूपमा कम कारोबार गरे पनि ६ करोड हाराहारी व्यापार गरिसकेको छ। यो वर्ष दसैँयता सार्वजनिक १० फिल्मले दुई महिनाभित्र गरेको कमाइ ५५ करोड नाघेको छ।

यो वर्ष धेरै अपेक्षा गरिएको समीर भट्टको मुख्य भूमिका रहेको फिल्म बलिदान चलेन। धेरै सो पाएको हरिबहादुरले पनि कमाल देखाउन सकेन। सिक्वेलबाट ठूलै व्यापार गर्ने अपेक्षा राखिएको जारी २ भन्दा ठूलो स्टारबिनाको परानको जादु चल्यो। अपेक्षित/अनपेक्षित रूपमा जुन फिल्म चले पनि हलमा विदेशी फिल्मको तुलनामा स्वदेशी फिल्मकै बोलवाला रह्यो।
कोभिडकालपछि नेपाली सिनेमा कोमामा पुग्छ भन्ने सन्देह थियो। तर, त्यसपछि फिल्मको घरेलु र अन्तर्राष्ट्रिय बजारसमेत विस्तार भएको छ।
व्यापारको सम्बन्ध कथासँग गाँसिन्छ। नेपाली फिल्म जति जति आफ्नै समाज, संस्कृति र परिवेशभित्रको कथाको नजिक पुग्यो, दर्शकहरू त्यति नै फिल्मको नजिक पुगेको देखिन्छ। नेपाली फिल्म जति जति बलिउडको सूत्रबाट टाढिँदै गयो, यसले त्यति नै दर्शकहरू आकर्षित गर्न थाल्यो।
पछिल्लो चरणमा निश्चल बस्नेत निर्देशित लुट (२०६८)ले यसमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्यो। विषय र प्रस्तुतिमा मौलिक स्वाद-शैलीको खाँचो रहेको बेला आएको थियो, लुट। युवाद्वारा निर्मित युवाकै कथा लुटले नेपाली फिल्मबाट टाढा मानिएका सहरिया युवालाई आकर्षित गर्न सफल भयो। यसपछि बाहिरी रूपरंगभन्दा बढी चरित्रलाई हिरो मान्न थालियो। यही मान्यतामा थिएटर पृष्ठभूमिका सौगात मल्ल, दयाहाङ राई, विपिन कार्कीजस्ता थिएटर पृष्ठभूमिका धेरै कलाकार स्थापित भए।
मनोरञ्जनकेन्द्रित छक्का पञ्जा, जात्रा होस् वा सांस्कृतिक पृष्ठभूमिमा बनेका कबड्डी, जारी, फिल्मका पर्दामा दर्शकले आफूसमान मान्छेका कथा भेटे। आफ्नै परिवेश र भूगोल देखे।
ड्रिम्स र माग्ने राजाजस्ता व्यावसायिक फिल्मका पटकथा लेखेका सामीप्यराज तिमल्सेना भन्छन्, “लुटपछि फिल्ममेकरहरूमा मेरो कथा अरूको भन्दा कसरी फरक बनाउने भन्ने दबाब बढेको हो। यसले आफ्नो कथा समाज र मान्छेसँग जोडिन्छ कि जोडिँदैन भनेर सोच्न सिकाएको छ।”
स्थानीय बजारको विस्तारसँगै बाह्य बजारमा पनि ती कथा बिक्न थालेका छन्।
उनका अनुसार पहिले पहिले हाकाहाकी कुनै हिन्दी फिल्मको नामै लिएर त्यस्तै कथा चाहियो भन्ने गरिन्थ्यो। चलचित्र समीक्षक समाजका अध्यक्षसमेत रहेका तिमल्सेना भन्छन्, “अहिले कमर्सियल भ्यालु भएका छक्का पञ्जा, कबड्डीदेखि जेरी अन टपसम्मका फिल्ममा नयाँपनको खोजी र समाजबाटै कथा टिप्ने काम भइरहेको छ।”
यसरी हेर्दा लुटपछिको डेढ दशकको अवधिलाई बलिउड सूत्रबाट नेपाली फिल्मले मुक्ति खोजिरहेको दशकका रूपमा समेत हेर्न सकिन्छ। अचेल बक्स अफिसमा देखिन थालेको सुखद नतिजा यही खोजको परिणाम हो।

आफ्नै समाजका कथा भन्ने क्रममा नयाँ संस्कृति, स्थानीय भाषा-लवज, पहिरन र गीतसंगीतलगायत धेरै पक्ष जोडिन्छन्। यी सबै कुरा जोडिँदा दर्शकलाई ती कथा आफ्नै जस्तो लाग्नु स्वाभाविक हो।
‘स्थानीय नै विश्वव्यापी हुन्छ’ भन्ने कान्ताराका निर्देशक तथा अभिनेता ऋषभ सेट्टीले एउटा अन्तर्वार्तामा भनेका थिए– आफ्नै जरामा फर्किनु नै अघि बढ्नु हो।
उनले भनेजस्तै अहिले विश्वव्यापी रूपमै स्थानीय कथा बिकिरहेको छ। वितरक तथा निर्देशक श्रेष्ठ भन्छन्, “सांस्कृतिक-राजनीतिक हिसाबले पनि अहिले संसारभरि राष्ट्रवादी सेन्टिमेन्ट बढी छ। त्यसैले दक्षिण भारत, भियतनाम, थाइल्यान्ड, फिलिपिन्स, चीन, दक्षिण कोरियालगायत ठाउँमा स्थानीय बजार फस्टाएको छ।”
स्थानीय बजारको विस्तारसँगै बाह्य बजारमा पनि ती कथा बिक्न थालेका छन्। नेपाली फिल्म बजारमा आएको रूपान्तरणलाई पनि यही सन्दर्भमा बुझ्नुपर्ने प्रचण्डको धारणा छ।
कोभिडपछिको माहोलमा सिनेमा हल नै बन्द हुन्छ भन्ने त्रास थियो। देशभरिका कैयौँ सिंगल थिएटर बन्द पनि भए। तर, २०७९ सालको जेठमा कबड्डी ४ ले २१ करोडको कारोबार गरेपछि महापुरुष, प्रेमगीत ४, छक्का पञ्जा ४, जारीजस्ता फिल्मले उल्लेखनीय व्यापार गरे।
हाल देशभर हलको संख्या पुगनपुग १७० रहेको विकास बोर्डको तथ्यांकले देखाउँछ। तिनमा नयाँ विस्तारित मल्टिप्लेक्सहरूको संख्या उल्लेख्य छ।
यही चरणमा अन्तर्राष्ट्रिय बजार थप विस्तार भइरहेको छ। अहिले ऊनको स्वीटर भारतका विभिन्न सहरमा प्रदर्शन भइरहेको छ। परान युरोप, एसिया, अस्ट्रेलिया र अमेरिका तथा बेलायतका विभिन्न सहरका दर्शकमाझ पुगेको छ।
निर्देशक दीपेन्द्र लामा र निर्माता तथा कलाकार रवीन्द्रसिंह बानियाँले विभिन्न सन्दर्भमा विदेशमा पहिला पहिला क्याफे-रेस्टुराँ वा सामुदायिक भवन भाडामा लिएर नेपाली फिल्म देखाइने गरेको स्मरण गरेका छन्। अहिले विदशी मल्टिप्लेक्स चेनमै नेपाली फिल्म प्रदर्शन हुन थालिसके। मिलन चाम्सको गोर्खा वारियरको अन्तर्राष्ट्रिय प्रिमियर हलिउड तथा बलिउडका फिल्म प्रिमियर हुने आइम्याक्स सिने वर्ल्डमा भएको थियो।
नेपाली फिल्मको प्रगतिको कुरा गर्दा कथासँगै प्राविधिक स्तरोन्नतिको पाटो पनि जोडिएर आउँछ। प्रविधिको सही प्रयोगले फिल्ममा दर्शकको संलग्नता बढाउने र ‘इन्टरटेनमेन्ट भ्यालु’ समेत वृद्धि गर्छ। हाल नेपालमा हलिउड र अन्य विकसित देशमा प्रयोग हुने एरी, फोरके, सोनी क्यामेरा प्रयोग भइरहेका छन्। ठूला महोत्सवमा जाने विदेशी फिल्मसमेत यिनै क्यामेराले खिचिन्छन्। प्रविधिले नेपाली फिल्मको छायांकन, साउन्ड डिजाइनदेखि भीएफएक्ससम्मका पक्षमा सुधार ल्याएको छ।
कथा, कथ्यशैली, प्रविधिसँगै मल्टिप्लेक्स विस्तार पनि नेपाली फिल्मको बजार बढाउने महत्त्वपूर्ण माध्यम हो। सन् १९७० को दशकको सुरुआतसम्म काठमाडौँमा सिंगल थिएटरको संख्या बढी थियो। अहिले पूर्वी नेपालदेखि सुदूरपश्चिमसम्म मल्टिप्लेक्स फैलिइरहेको छ। हाल देशभर हलको संख्या पुगनपुग १७० रहेको विकास बोर्डको तथ्यांकले देखाउँछ। तिनमा नयाँ विस्तारित मल्टिप्लेक्सहरूको संख्या उल्लेख्य छ।
नयाँ मल्टिप्लेक्सहरूले नयाँ दर्शक पनि तानिरहेको देखिन्छ। उदाहणका लागि, दुई वर्षअघि नेपालगन्जमा खुलेको सिने रोयलमा फिल्म हेर्न दाङ, सुर्खेत, धनगढी र सीमापारिबाट समेत दर्शक आउने गरेका छन्। सिने रोयलका सीईओ रितेश श्रेष्ठ भन्छन्, “काठमाडौँबाहिर धेरै नेपाली फिल्म चल्ने हल हाम्रै हुनुपर्छ। परदेशी २, खुस्मा, पूर्णबहादुरको सारंगी र अहिलेको परान सबै राम्रो चलिरहेको छ।’
२०८२ सालको अझै चार महिनाको आर्थिक कारोबार हेर्न बाँकी छ। यसबीच दर्जन बढी फिल्म सार्वजनिक हुन बाँकी नै छन्। यसमा दुईचार फिल्म कसो नचल्लान्!
फिल्मको प्रचारप्रसारका लागि विज्ञापनमा गरिने खर्च, आक्रामक क्याम्पेनहरू, फेसबुक, इन्स्टा र टिकटकजस्ता सामाजिक सञ्जालको उपयोग, सोसल इन्फ्लुएन्सरको प्रयोगजस्ता कुराले नेपाली फिल्म दर्शकमाझ पुग्न थप सहज बनाइदिएको छ। चलचित्र उद्योगले यसको फाइदा पनि उठाइरहेको देखिन्छ।
लुटपछिको डेढ दशकमा, खासगरी छक्का पञ्जा र कबड्डीका शृंखलाहरूको रेकर्डतोड व्यापारिक सफलतापछि वर्षकै धेरै कमाउने फिल्मको सूचीमा नेपाली नामहरू बढिरहेका छन्। घरेलु बजारमै राम्रा फिल्मले १५ देखि २५ करोडसम्म कमाउन सक्ने वातावरण बनिसकेको छ। ठीकठीकै चल्ने फिल्म पनि पाँचसात करोड संकलन गर्न सक्ने भइसके।
२०७३ सालमा छक्का पञ्जा ले १० करोड कमाउँदा त्यो रेकर्ड अब सहजै तोडिन्न भन्ने धेरै थिए। अहिले पूर्णबहादुरको सारंगीको रेकर्ड कसले तोड्ला र भन्ने स्थिति छ। तर, वर्षको एकदुई फिल्म मात्र चल्ने चलचित्र उद्योगमा अहिले वर्षमा आठदश फिल्मले सुखद परिणाम ल्याइरहेका छन्।
२०८२ सालको अझै पाँच महिनाको आर्थिक कारोबार हेर्न बाँकी छ। यसबीच दर्जन बढी फिल्म सार्वजनिक हुन बाँकी नै छन्। यसमा दुईचार फिल्म कसो नचल्लान्!