काठमाडौँ
००:००:००
२ पुष २०८२, बुधबार

१३ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी मुलुकको दीर्घकालीन हित र राजनीतिक निकासका लागि राजा, राजनीतिक दल र जेन-जीलगायत पक्षबीच नवीन समझदारीको औपचारिक प्रस्ताव गरेको छ।

राप्रपाको तर्फबाट अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री कार्कीलाई विभिन्न पाँचबुँदे ज्ञापनपत्र बुझाउँदै नवीन समझदारीका लागि सर्वपक्षीय बैठकको पहल लिन आग्रह गरेको महामन्त्री कुन्ती शाहीले बताइन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ भएको भेटमा लिङ्देनसँगै वरिष्ठ उपाध्यक्षत्रय विक्रम पाण्डे, रोशन कार्की र रवीन्द्र मिश्र पनि सहभागी थिए। यस्तै उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्रीहरु धवलशमशेर राणा, कुन्ती शाही, राजेन्द्र गुरुङ र शरदराज पाठक पनि सहभागी थिए। यसैगरी कोसी प्रदेश अध्यक्ष राम थापा, कोषाध्यक्ष नीलकण्ठ काफ्ले, प्रवक्ता मोहनकुमार श्रेष्ठ र मुख्य-सचिव केदारबहादुर अधिकारी प्रधानमन्त्री कार्कीसँगको भेटमा सहभागी थिए।

यस्तो छ राप्रपाले प्रधानमन्त्रीलाई बुझाएको पाँचबुँदे ज्ञापनपत्र :
१. आगामी निर्वाचनअगावै मुलुकको वर्तमान समस्याको दीर्घकालीन र स्थायी समाधानका लागि कोही कसैले भविष्यमा आन्दोलन गर्नु नपर्ने परिस्थिति निर्माणका लागि राजा, राजनीतिक दल र जेन-जीलगायतका सम्मिलित सर्वपक्षीय सम्मेलनको आयोजनाबाट देशलाई निकास दिने काम होस्।

२. अब हुने आमनिर्वाचनमै अन्तर जिल्ला र विदेशबाट मतदान गर्न पाउने सुनिश्चितता गर्न सम्भव छ र त्यसलाई सुनिश्चित गरेर मात्रै निर्वाचन प्रक्रियालाई अगाडि बढाइयोस्।

३. जेन-जी प्रदर्शनमा सहभागी भएकै कारण देशका विभिन्न भागमा भएको प्रदर्शनका सहभागीहरूलाई पक्रने, मुद्दा लगाउने जस्ता कामहरू भइरहेको छ। यसप्रकारका कार्यहरू तत्काल रोकियोस्।

४. जेनजी आन्दोलनका सहिद परिवार, घाइतेहरूको माग अविलम्ब पूरा गरियोस्।

५. सरकारसँग विभिन्न मागहरू लिएर प्रदर्शनमा रहेका र प्रधानमन्त्रीसँग भेट गर्न चाहेका जेन-जीहरुमाथि भइरहेको दमन र उपेक्षा उपयुक्त छैन। यसप्रकारको कार्य तत्काल बन्द गरियोस् र वार्ता संवादबाट वातावरणलाई शान्त बनाउने प्रयास होस्।